काठमाडौं, नेपाल – दुई वर्षअघि काइलीलाई डिप्रेसन भएको थियो। कोरोनाभाइरस महामारीको बेला उनको लक्षणहरू झन् खराब हुन थालेका थिए। यो महामारी पहिलो पटक फैलिँदा, अहिले ३२ वर्ष पुगेकी काइली अष्ट्रेलियाको भिक्टोरियामा एक्लै बस्न बाध्य थिइन्। त्योबेला उनका श्रीमान् एक वर्षदेखि नेपालमै अलपत्र परेका थिए, लकडाउनका कारण आफ्नो घर फर्कन सकिरहेका थिएनन्। पछि उनको श्रीमान फर्किए पनि उनीहरूको वैवाहिक जीवनमा समस्या आयो र काइलीले आफू आत्महत्याको सोचतर्फ गइरहेको पाइन्।
“मैले एकजना साथीलाई यसको बारेमा बताएँ। मैले सहायता मागेँ,” उनले एक कलिङ एप भाइबरबाट लिएको एक अन्तर्वार्तामा भनिन्। मानसिक रोगका सम्बन्धमा लगाइने लान्छनाका कारण आफूलाई अर्कै उपनामले उल्लेख गरिदिन उनले अनुरोध गरिन्। उनले नेपाल बस्ने आफ्नी सासूलाई पनि यसबारे बताएकी थिइन्।
मानसिक स्वास्थ्यलाई नेपालमा प्रायः दबाएर राख्ने गरिन्छ, तर काइलीकी सासुले (जसले काइलीको नाम गोप्य राख्न आफ्नो नाम पनि खुलाउन चाहिनन्) यसरी प्रतिक्रिया देखाइनन्: सामाजिक सञ्जालको सक्रिय प्रयोगकर्ता रहेकी उनलाई फेसबुक र टिकटकमा भिडियोहरूमार्फत यसको महत्त्वबारे थाहा थियो। बरु, उनले काइलीलाई विज्ञको सहयोग लिन आग्रह गरिन्। “म उबाट टाढा छु; म सहयोग गर्नको लागि त्यहाँ पुग्न सक्दिनँ, तर म सुझाव दिन सक्छु,” पाको उमेरकी ती महिलाले बताइन्। “त्यसैले, मैले उनलाई मनोपरामर्शकर्तासँग मनोपरामर्श लिन सुझाव दिए।”
सबभन्दा पछिल्लो राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा १०% भन्दा बढी वयस्कहरू कुनै न कुनै प्रकारका मानसिक समस्याबाट पीडित छन्। सन् २००६ मा समाप्त भएको एक दशक लामो गृहयुद्ध र सन् २०१५ मा देशमा गएको भूकम्पले यो समस्या उच्च दरमा बढ्न केही सहयोग गरेका छन्; कोरोनाभाइरस महामारीले पनि यो समस्यालाई बढाएको छ, र प्रहरीको तथ्याङ्कले सन् २०२० आत्महत्याको दर बढेको देखाएको छ। तर, सचेतना पनि बढ्दै गएको छ। धेरैभन्दा धेरै मानिसहरूले लामो समयदेखिको लान्छनालाई चिर्दै आफूले गरिरहेका संघर्षहरू अनलाइनमा प्रस्तुत गर्न थालेका छन्, र अनलाइन सेवाहरू प्रदान गर्ने मनोविज्ञहरूले सेवाग्राहीहरूको सङ्ख्यामा वृद्धि भएको बताउँछन् – देशभित्रबाट र काइली जस्ता विदेशमा रहेका नेपालीहरूबाट।
काइलीले पहिलोपटक अस्ट्रेलियामा रहेका गैरनेपाली मनोविज्ञबाट सहायता लिएकी थिइन्। “मनोपरामर्शको क्रममा म धेरै पटक रोएँ किनभने के भनिएको हो मैले त्यो बुझिनँ,” उनी भन्छिन्। भाषा नभएर संस्कृति बाधा बनेको थियो। “उनीहरूले भन्थे यदि तपाईं खुसी हुनुहुन्न भने विवाहसम्बन्धलाई अघि बढाउनुको सट्टा यसलाई त्यागिदिनुहोस्… विवाहसम्बन्ध त्याग्नुको परिणाम के हुन्छ भन्ने उनीहरूलाई थाहा थिएन।” सासुको साथ र सहयोगमा काइलीले काठमाडौंस्थित मनोविज्ञसँग अनलाइन मनोपरामर्श लिन थालिन्। दसवटा सत्र पुग्दा, आफ्नो लक्षणहरूमा सुधार भइरहेको उनी बताउँछिन्।
सन् २०१७ मा काठमाडौंको मेयरको चुनाव लडेपछि राष्ट्रियस्तरमा चिनिएकी राजनीतिकर्मी र अभियन्ता रञ्जु दर्शनालाई नेपालमा मानसिक रोगबारे रहेको लान्छना हटाउन आफ्नो प्लेटफर्म प्रयोग गर्ने एउटा उदाहरणको रूपमा लिन सकिन्छ। ती २७ वर्षीया युवतीले डिप्रेसनसँगको आफ्नै संघर्ष र मनोविज्ञ मनोपरामर्शबाट आफूलाई कत्ति धेरै फाइदा पुग्यो भन्ने कुरा खुलेर बोल्छिन्। उनी भन्छिन्, ‘मेरो जीवन अहिले निकै राम्रो छ। जब उनले सन् २०२२ मा संसदीय चुनाव लडिन्, उनले आफ्नो चुनावी एजेन्डाको मूल प्राथमिकताहरूमा मानसिक स्वास्थ्यलाई पनि राखेकी थिइन्। उनी मानसिक स्वास्थ्यसम्बन्धी पोडकास्ट पनि संचालन गर्छिन् र छ वटा यूट्यूब शोहरू पनि निर्माण गरिसकेकी छिन्, जहाँ उनले अन्य चिरपरिचित व्यक्तिहरूसँगको कुराकानीहरू प्रस्तुत गरेकी छिन्, जस्तै एक जना पूर्व मिस नेपाल इन्टरनेशनलले यसमा मानसिक स्वास्थ्यसँग आफ्नै संघर्षहरूको बारेमा बताएकी छिन्।
दर्शना भन्छिन्, आफूलाई धेरै भिडियोहरू बनाउन मन छ, तर धेरै मानिसहरू क्यामेरामा आफ्नो मानसिक स्वास्थ्यको बारेमा कुरा गर्न मन गर्दैनन्। सन् २०२० देखि, उनले जुम प्लेटफर्ममा – “मानसिक स्वास्थ्य सोमबार” शीर्षकमा एक अनलाइन भेला पनि चलाएकी छिन् – जहाँ युवाहरूले आफ्ना भावनाहरू व्यक्त गर्न, सहानुभूति दर्शाउन र अनुभवहरू बताउन सक्छन्।
चर्चित नेपाली हास्य कलाकार निरु खड्काले पनि सन् २०१५ को भूकम्पपछि उनमा देखा परेको मानसिक स्वास्थ्य, विशेषगरी डिप्रेसनतर्फको झुकाव बारेमा यसरी नै बताइरहेकी छिन्। उनी भन्छिन्, “ध्यानबाट मैले जीवन जिउने आधार मात्र पाएकी होइन, जीवन जिउने कला पनि सिकें।” गत वर्ष उनले टिकटकमा कवितामार्फत आफ्नो डिप्रेसनको अनुभव साझा गरेकी थिइन्। त्यो भिडियो पाँच लाखभन्दा बढीले हेरेका थिए। उनी प्रायः विद्यार्थीहरूको लागि ध्यान सत्रहरू पनि सञ्चालन गर्छिन्।
यस्ता प्रयासहरूले मानसिक स्वास्थ्यको बारेमा राम्रोसँग बुझ्न मद्दत गरेको छ, नेपाली सेवाग्राहीलाई अनलाइन थेरापी प्रदान गर्ने मनका कुरा कार्यक्रममा काम गर्ने मनोविज्ञ सीता लामा भन्छिन्।
फिनल्याण्ड, जर्मनी, अष्ट्रेलिया र संयुक्त राज्य अमेरिकामा रहेका युवा सेवाग्राहीलाई सेवा प्रदान गरिरहेकी काठमाडौंस्थित मनोविज्ञ प्रेरणा दाहाल भन्छिन्, सांस्कृतिक र भाषिक सहजताका कारणले पनि विदेशमा रहेका नेपालीहरू नेपालमा रहेका मनोचिकित्सकहरू खोज्ने गर्दछन्। ‘घुलमिल हुन गाह्रो हुने समस्या, सम्बन्धको समस्या, गोरो छाला नहुँदाको हीनताबोध, आर्थिक अभाव जस्ता कुराले विदेशमा अध्ययनरत नेपाली युवामा मानसिक समस्या सिर्जना हुने गरेको छ’, दाहालले भनिन्।
मानसिक स्वास्थ्यसम्बन्धी गैरसरकारी संस्था बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपालसँग आबद्ध भएर काम गर्ने भरत गौतम अगाडि भन्छन्, नेपालमा थेरापी तुलनात्मक रूपमा सस्तो छ, जसले गर्दा महामारीको सुरुभएदेखि नै मनोपरामर्शको माग बढेको देखेको छ। हरेक महिना ४० जना सेवाग्राहीलाई हेर्ने र सन् २०२० यता विदेशमा रहेका २०० नेपालीहरूलाई मनोपरामर्श दिइसकेका भरत गौतमले अर्को प्रचलनलाई पनि देखाउँछन् : नेपाली दम्पत्तिहरूका लागि मनोपरामर्श सेवा दिने, जहाँ एकजना देशभन्दा बाहिर रहेका हुन्छन्।
विदेशमा रोजगारी खोज्ने युवाहरूले अक्सर अस्वाभाविक दबाबको सामना गर्छन्, जसले मानसिक अस्वस्थता बढाउन सक्छ। कहिलेकाहीँ यो समस्या घरमा आफ्नी श्रीमतीहरूप्रति अविश्वास र शंकाको रूपमा प्रकट हुन्छ, गौतम भन्छन्। गौतमका अनुसार उनलाई प्रायः नेपाल बाहिर रहेका पतिहरूले आफूलाई छल गरिरहेको शंका गरेका कारण निराशामा पुगेका महिलाहरूले सम्पर्क गर्छन्। “यस्ता अवस्थामा, हामी शंका गर्ने पति र पत्नी दुवैलाई मनोपरामर्श दिन्छौं,” उनी भन्छन्। विदेशमा रहेका थोरै नेपालीले आफैं सहयोग खोज्छन्।
मानसिक स्वास्थ्यप्रतिको सचेतना र सेवाहरूको माग बढ्दै गइरहेको छ, तर स्वास्थ्य सेवाका पूर्वाधारहरू सोही गतिमा बढ्न सकिरहेका छैनन्। सरकारले यो कमीलाई न्यून गर्ने प्रयास गरिरहेको स्वास्थ्य सेवा विभागका मानसिक स्वास्थ्य शाखा प्रमुख फणीन्द्रप्रसाद बराल बताउँछन्। “हाम्रा स्वास्थ्यकर्मीहरूले मानसिक रोगको निदान गर्न र यसलाई हाम्रो प्रणालीमा ल्याउन सकेका छैनन्,” उनी भन्छन्। “त्यसैले हामी स्वास्थ्य चौकीका प्यारामेडिक्स, डाक्टर र मेडिकल अधिकृतहरूलाई मानसिक स्वास्थ्यको निदान र उपचारका सेवाहरूसम्बन्धी पाँचदिने तालिम दिइरहेका छौं।”
नेपाल मेडिकल काउन्सिलको तथ्याङ्कअनुसार मनोचिकित्सामा स्नातक वा सोभन्दा माथिको उपाधि हासिल गरेका २४४ जना मात्र सूचीकृत छन्; अर्को अनुमानअनुसार नेपालमा २०० भन्दा कम मनोचिकित्सक र २३० जना जति मात्र मनोविज्ञ छन्। तिनीहरूले देशका लाखौं नेपालीहरूका लागि मात्र होइन, संसारको टाढाको कुनाबाट उपचार खोज्नेहरूलाई पनि सेवा प्रदान गर्नुपर्ने अवस्था बढ्दो छ।
याम कुमारी कंडेल ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।