Nepal

दक्षिण एसियामा मानव तस्करीको जालो फैलाउन मद्दत गर्दै सामाजिक सञ्जाल

नेपालमा सामाजिक सञ्जाल अलि ढिलै भित्रिएको थियो। तर अहिले मानिसहरूको हातहातमा पुगेको सामाजिक सञ्जालको फाइदा उठाएर सीमापार मानव बेचबिखन गर्ने तस्करहरूले अझ धेरै मानिसहरूलाई सिकार बनाइरहेका छन्।

Read this story in

Publication Date

Social Media Fuels Expansion of Human Trafficking in South Asia

सुनिता न्यौपाने, जिपिजे नेपाल

नेपाल र भारतबिचको वीरगन्ज–रक्सौल सिमाना। मानवअधिकारवादी समूहहरूका अनुसार मानव तस्करहरूले यो खुला सिमानाको फाइदा उठाउँदै नेपाली युवती तथा महिलाहरूलाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर सीमापार लैजान्छन् र जबरजस्ती यौन कार्यमा लगाउँछन्।

Publication Date

नुवाकोट,नेपाल — तामाङका आमाबुवाले गाउँको सुख्खा र बाँझो जमिनमा हाडनङ्ग्रा खियाउँदै आएको वर्षौँ भइसकेको थियो। उनीहरूले गाइ वस्तु पनि पालेका थिए र कठिन समयमा थोरै आम्दानी गर्न छिमेकीहरूको खेत जोत्ने र मेलापात गर्ने गर्थे।

आमाबुवाको यस्तो दुरूह जीवनको साक्षी भन्दै आएकी तामाङले भने यो दलदलबाट बाहिर निस्केर आफ्नो भविष्य सुन्दर बनाउने सपना देखिरहेकी थिइन्। उनी नर्स बन्न र आफ्ना आमाबुवाको सहारा बन्न चाहन्थिन्। यही सपना बोकेर उनी हरेक दिन झन्डै साँढे दुई घण्टाको यात्रा गरेर विद्यालय जाने आउने गर्थिन्।

त्यति बेला छ कक्षामा पढिरहेकी १३ वर्षीय उनले अचानक आफ्नो सपना साकार पार्ने आशाको किरण देखिन्। फेसबुकबाट परिचित एक व्यक्तिले राम्रो जागिर लगाइदिने प्रलोभन देखाए। यस्तो राम्रो अवसरको कुरा उठेपछि उनका सोझा आमाबुवाले पनि खुसीखुसी सहमति जनाए।

तर फेसबुकमा परिचित त्यो व्यक्तिले कस्तो काम हो भन्ने बारेमा चाहिँ केही बताएका थिएनन्। आफूलाई भारतको शान्तिपुर सहरमा लगिएपछि मात्र उनले आफ्नो वास्तविक काम थाहा पाइन्। उनले यौनकर्मीका रूपमा काम गर्नु पर्ने थियो र हरेक दिन एक दर्जनभन्दा बढी कामुक पुरुषहरूको वासना तृप्त पार्नु पर्ने थियो।

भाग्यले उनलाई आफूले कल्पनै नगरेको ठाउँमा ल्याएर फसाएको थियो। नियतिसँग उनको केही लागेन। उनलाई लाग्यो आफ्नो परिवारलाई चरम गरिबीबाट उकास्न सक्ने यो एउटा मात्र विकल्प थियो। (पूर्ण परिचय खुलाउँदा लाञ्छना लाग्न र सामाजिक बहिष्कार हुन सक्ने भएकाले यो स्टोरीमा ग्लोबल प्रेसले उनको थर मात्र उल्लेख गरेको छ।)

थिंक ट्याङ्क, सुरक्षा निकाय र गैरसरकारी संस्थाहरूको तथ्याङ्कअनुसार एसियाका ग्रामीण क्षेत्रमा सामाजिक सञ्जालको पहुँच बढ्दै गर्दा मानव तस्करीको जालो पनि फैलँदै गएको छ। यस्ता संस्था र निकायहरूले खास गरी कम उमेरका बालबालिका र अन्य मान्छेहरूलाई तस्करहरूको फन्दामा पर्नबाट जोगाउने पहल गर्दै आएका छन्।

नेपालमा सामाजिक सञ्जाल अलि ढिलै भित्रिएको थियो। २०१० को दशकको सुरुवातमा नेपालका १०% मानिसहरू मात्र इन्टरनेटको पहुँचमा थिए। तर २०२५ को सुरुवातसम्म आइपुग्दा ५५% जनसङ्ख्या कुनै न कुनै रूपमा इन्टरनेटसँग जोडिएको छ। नेपालमा ३ करोड ९० लाख अर्थात् कुल जनसङ्ख्याको १३२% मोबाइल फोन कनेक्सन छन्। यसमा एकभन्दा बढी फोन हुने मानिसहरू पनि समावेश छन्।

यसले गर्दा मानव तस्करहरूलाई चरम गरिबीको चपेटामा रहेका दुर्गम गाउँका कुनाकाप्चासम्म पुग्न सजिलो भएको छ। झन् शिक्षाको कमी हुने यस्ता क्षेत्रका किशोरीहरू वेश्यालयमा बेचिने जोखिम बढी रहेको छ। तस्करहरूले ललाइफकाइ गरेर भारतसम्म लैजानका लागि उनीहरूसँग इन्टरनेट वा फोनमार्फत लामो समयसम्म मिठा मिठा कुरा गर्ने गर्छन्। सुन्दर भविष्य दिलाउने वाचा गरेर सपनाहरूको बिस्कुन नै लगाइदिन्छन्।

नेपाल सरकारले यही महिनाको सुरुतिर नेपालको कानुनअनुसार आधिकारिक रूपमा सूचीकरण गर्न नआउने सामाजिक सञ्जालहरूमाथि पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यसमा फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालहरू समावेश छन्। तर चौतर्फी चर्को विरोध आइरहेकाले यो प्रतिबन्ध लामो समय नटिक्ने अनुमान गरिएको छ।

विदेश बेचिएका झन्डै ४१% महिलाहरू आफूलाई बिहे गर्ने नाममा फसाइएको बताउँछन् । युवतीहरूले राम्रो युवकसँग बिहे गर्नुलाई वित्तीय सुरक्षा र उच्च सामाजिक स्ट्याटस प्राप्त हुने अवसरका रूपमा लिन्छन्।

फेसबुकको प्यारेन्ट कम्पनी मेटाको प्रवक्ता टाइलर रब-म्याककर्ड भन्छन्, “मानव शोषण घृणित कार्य हो र हाम्रो प्लेटफर्ममा यस्तो गर्ने अनुमति छैन।” उनी मेटाले मानव शोषण र तस्करी गर्न प्रेरित गर्ने सामग्री हाल्न निषेध गरेको र त्यस्तो सामग्री हटाउने बताउँछन्। मेटाले संयुक्त राष्ट्रसङ्घ जस्ता मानव तस्करीसम्बन्धी विशेषज्ञता भएका संस्थाहरूसँग मिलेर आफ्ना नीतिहरू बनाएको छ।

“मानव शोषणका विरुद्धमा लड्नु सबैको जिम्मेवारी हो र हामीले विभिन्न संस्कृति र दृष्टिकोण भएका अरबौं मानिसहरूलाई सेवा दिने भएकाले हामीले हाम्रा प्लेटफर्ममा यसबाट हानि हुन नदिने कुरालाई प्राथमिकतामा राख्ने गर्छौँ,” रब-म्याककर्ड भन्छन्।

मानव तस्करीको हटस्पट

कोभिड-१९ को लकडाउनको समयमा सामाजिक सञ्जालका माध्यमबाट मानव तस्करी गर्ने क्रम बढ्यो। नेपाल सरकारको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार अपराधीहरूले त्यस बेला विद्यालय र कार्यालयहरू बन्द भइरहेका बेला मानिसहरूको तनाव र आर्थिक कठिनाइको फाइदा उठाएर उनीहरूलाई झुक्याउन सफल भए।

दक्षिण तथा मध्य एसियाली देशले २०२२ मा महिला र बालबालिकाको सबैभन्दा बढी बेचबिखन गरिएको रिपोर्ट गरेका छन्। ग्रो नामक थिंक ट्याङ्कको रिपोर्ट “एसियामा मानव तस्करी: गुप्त प्रकोप” का अनुसार यो अवधिमा यस क्षेत्रमा झन्डै ५ करोड मानिसहरूको तस्करी गरिएको थियो।

संयुक्त राज्य अमेरिकाको राज्य विभागको २०२४ को “मानव तस्करी” रिपोर्टअनुसार वेश्यावृत्तिमा लाग्न बाध्य पारिएका मानिसहरूका लागि भारत र नेपाल नै मुख्य निशाना बनाइने गरेको उल्लेख गरिएको छ। यसका पीडितहरू प्रायःजसो नेपाल, बङ्गलादेश, भुटान र पाकिस्तान जस्ता देशबाट हुने गर्छन्। यो रिपोर्टअनुसार झन्डै डेढ करोड मानिसहरू बेचबिखनमा पर्ने जोखिममा छन्।

मानव तस्करीकै पीडितद्वारा सञ्चालित शक्ति समूह नामक नेपाली गैरनाफा संस्थाकी प्रमुख चरिमाया तामाङका अनुसार तस्करहरूले मानिसहरूको सुन्दर सपना जिउने आशाको फाइदा लिन्छन् र गरिबीले गर्दा अधिकांश नेपाली महिलाहरू तस्करहरूको हातमा पुग्छन्। चरिमाया तामाङ (यो स्टोरीमा उल्लेख गरिएकी तामाङसँग उनको कुनै नाता छैन) लाई अन्य ५०० भारतीय र बङ्गलादेशी महिलाहरूसँगै १९९६ मा उद्धार गरिएको थियो। भारत सरकारले मुम्बईका कोठीहरूमा छापा मार्दा उनी मुक्त भएकी थिइन्।

उनी भन्छिन्, “विगतमा दलालहरूले गाउँघरमा गएर महिलाहरूलाई वेश्यावृत्तिमा फसाउने गर्थे र भारतका वेश्यालय केन्द्रहरूमा बेच्ने गर्थे। तर आज उनीहरूले सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गरेर महिला र केटीहरूलाई पहिचान गर्न र फसाउन, त्यसपछि भारतभरका फ्ल्याटहरूमा आपूर्ति गर्न इन्टरनेटलाई हतियारमा परिणत गरेका छन्।”

शोषणमा परेमा महिला तथा बालबालिकालाई मद्दत गर्ने गैरनाफामूलक संस्था माइती नेपालको कार्यकारी निर्देशक विश्वराम खड्काका अनुसार मानव तस्करहरूले किशोरीहरूलाई जागिर दिलाउने वा बिहे गर्ने वाचा गरेर अनलाइनबाट ललाइफलाई गर्छन् र नेपाल-भारतको खुला सिमानाको फाइदा उठाएर उनीहरूलाई फटाफट सीमा कटाउँछन्।

दुई वर्षभन्दा पहिले गायब भएकी तामाङकी जेठी दिदीलाई पनि भारतमा बिक्री गरिएको अनुमान गरिएको खड्का बताउँछन्। अहिले उनलाई खोज्न र उद्धार गर्न प्रयास भइरहेको छ।

मानव तस्करहरूले अनलाइनबाट किशोरीहरूलाई सुन्दर भविष्यको यति धेरै वाचा गर्छन् कि तामाङ पनि त्यो जालोमा फसिहालिन्।

‘तपाईं यो काम किन गर्दै हुनुहुन्छ?’

ग्लोबल प्रेसले विगतमा यौनकर्ममा लगाइएका महिलाहरूलाई राखिने आश्रयस्थलमा तामाङको अन्तर्वार्ता लिएको थियो। उनलाई फेसबुकमा एक जना व्यक्तिले आफूसँगै यात्रा गरे पैसा दिने वाचा गरेर झुक्याएको थियो। उनीहरूले मिनिभ्यानमा सँगै बसेर नेपाल-भारत सीमा पार गरेका थिए। त्यसपछि उनलाई रिक्सामा र रेल चढाएर सोनागाक्षी सहर लगिएको थियो। यो सहर विशाल रेड लाइट एरियाका लागि एकदमै परिचित छ। त्यहाँबाट एक घण्टा यात्रा गरेर उनलाई झन्डै साँढे दुई लाख मानिसको बसोबास रहेको शान्तिपुर सहरमा लगिएको थियो। आफू त्यहाँका अग्ला भवन र ज्वलन्त सडकहरू देखेर मोहित भएको तामाङ बताउँछिन्।

त्यसपछि उनीसँगै गएको व्यक्तिले उनलाई एक जना साहुकहाँ एकैछिन बस्न भनेको थियो तर ऊ कहिल्यै फर्केर आएन। उनी आफूले अझै पनि त्यो व्यक्तिलाई फेसबुकमा खोजिरहेको तर फेला पार्न नसकेको बताउँछिन्।

उनी आफूलाई शान्तिपुरको अपार्टमेन्टमा दुई दिन विश्वाम गर्न दिएपछि काम गर्न थाल्न बाध्य पारिएको बताउँछिन्। उनको साहुले भारतीय सरकारले जारी गर्ने आधार कार्ड बनाइदिएका थिए जसमा उनको उमेर २२ वर्ष (वास्तविक उमेरभन्दा ९ वर्ष बढी) उल्लेख गरिएको थियो। ग्राहकहरूले रोज्न सकून् भनेर साहुले तामाङ र अन्य युवतीहरूको फोटो ह्वाट्सएपमा पोस्ट गर्ने गर्थे।

नेपालमा मानव तस्करी विरुद्ध काम गरिरहेको गैरनाफामूलक संस्था आफन्त नेपालका उप निर्देशक रामशरण पौडेलका अनुसार विगतमा कोठी मालिकहरूले महिला र युवतीहरूको फोटो ग्राहकलाई देखाउन प्रिन्ट गरेको फोटो एल्बम प्रयोग गर्ने गर्थे।

सामाजिक सञ्जालले अहिले त्यसलाई सजिलो बनाइदिएको छ। ग्राहकहरूले रोज्न सकून् भनेर तामाङको साहुले तामाङ र अन्य युवतीहरूको फोटो ह्वाट्सएपमा पोस्ट गर्ने गर्थे।
एक जना ग्राहक बराबर आफूले ५०० भारतीय रुपैयाँ कमाउने गरेको तामाङ बताउँछिन्। त्यसमध्ये उनले १५० भारु साहुलाई दिनु पर्थ्यो। ग्राहकहरूको आवतजावत ट्रयाक गर्न एक जना व्यक्ति नै खटाइएको थियो। उनलाई एक जना ग्राहकसँग २० मिनेटभन्दा बढी समय खर्च गर्न दिइँदैनथ्यो।
उनका अनुसार प्रहरी र सैनिकहरू पनि त्यहाँ ग्राहक भएर आउने गर्थे र उनलाई त्यहाँ किन आएको भनेर सोध्ने गर्थे।

उनीहरू भन्थे, “तपाईं यति सानो उमेरमा यो काम किन गर्दै हुनुहुन्छ? घर जानुहोस्।”

सानोमा तामाङले आफ्नी काकी र दिदीहरूले राम्रो लुगा र सुनका गहना लगाएर भारतबाट फर्केको देखेकी थिइन्। उनलाई पनि त्यस्तै लुगा र गहना लगाउन मन लाग्थ्यो तर उनलाई उनीहरू मानव बेचबिखनमा परेका भन्ने चाहिँ थाहा थिएन। उनीहरूलाई पैसा कमाउने यति धेरै लत लागिसकेको थियो कि उनीहरू घर फर्केपछि पनि भारतकै कोठीहरूमा फर्केका थिए।

तामाङले पनि आफूले कमाएको पैसाले आफ्ना लागि राम्रा राम्रा लुगाहरू किनिन्। तर किनमेल गर्नका लागि उनलाई एकदमै कम समय दिइने गरेको उनी बताउँछिन्। उनले हरेक दिन बिहान ११ बजेदेखि राति ३ बजेसम्म ग्राहकहरूको यौन सन्तुष्टि मेटाउन लगाइन्थ्यो।

जटिल र पुरानो समस्या

तस्करहरूको अपराध दुई देशमा फैलने भएकाले उनीहरूलाई कारबाही गर्न एकदमै चुनौतीपूर्ण हुने नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता नरेन्द्र कुँवर बताउँछन्। कुनै व्यक्ति नेपालबाट बाहिरिएपछि ऊ नेपाल प्रहरीको क्षेत्राधिकारभन्दा बाहिर पर्ने उनी बताउँछन्।
उनी भन्छन्, “अन्तर्राष्ट्रिय सम्बन्धहरू समावेश हुने भएकाले अनुसन्धान सञ्चालन गर्नु उल्लेखनीय रूपमा जटिल हुन्छ।”

ब्यूरोको रिपोर्टअनुसार २०१९ देखि २०२५ सम्म ४३४ जना महिला तथा किशोरीहरूलाई भारतमा यौन तथा अन्य काम गर्न बाध्य पारिएको थियो। यो अवधिमा नेपालको सुरक्षा निकायले तस्करीसँग सम्बन्धित अपराधहरूको आरोप लागेका ९४४ जना मध्ये ५३० जनालाई पक्राउ गरेको थियो। तीमध्ये अधिकांशलाई मुद्दा चलाएर जेल हालिएको थियो। यो अपराधमा बढीमा २० वर्षसम्मको सजाय सुनाउने व्यवस्था छ।

तर तथ्याङ्क हेर्ने हो भने यो गाग्रीको एक थोपा पानी जति मात्र हो। नेपाल प्रहरीकै डेटाअनुसार २०१३ देखि २०२४ सम्म ३६,९१२ जना बालबालिका (११,२९९ जना केटा र २५,६१३ जना केटी) हरू हराएका थिए। अधिकांश केटीहरूलाई भारतमा तस्करी गरेको अनुमान गरिएको छ।

नेपालको कानुनअनुसार अदालतमा मुद्दा चल्दा आरोप लगाउने व्यक्तिले नै आफू तस्करीमा परेको भनेर प्रमाण पेस गर्नु पर्ने व्यवस्था रहेको शक्ति समूहकी चरिमाया तामाङ बताउँछिन्। उनीहरूलाई विस्तृत इतिहास बताउन लगाइन्छ तर मानसिक तनावका कारण उनीहरूको स्मृति नै धमिलो हुन सक्ने उनी बताउँछिन्।

नेपाल सरकारले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार आफ्नो कानुन बनाउने प्रतिबद्धता जनाएको छ। नेपालले सन् २००० को जुन महिनामा पलेर्मो प्रोटोकल अङ्गीकार गरेको थियो। यो प्रोटोकलले मानव तस्करीसम्बन्धी विश्वव्यापी परिभाषा दिएको छ र तस्करीबाट छुटेका पीडितहरूलाई व्यापक सहायता प्रदान गर्न आह्वान गर्ने गर्छ।

तर नेपालले अन्तर्राष्ट्रिय प्रोटोकलहरूलाई सम्बोधन गर्न कुनै खास कानुन नबनाएको आफन्त नेपालका रबिन्द्र सापकोटा बताउँछन्। अन्तर्राष्ट्रिय प्रोटोकलहरूलाई सम्बोधन गर्न नेपालले अझै पनि विशेष कानुन नबनाएको छैन। कहिलेकाहीँ आफूमाथि आक्रमण हुने डरले गर्दा वा पैसा दिएर शान्त पारिएकाले गर्दा वेश्यावृत्तिमा लाग्न बाध्य पारिएका महिलाहरूले पीडकहरूका विरुद्ध बयान दिन अस्वीकार गर्छन्।

नयाँ जीवन

तामाङ तस्करीमा परेकी हुन सक्ने कुरा स्पष्ट भएपछि माइती नेपालले उद्धार गर्नु पर्ने बालबालिकाको सूचीमा उनको नाम पनि समावेश गर्यो। भारतका रेड लाइट एरियामा अनुसन्धान गरेपछि माइती नेपालले उनी र अन्य युवतीहरूलाई राखिएको अपार्टमेन्ट पत्ता लगायो। माइती नेपालले भारतीय प्रहरी, नेपाली कन्सुलेट र बालबालिका उद्धार गर्ने संस्थाहरूको मद्दत लिएर फेब्रुअरी २०२४ मा उक्त अपार्टमेन्टमा छापा मारेको थियो। उनीहरूले त्यहाँ तामाङलगायत नौ जना केटीहरू फेला पारे। तामाङ खाटमुनि लुकेको अवस्थामा भेटिएकी थिइन्। सबै केटीहरूसँग आधार कार्ड थियो र उनीहरूले आफू वयस्क भएको र स्वेच्छाले कोठीमा काम गर्न आएको दाबी गरे।

यही कुराको आधारमा प्रहरीले ती केटीहरूलाई छाडेपछि उनीहरू फेरि कोठीमै फर्किए।

त्यसपछि माइती नेपालका एक प्रतिनिधि तामाङको गाउँमा गएर उनको जन्म दर्ता प्रमाणपत्र र विद्यालयका कागजातहरू लिएर भारतीय प्रहरीमाझ पेस गरे। ती कागजातले उनी त्यस बेला १५ वर्षको भएको पुष्टि भयो। तामाङलाई उद्धार गर्न भनेर उनीहरू फेरि अपार्टमेन्टमा गए तर तामाङलाई अर्कै ठाउँमा लगिसकिएको थियो।

माइती नेपालले २०२५ मा उनलाई फेरि कलकत्ताको अपार्टमेन्टमा पत्ता लगायो। प्रहरी छापा मार्न आइपुग्दा अधिकांश केटीहरू भागिसकेका थिए। तामाङ ढोकापछाडि लुकेकी थिइन् र प्रहरीले उनलाई फेला पार्यो।

प्रहरीले उनलाई भारतको बाल सुरक्षा गृहमा लग्यो र त्यसपछि माइती नेपाललाई हस्तान्तरण गर्यो। माइती नेपालले उनलाई काठमाडौं ल्यायो।

तामाङलाई आफ्नो गाउँमा फर्कन, आफूले बाल्यकालमा हिँडेका बाटोहरूमा फेरि हिँड्न, सपनाहरूको उद्गमस्थल विद्यालयको कक्षाकोठामा गएर बस्न र साथीहरूसँग खुला आकाशमुनि बसेर हाँसखेल गर्न मन छ।

सुनिता न्यौपाने नेपालको काठमाडौंस्थित रिपोर्टर-इन रेसिडेन्स हुन् । ग्लोबल प्रेस जर्नलमा काम गर्नुअघि सुनिताले नयाँ पत्रिका, रातोपाटी.कम र अन्नपूर्ण पोस्टलगायतका नेपालका शीर्ष मिडिया आउटलेटमा काम गरेकी थिइन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेकी उनले आफ्नो पत्रकारितामा कानुनी दृष्टिकोण ल्याउँछिन् । उनको पत्रकारिता सामाजिक समस्या र मानव अधिकारमा केन्द्रित हुन्छ । उनले लैङ्गिक हिंसा, एलजिबिटिक्यू+ का अधिकार, जातीय विभेद र जनस्वास्थ्यसम्बन्धी चुनौती जस्ता विषयमा रिपोर्टिङ गर्छिन् ।


अनुवाद नोट
जिपिजेका अनुप जोशीले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेका हुन्।

Related Stories