Nepal

मृत्यु संस्कारले गर्दा संकटमा रहेको अङ्ग प्रत्यारोपणमा नेपालको प्रतिक्रिया सुस्त

प्रत्यारोपण चाहने १० मध्ये ९ जनाले कहिल्यै अङ्ग दाता पाउँदैनन्। संशोधित कानूनले मस्तिष्क मृत्यु भएका मानिसहरुमार्फत प्रत्यारोपणको स्वीकृति दिएर दाताहरुको संख्या बढाएको छ। तर पुनर्जन्मबारे रहेको धार्मिक विश्वासले दानका यस्ता कार्यक्रम दुर्लभ हुने गरेका छन्।

Read this story in

काठमाडौं, नेपाल — १९ वर्षको कलिलो उमेरमा दुबै मृगौला फेल भएपछि सुश्रिता थापाले एउटा अपरेसनलाई नै सबैकुराको समाधान ठानेकी थिइन्। तर उनको पढाइ र भविष्यका सपनाहरु छुट्दै गए। लगातार कराइरहने मेसिन र हप्तामा तीनपटक हुने डायलाइसिसका बिचमै उनको संसार सीमित हुन पुग्यो।

उनलाई मृगौला दिने दाता पाउन कठिन भयो। आमाको रक्त समूह मिलेन भने बुबाले मृगौला दिन मानेनन्। आमा सुशिला थापाले मस्तिष्क मृत्यु भएका मानिसहरुमार्फत प्रत्यारोपण हुनसक्ने विकल्पको बारेमा थाहा पाएकी थिइन्। तर यसमा आफन्तले बिरोध जनाए, “हामी कसरी मृतकको अङ्ग स्वीकार गर्न सक्छौं?” “धर्ममा अनुमति छैन!”

यद्यपि, आफ्नो अडान कायम राख्दै आमाले ५०० जना बिरामीपछिको प्रतीक्षा सूचीमा छोरीको नाम लेखाइन्। उनीहरुले तीन-तीन महिनामा शरीरको परीक्षण गरेर अस्पताललाई रिपोर्ट बुझाइरहेका थिए। यो क्रम महिनौंसम्म जारी रह्यो। अन्तत: सन् २०२२ को जून महिनाको एक साँझ फोन आयो, “तुरुन्तै अस्पताल आउनुहोस्। मृगौला प्राप्त भएको छ।”

नेपालमा मृगौला प्रत्यारोपण गर्दा दाताअनुसार सम्भावना पनि भिन्न-भिन्न हुन्छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त सूचना अनुसार, सन् २०१७ र २०२४ को बिचमा हजारभन्दा बढी मानिसहरु मस्तिष्क मृत्यु भएकाहरुको आफन्तको स्वीकृतिको आधारमा मृगौला पर्खिरहेका थिए भने ७ हजार ६ सय भन्दा बढी मानिस जीवित दाताबाट मृगौला पाउने सूचीमा थिए।

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

छोरीको लागि मस्तिष्क मृत्यु भएको अङ्ग दाता खोज्दा समुदायबाट विरोधको सामना गरेकी सुशिला थापाले अरुलाई प्रेरित गर्दै नेपालको अङ्गदानको कमीमा सहयोग गर्न हाल अङ्ग दाताको रुपमा आफ्नो नाम दर्ता गरेकी छिन्।

नेपालमा वार्षिक रुपमा लगभग तीन हजार मृगौला फेल हुने घटनाहरु देखापर्ने गरेका छन्। तर प्रत्यारोपण गरिने अङ्गको कमीले गर्दा १० प्रतिशतले मात्र जीवित दाता पाउने गरेका छन्। माग धेरै तर आपूर्ति कम भएपनि यहाँ गहिरो जरा गाडेको सांस्कृतिक विश्वासले मस्तिष्क मृत्यु र मृत्यु दानको स्वीकृतिमा बाधा पुर्‍याउँछ।

स्वास्थ्य मन्त्रालयका सूचना प्रविधि कर्मचारी मृनाल चौधरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार, सन् २०१६ मा नेपालले मस्तिष्क मृत्यु भएका दाताहरुबाट अङ्ग प्रत्यारोपणलाई कानूनी मान्यता दिएपछि र सन् २०१७ मा पहिलो प्रत्यारोपण भएपछि, हालसम्म यसरी अङ्ग प्राप्त गर्ने १३ जना मानिस मात्र रहेको र जीवित दाताबाट भने करिब १९०० जना मानिसले अङ्ग पाएका छन्।

यी अंकका पछाडि परम्परा र चिकित्साक्षेत्र बिचको द्वन्द देख्न सकिन्छ।

“यो जीवनमा अङ्ग दान गर्नु भनेको अर्को जीवनमा अपूर्ण पुनर्जन्म हुनु हो,” शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, काठमाडौंकी मृगौला रोग विशेषज्ञ डाक्टर कल्पना कुमारी श्रेष्ठ भन्छिन्। “कहिलेकाहीं जब बिरामीका आफन्तसँग अङ्गदान प्रक्रियाको बारेमा व्याख्या गर्न खोज्छु, उनीहरु अङ्ग दलाल भएको आरोप पनि लगाउँछन्।”

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, काठमाडौंकी मृगौला रोग विशेषज्ञ डाक्टर कल्पना कुमारी श्रेष्ठ बिरामी जाँच्दै। नेपालका प्रमुख प्रत्यारोपण विशेषज्ञमध्येकी एक श्रेष्ठ, पुनर्जन्म र पूर्ण शरीरप्रतिको आस्थाको कारण हुने सांस्कृतिक विरोधका बाबजुद, मस्तिष्क मृत्यु भएकाहरुबाट अङ्ग दानको लागि आवाज उठाउने गर्छिन्।

नेपालमा ८० प्रतिशत भन्दा बढी जनसंख्या हिन्दू धर्म मान्दछन्। यस धर्मले पुनर्जन्ममा आस्था राख्दछ। यसका अनुयायीहरु तत्काल दाहसंस्कार गर्नुपर्ने मान्यता राख्छन्। मृत्युपछि आत्माले यात्रा शुरु गर्ने विश्वास भएको हुनाले यो परम्परा अङ्गदानको अवधारणासँग मेल खाँदैन।

“अङ्ग दान हिन्दू वैदिक शिक्षाको विपरीत हो। शास्त्र अनुसार, मृत्यु तब मात्र हुन्छ जब सबै अङ्गहरुले काम गर्न छोड्छन्। तब मात्र आत्माले शान्ति पाउन सक्छ,” वाल्मीकि विद्यापीठका संस्कृत प्राध्यापक डाक्टर रामचन्द्र गौतम भन्छन्।

पुनर्जन्म र मोक्षमा केन्द्रित संस्कृतिमा मुटुको धड्कन चलेसम्म जीवन रहेको विश्वास गरिन्छ।

“हामी बचाउन सक्ने जीवन गुम्दै गएको हेरिरहेका छौं” त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौंका सह-प्राध्यापक तथा युरोलोजी तथा मृगौला प्रत्यारोपण शल्यक्रिया विभागका प्रमुख डाक्टर पवनराज चालिसे भन्छन्।

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, काठमाडौंमा पालो कुर्दै बिरामी। प्रत्येक वर्ष हजारौं नेपालीहरुको मृगौला फेल हुने गरेको छ। तर सीमित प्रत्यारोपण, जीवित दातामा भर पर्नुपर्ने र मस्तिष्क मृत्यु भएका दाताप्रति हुने सांस्कृतिक विरोधका साथसाथै महत्वपूर्ण अङ्गहरुको अभाव जारी नै रहँदा धेरैजनाले लामो समयसम्म कुर्नुपरेको छ।

नेपालमा सन् २०१६ मा प्रत्यारोपणको दायरा फराकिलो भयो। सन् १९९९ को मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐनमा प्रत्यारोपणका लागि साँघुरो मापदण्ड भएकोले सन् २०१६ को संशोधनले ५१ वटा सम्बन्धलाई समावेश गर्दै “नजिकका नाता” विस्तार गर्‍यो। साथै, सो ऐनले मस्तिष्क मृत्यु भएका दाताहरुलाई वैधानिक अङ्ग दाताको रुपमा स्वीकृत गर्‍यो।

सन् २०१७ मा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु दाताबाट मृगौला प्रत्यारोपण सफलतापूर्वक शुरु गर्‍यो। सो अस्पताल राज्यमा यस्तो सुविधा संचालन गर्ने एक मात्र अस्पताल बन्न पुगेको छ।

सो प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले यो ऐन ल्याउन आठ वर्ष मेहनत गर्नुपरेको थियो तर अझ धेरै गर्न बाँकी रहेको उनी बताउँछन्।

सरकारले सरकारी अधिकारी, सामाजिक अभियान्ता र धर्मगुरुहरुसँगको पहुँचमार्फत सांस्कृतिक विश्वासमा परिवर्तन ल्याउन प्रयास गरिरहेको छ। साथै, स्कूल तहको पाठ्यक्रममा पनि यस विषयलाई समावेश गर्ने गरी काम गरिरहेको छ। फलस्वरूप: अङ्गदाताको परिवार र सहभागी अस्पताललाई आर्थिक सहयोग वृद्धि भएको छ।

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, काठमाडौंका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठ बिरामीको फलोअप गरिरहेका छन्। सन् २०१६ मा मस्तिष्क मृत्यु भएका मानिसमार्फत अङ्ग दान गर्ने प्रक्रियालाई वैधानिकता प्रदान गर्न श्रेष्ठले महत्वपूर्ण भूमिका खेलेका थिए। साथै, सांस्कृतिक प्रतिरोधका बिचमा पनि, उनको नेतृत्वमा सो केन्द्र राज्यको एक मात्र प्रत्यारोपण गर्ने स्थान बनेको छ।

श्रेष्ठले दिएको तथ्याङ्क अनुसार, सन् २०१६ को ऐन स्वीकृत भएयता मृत्युपछि अङ्ग दानका लागि २ हजार ६ सय २७ व्यक्तिहरुले नाम दर्ता गरेका छन्।

कोपिला भुजेलले २४ वर्षका श्रीमानलाई दुर्घटनामा गुमाउँदा उनको तेश्रो बच्चा पेटमा हुर्किंदै थियो। डाक्टरले अङ्ग दानको अनुरोध गर्दा शुरुमा उनी तर्सिएकी थिइन्। पूर्ण शरीर जस्ताको तस्तै दाहसंस्कार गर्दा मात्र श्रीमानको आत्माले शान्ति पाउने उनको विश्वास थियो। “मलाई लाग्यो कि उनीहरु उसको शरीर बेच्न खोजिरहेका छन्,” उनी सम्झिन्छिन्।

१२ घन्टाको अन्तर्मनको द्वन्द्व र अस्पतालका डाक्टर र समाजसेवीहरुले धेरै सम्झाइ-बुझाइ गरेपछि, भुजेलले अन्तत: निर्णय गरिन्। उनको श्रीमानको मृगौलाले दुईजनाको जीवन र कलेजोले अर्को एक जीवन बचाएको छ।

“दानभन्दा ठूलो धर्म अरु केही छैन,” आफ्नो र श्रीमानको सपना बमोजिम मजदुरी गरेर छोराछोरीलाई पढाइरहेकी ३० वर्षिया भुजेल भन्छिन्। “उनी गएपनि जब म उनलाई मुस्कुराएको र अन्तत: शान्ति पाएको सपना देख्छु, तब म उनको उपस्थिति महसुस गर्छु।”

Related Stories

सुनिता न्यौपानेग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।


अनुवाद नोट
जिपिजेकी दीपा सिलवालले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेकी हुन्।