झापा, नेपाल — सन् २०१४ को कुरा हो । नेपालको कोशी प्रदेशको मेचीनगर नगरपालिकामा बसोबास गर्ने १४ वर्षीया ऋत खरेलले आफ्नो बुवालाई सोधिन्: हाम्रो मेचीनगर नगरपालिका के-का लागि प्रख्यात छ? त्यति बेला एउटा सानो फोटो स्टुडियो चलाइरहेका देवेन खरेल आफ्नी छोरीको प्रश्न सुनेर सोचमग्न र अवाक् भए । दिनहरू बित्दै गए तर खरेलको मनभित्र छोरीको यो प्रश्नले लखेट्न छाडेन ।
त्यसको ठिक दुई वर्षपछि सन् २०१६ मा एक दिन फेसबुक चलाइरहँदा उनले भारतीय वाइल्डलाइफ फोटोग्राफर राथिका रामासामीले खिचेका वन्यजन्तुका फोटोहरू देखे । उनले दक्षिण एसियाको जलाशयमा पाइने सुइरोठुँडे चराहरू एक आपसमा जुध्दै पानीमा तैरिरहेका फोटोहरू पोस्ट गरेकी थिइन् । खरेलले रामासामीले खिचेका तारमा बसिरहेका मुरली चराहरूको फोटो पनि निकै उत्सुकताका साथ हेरे । ती रङ्गीन तथा रोचक फोटोहरू उनको मनमा बसे । त्यसको केही हप्तामा उनलाई लाग्यो अब उनीसँग छोरीले धेरै पहिले सोधेको प्रश्नको जवाफ छ । उनलाई मेचीनगरमा पाइने चराहरूको विवरण राखेर आफ्नो ठाउँ प्रख्यात बनाउन सकिने उपाय फुर्यो । तर अझै पनि उनले यसका लागि के गर्नु पर्छ भन्ने कुरा भने सोचिसकेका थिएनन् ।
रामासानीको फोटोग्राफ्रीबाट प्रेरित खरेलले अहिले आफ्नो नगरका चराहरूको फोटो खिच्न र विवरण सङ्कलन गर्न थालेको सात वर्षभन्दा बढी भइसकेको छ । उनले आफ्नो नेतृत्वमा मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको स्थापना गरेका छन् र यो संस्था जिल्लाकै पहिलो वन्यजन्तु संरक्षण समाजका रूपमा दर्ता भएको छ । पहिले मेचीनगर पर्यटकीय स्थल नरहेको भए पनि अहिले भने चराका बारेमा चासो राख्ने मानिसहरू खरेलको पसल कहाँ छ भन्दै सोध्न आउने गरेको मेचीनगरका स्थानीय पसल र अटो रिक्साहरू बताउँछन् । स्थानीय चराका बारेमा जनचेतना बढाउनका लागि खरेलले चालेको कदमको कदर गर्दै नगरपालिकाको वडा नं. ४ का वडा अध्यक्षले गुलेली हस्तान्तरण गरेर चरा मार्दिनँ भन्ने बालबालिकालाई पुरस्कारस्वरूप स्टेसनरी सामान दिन थालेका छन् ।
मेचीनगरमा कुल २,००० हेक्टर जमिनमा फैलिएका १३ वटा सामुदायिक वन छन् । सन् २०१६ मा रामासामीका फोटोहरू देखेपछि खरेलले चराहरूलाई अझ निकटबाट अवलोकन गर्न थालेका थिए । त्यस्तै एक दिन, चराहरूको फोटो खिच्न निस्किँदा उनले एक जना छिमेकीको घरमा फूलिरहेको घन्टी फूलको रस चुसिरहेको एउटा सानो चरा देखे । उक्त चराको घाँटीमा निलो-बैजनी रङको बुट्टा थियो । उनले तुरुन्तै त्यो चराको फोटो खिचिहाले । उनले पछि थाहा पाए त्यो त कालोबुङगे पर्पल सनबर्ड रहेछ । यो फेसबुकमा भाइरल भएको उनले खिचेको पहिलो फोटो थियो । त्यो फोटोबाट प्राप्त प्रतिक्रियाले उनलाई अझ धेरै चराहरू खोज्न र तिनको फोटो खिच्न प्रोत्साहन मिल्यो । उनले त्यसको केही वर्षमै मेचीनगरमा ३३० प्रजातिका चराहरूको फोटो खिचिसकेका छन् ।
उनले अति सङ्कटापन्न चरा मानिने ठुलो बगर बट्टाईका फोटोहरू पनि खिचेका छन् ।
सन् २०२० मा उनले परेवा जस्तै देखिने तर पखेंटामा हरियो रङ मिसिएको अचम्मलाग्दो चरा देखे । उनले यस्तो दुर्लभ प्रजातिको चरा अहिलेसम्म देखेका थिएनन् । उनले यो चराका फोटोहरू चरा संरक्षणका लागि काम गर्ने बर्ड कन्जरभेसन नेपालमा आफूले चिनेका मानिसहरूलाई इमेलमार्फत पठाए । त्यो चरा नेपालमा दुर्लभ भएको ग्रिन इम्पेरियल पिजन पो रहेछ । उनी भन्छन्, “फिल्डमै थाहा भएको भए थप उत्साहित हुन्थेँ होला । अहिलेसम्म आफूले नभेटेको भन्ने भयो तर नेपालमै नभेटिएको भन्ने स्टुडियोमा आएपछि मात्रै थाहा भयो ।“
त्यसपछि सन् २०२१ मा खरेलले मेचीनगरबाट झन्डै ८० किलोमिटरको दूरीमा पर्ने इलाम जिल्लाको सूर्योदय नगरपालिकाको सिमधापमा हङरायोको फोटो खिचे । वनस्पतिविद, जैविक विविधतासम्बन्धी अन्वेषक र लेखकसमेत रहेका कमल मादेनको आग्रहमा उनले यो चराको खोजी गरेका थिए । मादेन खरेलको फोटोग्राफीबाट आकर्षित भएर उनीसँग सम्पर्कमा आएका थिए ।
मादेनका अनुसार १९ औँ शताब्दीको सुरुवाततिर नेपालमा काम गरेका एक प्रकृतिविद्ले सन् १८२९ मा पहिलो पटक हङरायो चरा फेला पारेका थिए । मादेन भन्छन्, “नेपालमा यसको खोजी गर्ने दोस्रो व्यक्ति देवेन हुन् ।”
खरेललाई नेपालबाट लोप भइसकेको ठानिएको यो चरा फेला पारिएला भन्ने कुनै आशा थिएन । उनी भन्छन्, “तर, बाटैमा एउटा रूखमा चरा देख्ने बितिकै चिनेँ । भारतमा यसको फोटो खिचिसकेकोले चिन्न गाह्रो भएन…हतारहतार क्यामेरा झिकेर फटाफट फोटो खिचेँ । फोटो जस्तो आओस् मतलब भएन तर रेर्कड हुन्छ भन्ने लागेर खिचेको थिएँ । ”
रातोढाडे पुष्पकोकिल चराको पहिलो फोटो खिच्ने व्यक्ति पनि खरेल नै हुन् । उनले यो चरालाई इलामकै रोङ्मा फेला पारेका थिए ।
कुनै चराको फोटो खिचेपछि खरेलले सर्वप्रथम उक्त फोटो आफ्नो समुदायका शिक्षक, गृहिणी, अग्रज र जेष्ठ नागरिकलाई देखाउँछन् र चराको नाम थाहा पाउने प्रयास गर्छन् । समुदायका अग्रज तथा अनुभवी व्यक्तिहरू चराका विभिन्न प्रजातिसँग परिचित हुने खरेलको बुझाइ छ । उनी भन्छन्, “‘अनि घर आएर कप्युटरमा खोज्छु ।”
स्थानीयहरूले कुनै चराको नाम चिन्न नसकेका खण्डमा उनी इन्टरनेटमा चराविदहरू खोज्छन् र चराको फोटो इमेल गरेर उनीहरूसँग मद्दत माग्छन् ।
बर्ड कन्जरभेसन नेपालका चराविद कृष्ण प्रसाद भुसाल उनलाई चराका बारेमा जानकारी दिने स्रोतहरूमध्ये एक हुन् । भुसाल र उनको टिम खरेलले संस्थाको फेसबुक पेजमा गरेका पोस्टबाट उनका कामसँग परिचित भएका थिए ।
भुसाल भन्छन्, “मैले उनलाई सुझाव दिएको थिएँ कि वाइल्डलाइफ फोटो नेचुरल हुनुपर्छ । तपाईको पेशा फोटोग्राफी भएकोले फोटो एडिट गरेर राम्रो बनाउनुभएको होला । तर जस्तो खिच्नुभएको छ त्यस्तै राम्रो हुन्छ । त्यसैले वाइल्डलाइफ फोटाहरु एडिट नगरेकै राम्रो भनेपछि उहाँले कुरा सुनेर एडिट गर्न छाड्नुभयो । अहिले त सुदूर पूर्वमा उहाँले धेरै राम्रो काम गरिरहनुभएको छ ।”
खरेलले चराका बारेमा जान्नका लागि चराविदलाई सम्पर्क मात्र गर्ने नभएर अन्य थुप्रै प्रयत्नहरू गर्ने गरेका छन् । सुरु सुरुमा इन्टरनेटमा लेखहरू खोजेर चराका बारेमा ज्ञान हासिल गरेका उनले त्यसयता आफ्नो ज्ञानको दायरा बढाउनका लागि नेपाल तथा भारतमा आयोजना गरिएका प्रकृति संरक्षणसम्बन्धी विभिन्न कार्यक्रमहरूमा पनि भाग लिएका छन् । चरा र तिनका आवाजका बारेमा महिनौँ अध्ययन गरेपछि अहिले उनी झन्डै १०० प्रजातिका चराहरूलाई आवाज सुनेकै भरमा चिन्न सक्ने भएका छन् ।
फोटो स्टुडियो चलाएर र विवाह तथा कार्यक्रमहरूमा फोटो खिचेर जीविकोपार्जन गर्ने उनी यसरी चराको फोटोग्राफ्रीमा एकाग्र भएर लाग्दा उनको आम्दानीमा निकै असर परेको छ । चराको फोटो खिच्नका लागि कयौँ दिनसम्म यात्रा गर्नु पर्दा उनले फोटो स्टुडियो नै बन्द गरेर जानु पर्ने हुन्छ ।
उनकी श्रीमती निर्मला रानी खरेलका अनुसार उनले पुस्तक, लेन्स, क्यामेरा र चराहरूको अवलोकन गर्ने उपकरणमा मात्रै झन्डै ९ लाख नेपाली रुपियाँ खर्च गरिसकेका छन् । चरासम्बन्धी अनुसन्धानमा सघाउनका लागि मेचीनगर नगरपालिकाले उनको संरक्षण समाजलाई दिएको १ लाख ८० हजार रुपैयाँबाहेक उनले अरू अधिकांश खर्च आफैँ जुटाउँदै आएका छन् । आफ्नो श्रीमान् चरा खोज्दै जङ्गल-जङ्गल भौतारिएको देख्दा कुनै जनावरले आक्रमण पो गर्ला कि भन्ने डरले सताउने भए पनि आफूले श्रीमानको मनको हुटहुटी बुझेको निर्मला बताउँछिन् । ब्युटी पार्लर चलाएर आयआर्जन गरिरहेकी उनी भन्छिन्, “इन्टरनेटमा चराहरूकै खोजी गरेको, किताब पनि चराहरूको बारेमा धेरै किनेको देखेपछि बचत गरेको रकम समेत झिकेर लेन्स किनिदिएँ ।”
पहिले आफ्नो कार्यालयमा सगरमाथा, पोखरा र लुम्बिनी जस्ता चर्चित पर्यटकीय गन्तव्यको मात्र पोस्टर टाँसिने गरेकोमा अहिले भने खरेलको फोटोग्राफीले परिवर्तन ल्याएको पर्यटन कार्यालय काकडभिट्टा झापाका सूचना अधिकारी निरोज कट्टेल बताउँछन् । उनी भन्छन्, “हामीले ती सबै फोटो हटाएर खरेलले खिचेका फोटा राख्यौँ । यसको प्रभाव कार्यालयमा आउने नेपालका मात्रै नभएर विदेशी पर्यटकहरुले पनि कार्यालयको भित्तामा राखिएको फोटो हेरेर चासो दिएर चराहरूको विषयको सोधीखोजी गरेर सम्पर्क समेत गराइदिएका छौँ ।“
कट्टेलका अनुसार खरेलको कामको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्थानीय समुदायमा चराको महत्त्वका बारेमा जनचेतना बढ्नु हो । उनी भन्छन्, “एउटा सकारात्मक प्रभाव मेचीनगरमा चरा जीवनसँग जोडिएको रहेछ भनेर चिन्तन गर्न थालेका छन् ।”
मेचीनगर नगरपालिकाको मेयर गोपालचन्द्र बुढाथोकीको पनि कट्टेलकै जस्तो धारणा छ । उनी भन्छन्, “चरा मानव र प्रकृतिका लागि यति महत्त्वपूर्ण छ भन्ने मलाई नै थाहा थिएन । म जस्ता धेरैलाई उहाँले चरासँग मानव जीवन र प्रकृतिबिचको सम्बन्धका बारेमा बुझाइदिनुभएको छ…यसले मानिसमा पनि चरा मार्न नहुने रहेछ भन्ने सन्देश गएको छ ।”
खरेलले स्थापना गरेको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजमा नौ जना आधिकारिक पदाधिकारी छन् भने अन्य दजर्नौं मनिसहरूले पनि नाम दर्ता गरेका छन् । शिक्षक, व्यापारी, पसले र गृहिणीदेखि लिएर कृषक तथा स्थानीय मजदुरसम्मले चरा र संरक्षणसम्बन्धी गतिविधिका बारेमा नियमित रूपमा जानकारी प्राप्त गर्नका लागि यो समाजमा आफ्नो नाम दर्ता गराएका हुन् । समाजले हाल सरकारसमक्ष मेचीनगर नगरपालिकालाई चरा संरक्षित क्षेत्र बनाइदिन अनुरोध गर्दै त्यसको प्रस्तावना तयार पारिरहेको छ ।
खरेल भन्छन्, “यदि परिवारले मलाई नबुझिदिएको भए म यसरी यो काम गर्न सक्दिनँ थिएँ । फोटो स्टुडियो बन्दै गरेर चराको फोटो खोज्न निस्केको देखेर मेरो परिवारले मलाई कहिले पनि आम्दानी हुने मेसो स्टुडियो बन्द गरेर पैसै नआउने काममा किन कुँदेको भनेर कहिले सोधेनन् । बरू उल्टै मेरो रुचि देखेर फिक्स डिपोजिट गरेको रकम झिकेर क्यामेराको लेन्स किनिदिएपछि म झन् उत्साहित भए । त्यसैले यो बुझिदिएकामा म परिवारप्रति सदा ऋणी छु ।”