सुनिता न्यौपाने, जिपिजे नेपाल
वीरगंजको सार्वजनिक स्थलमा मोहर्रमको जुलुसमा झण्डा फहराउँदै मुस्लिमहरूको एक समूह। नेपालमा मुस्लिम समुदाय अझै पनि अल्पसङ्ख्यक समुदाय नै भए पनि उनीहरूको सङ्ख्या जुन रूपमा बढिरहेको छ हिन्दू राष्ट्रवादीहरूले त्यसलाई चिन्ताजनक मान्दै आएका छन्।
पर्सा जिल्ला, वीरगञ्ज, नेपाल — चैत महिनामा पर्ने हिन्दूहरूको महत्त्वपूर्ण पर्व हनुमान जयन्तीका दिनमा सम्साद अली आफ्नो किराना पसलमै बसिरहेका थिए। यो दिन रामायणमा उल्लिखित भगवान हनुमानको पुजाआजा गरी मनाइदै थियो। यहाँ यो चाड मनाउन थालेको यो तेस्रो वर्ष थियो। त्यतिकैमा दक्षिणपन्थी हिन्दू राष्ट्रवादी विश्व हिन्दू परिषद्को र्याली सुरु भयो।
मोटरसाइकलमा आएका युवाहरूले अलीको पसल नजिकै विभिन्न स्टन्टहरू देखाए। युवाहरूको अर्को झुण्ड आएर त्यहाँ नजिकै रहेको मुस्लिम वस्तीमा प्रवेश गर्यो र मस्जिद अगाडि होहल्ला गर्न थाल्यो।
उनीहरू भगवान रामको नाम लिएर “जय श्रीराम” नारा लगाउँदै थिए। परापूर्व कालदेखि भक्तिगानका रूपमा जपिँदै आएको यो मन्त्रमा पछिल्ला वर्षहरूमा राजनीतिक रङ मिसिँदै गएको छ। नारा लगाउँदै गर्दा डिजे पनि बजाइयो। एक घण्टासम्म होहल्ला र नाराबाजी चलेको अली बताउँछन्।
उनी भन्छन्, “सङ्गीतको स्पिकर यति ठुलो थियो कि पसलभित्रका टेबल र कुर्सीहरू हल्लिरहेका थिए। नारा लगाइरहेका युवाहरूले तरवार र लाठी बोकेका थिए, जसले गर्दा डरलाग्दो वातावरण सिर्जना भयो।”
त्यतिकैमा कसैले भीडलाई लक्षित गरेर ढुङ्गा हानेको र हिन्दू युवाहरू हिंस्रक भएको अली बताउँछन्। उनीहरूले उनका साथै अरू पसलहरूमा तोडफोड गर्न र लुटपाट मच्याउन थाले भने मोटरसाइकलहरू जलाउन थाले।
यो घटनामा प्रहरीसहित ३९ जना घाइते भएको स्थानीय प्रहरी बताउँछ। अवस्था नियन्त्रणमा ल्याउनका निम्ति प्रहरीले १४९ राउण्ड अश्रुग्याँस प्रहार गर्नु परेको थियो भने बेलुकीको ७:३० बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू लगाइएको थियो। कानुनी व्यवस्था कायम राख्न भनेर सेना परिचालन गरियो।
भारतको सिमानासँग जोडिएको यो सहरमा हिन्दू राष्ट्रवादीहरूले आयोजना गर्ने हरेक चाडपर्वहरूमा यस्तै खालका दृश्यहरू देखिने गरेको अली बताउँछन्। यो घटनाको केही महिनापछि अहिले काठमाडौंमा आयोजित आन्दोलनको चर्को दबाबले गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु परेको छ भने पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधस्वरूप सुरु भएको प्रदर्शनका क्रममा झन्डै ७३ जना व्यक्तिको मृत्यु भएको छ। सामाजिक सञ्जालहरूले नेपालको नियमावलीहरूबमोजिम तोकिएको समयभित्र सूचीकरण गर्न नआएका भन्दै ती सामाजिक सञ्जालहरू निष्क्रिय पारेको थियो। सरकारमा व्याप्त रहेको भ्रस्टाचारप्रति आक्रोशित रहेका जनता सरकारले झन् वाक् स्वतन्त्रता समेत दबाएपछि देशभर दङ्गा फैलिएका थिए। प्रदर्शनकारीहरूको भीडमा केही प्रदर्शनकारी भने देशमा राजतन्त्र फर्काउन र हिन्दू राष्ट्र कायम गर्न भनेर सडकमा निस्केका थिए।
काठमाडौंमा यस्तो ठुलो दङ्गा हुनुअघि देशभर र खास गरी भारतसँगको सीमा क्षेत्रमा विभिन्न र्यालीहरू निकालिएका थिए। ती र्यालीहरू खास गरी विश्व हिन्दू परिषद् जस्ता हिन्दू राष्ट्रवादी समूहहरूले आयोजना गरेका थिए। विश्व हिन्दू परिषद् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी एजेन्डा बोकेको मातृसंस्था राष्ट्रिय स्वयंसेवक सङ्घसँग आबद्ध सङ्गठन हो।
“हिन्दुत्व” का नामले परिचित यो हिन्दू राष्ट्रवादी दर्शन खुला सिमाना हुँदै भारतबाट नेपालमा प्रवेश गरिरहको छ। आरएसएसको नेपाली शाखा हिन्दू स्वयंसेवक सङ्घले यसको नेतृत्व गरिरहेको छ। (विश्व हिन्दू परिषद् हिन्दू स्वयंसेवक सङ्घको छाताभित्र पर्छ।)
यो दर्शनले गर्दा नेपाल र भारत दुवै देशमा हिंसा भड्किरहेको छ। यो अवस्था भारतमा एकदमै धेरै ट्रयाक गर्न सकिन्छ। नेपालमा पनि त्यस्तै अवस्था छ। तर भारतसँगको सिमानामा जोडिएका सहर तथा गाउँहरूमा हुने हिन्दू राष्ट्रवादीहरूको भेला दङ्गामा रूपान्तरण हुने गरेका छन्।




यी र्यालीमा भाग लिने मानिसहरू चाहिँ यस्ता र्याली हिंसात्मक भएको कुरा अस्वीकार गर्छन्।
र्यालीमा सहभागी गुड्डु शाह वीरगञ्ज र अन्य ठाउँमा आयोजना गरिएका यस्ता र्यालीले “यस ठाउँको सुन्दरतामा थप वृद्धि गरेको” बताउँछन्। उनी भन्छन्, “रथयात्रामार्फत हामी धर्म पालना गर्छौँ र यसले देवताहरूलाई प्रसन्न पार्छ भन्ने विश्वास गर्छौँ। यी कार्यक्रमहरू हामीले भगवानलाई पुकार्ने मुख्य तरिका बनेका छन्।”
तर, सांसद डा. अमरेश कुमार सिंह भने मुस्लिमहरूलाई उक्साउनका निम्ति यस्तो हिंसा गरिने बताउँछन्।
उनी भन्छन्, “धर्मनिरपेक्ष सरकारले हिन्दू धर्मलाई खतरामा पार्छ भन्ने उनीहरूको दाबी छ, जसले हिन्दूहरूलाई अडान लिन र यसको रक्षा गर्न बाध्य पार्छ। उनीहरूको तर्क छ कि हिन्दू राष्ट्र स्थापना गर्नु नै द्वन्द्व समाधान गर्ने एक मात्र तरिका हो।”
सिंह र अरूले यस वैचारिक घुसपैठलाई नेपालको सार्वभौमसत्ता र सुरक्षाका साथै धर्मनिरपेक्ष तथा बहुलवादी मूल्यमान्यताका लागि चुनौतीको रूपमा हेर्छन्।
नेपालमा अल्पसंख्यकका रूपमा रहेको मुस्लिम धर्मालम्बीको सङ्ख्या भने वृद्धि भइरहेको छ। संयुक्त राज्य अमेरिकाको राज्य विभागले उपलब्ध गराएको डेटाअनुसार सन् २०२० मा मुस्लिमहरूको सङ्ख्या कुल जनसङ्ख्याको झन्डै ४.४ प्रतिशत थियो। नेपालका मुस्लिमहरू अधिकांश सुन्नी छन्। त्यसको ठिक तीन वर्षपछि यो सङ्ख्या बढेर ५.१५ प्रतिशत पुगेको थियो भने यो अझै बढिरहेको छ। झन्डै ८१.५ जनसङ्ख्या हिन्दू रहे पनि नेपालमा मुस्लिम समुदायको जनासङ्ख्या वृद्धि भइरहेको देख्दा हिन्दू राष्ट्रवादीहरू चिन्तित छन्।
हिन्दू स्वयंसेवक सङ्घका कार्यकर्ता रञ्जित साह भन्छन्, “पहिले थोरै मुस्लिमहरू भए पनि तिनीहरूको सङ्ख्या अहिले बढेको छ र तिनीहरूले आफ्नो अधिकार दाबी गर्न थालेका छन्। जहाँ मुस्लिम जनसङ्ख्या बढ्छ, त्यहाँ अशान्ति आउँछ जुन विशेषता उनी उनीहरूको चरित्र र संस्कृतिलाई दिन्छन्।” हिंसा फैलाउने काम मुस्लिमहरूले नै गरिरहेको उनी बताउँछन्।
यसैबिच धार्मिक अल्पसंख्यकहरूले आफ्नो रक्षा गर्न वा प्रतिकार गर्न खोज्दा उनीहरूको जिउज्यान जोखिममा परिरहेको छ।




हिन्दू राज्य
नेपालमा परापूर्वकालदेखि बुद्ध धर्म र अन्य धर्महरूका साथै हिन्दू धर्म मानिँदै आइएको छ। तर इसाई धर्मालम्बीहरूले सन् १८५० को दशकदेखि १९०० को दशकसम्म संयुक्त राज्य अमेरिका र युरोपमा आफ्नो धर्म फैलाउनका लागि चलाएको तेस्रो ठूलो जागरणका नामले चिनिने वृहत् इसाई पुनरुत्थानका बेलादेखि मिसनरीहरू उल्लेख्य रूपमा एसिया छिर्न थालेका थिए। इसाई पुनरुत्थानका बेला नेपालमा राणा शासन चलिरहेको थियो। त्यस बेला गौहत्या गर्न निषेध लगाएर र विदेशी मिसनरीहरूलाई देशमा आउन रोक लगाएर नेपालमा हिन्दू पहिचानलाई बलियो बनाइएको थियो।
१९९० को संविधानमा नेपाललाई हिन्दू अधिराज्य घोषणा गरिएको थियो। यसले गर्दा १९२५ मा स्थापना गरिएको आरएसएसले नेपालमा आफ्नो प्रभाव बढाउँदै गयो। १९९१ मा हिन्दू स्वयंसेवक सङ्घको स्थापना भएको थियो।
माओवादी समूहसँगको लामो गृहयुद्धपछि २००६ मा हिन्दू राजतन्त्र हटाइएको थियो। उक्त द्वन्द्व चर्किनुमा नेपालका हिन्दू कुलीन र अल्पसंख्यक धार्मिक समूहहरूका बिचमा चल्दै आएको लामो तनावको पनि हात थियो। जनआन्दोलनपछि गठन भएको नयाँ सरकारले २००६ मा नेपाललाई धर्मनिरपेक्ष गणतान्त्रिक मुलुकका रूपमा घोषणा गरेको थियो। २००८ मा आएर यसले औपचारिकता प्राप्त गरेको थियो।
मोदीको हिन्दू राष्ट्रवादी पार्टी, भारतीय जनता पार्टीसँग आबद्ध भारतीय नेताहरूले यसलाई मन पराएका थिएनन्।
अहिले भारतको रक्षामन्त्री रहेका राजनाथ सिंहले २००६ मा भनेका थिए, “नेपालले आफ्नो वास्तविक पहिचान गुमाएर माओवादीको दबाबमा आएको कुरालाई बिजेपीले मन पराउन सक्दैन।”
त्यसयता आरएसएसले नेपालमा हिन्दू राज्य फर्काउने सरकार स्थापित गर्नका लागि सक्रिय रूपमा प्रयास गरिरहेको छ। हिन्दू सर्वोच्चताका लागि बाहिरी शक्तिहरू मात्रै नभएर हिन्दू राजतन्त्रमा फर्किने आन्तरिक आन्दोलनले पनि गति लिइरहेको छ । नेपालका राजनीतिक दलका नेताहरू र तिनका साझेदारहरूले भारतबाट छुट्टै पहिचान बनाउन खोजिरहेका छन् भने धेरैले हिन्दू सरकार गठन गर्नका लागि आरएसएसले गरिरहेको पहलको स्वागत गर्छन्।


प्रदर्शन र दङ्गा
दशकौंदेखि नेपालमा धार्मिक समूहहरूबिच हिंसा भड्किरहेको बेला सन् २००६ मा राजतन्त्रको पतनले थप ढोका खोलिदियो। त्यस वर्ष काठमाडौंमा विरोध प्रदर्शन भयो र वीरगन्जमा भएको दङ्गामा झन्डै ६ हजार हिन्दूहरूले हिन्दू राज्य पुनर्स्थापनाको माग गरेका थिए। आरएसएस समर्थित धेरै वटा हिन्दुत्व समूहहरू सञ्चालन गरिरहेको छाता सङ्गठन सङ्घ परिवारले धर्मनिरपेक्षताले मुस्लिम अतिवादलाई बढावा दिने चेतावनी दिएको थियो।
अहिले हिन्दू राष्ट्रवादी भेलाहरू प्रायः मुस्लिम बाहुल्यता रहेको क्षेत्रमा सञ्चालन गरिने गरेको मार्टिन चौतारीका अनुसन्धानकर्ता भास्कर गौतम बताउँछन्। प्रदर्शनकारीले हिन्दू राष्ट्रवादको प्रतीक भगवा रङको झण्डा फहराउँने गर्छन्।
गौतम भन्छन्, “युवाहरू बढ्दो रूपमा आक्रामक भएका छन्, मुस्लिम विरोधी नारा लगाउँछन् र तनाव उत्पन्न गर्छन्। भगवा झण्डा बोकेर, तिनीहरूले यी छिमेकहरूलाई भगवा प्रतीकात्मकताको प्रदर्शनमा परिणत गर्छन्, जसले गर्दा साम्प्रदायिक अशान्ति बढाउने र हिंसात्मक झडपहरूको जोखिम बढाउने अवस्थाहरू बढ्छन्।”
तर हिन्दू नेताहरू भने आफूले हिंसा भड्काइरहेको कुरा ठाडै अस्वीकार गर्छन्। उनीहरू हिन्दू स्वयंसेवक सङ्घले गर्दा नेपाली जनताहरूलाई अझ राम्रो भएको बताउँछन्।
प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक तथा हिन्दू स्वयंसेवक सङ्घका राष्ट्रिय सङ्घ चालक कल्याण तिमल्सिना भन्छन्, “हाम्रो प्राथमिक ध्यान व्यक्ति निर्माणमा छ। हामी निस्वार्थ सामाजिक सेवा गर्छौं र समुदायहरूसँग सक्रिय रूपमा संलग्न हुन्छौँ।”


हिन्दू स्वयंसेवक सङ्घले ६७ दुर्गम क्षेत्रमा १,०३२ वटा एकल विद्यालयहरू खोलेको र ती विद्यालयमा झन्डै ३ लाख विद्यार्थीहरू भर्ना भएको तिमल्सिना बताउँछन्। यस्ता एकल विद्यालयहरूमा एक जना मात्र शिक्षक हुन्छन् र आरएसएसको दर्शनअनुसारको हिन्दू मान्यताहरूमा आधारित पाठ्यक्रमअनुसार हरेक दिन दुई घण्टा पढाइन्छ। यो सङ्गठनले २६ वटा पशुपति शिक्षा मन्दिर, निजी धार्मिक विद्यालयहरू पनि सञ्चालन गरिरहेको छ र २७० देखि २८० जना प्रचारकहरू रहेको दाबी गर्छ। यी प्रचारकहरूले आफ्नो सम्पूर्ण जीवन हिन्दू स्वयंसेवक सङ्घलाई सुम्पेका छन् र उनीहरू नेपालभर काम गर्छन्।
तिमल्सिना भन्छन्, “हाम्रो लक्ष्य भनेको व्यक्तित्व विकास गर्नु र बालबालिकाको जग बलियो बनाउनु हो।”
प्रदेश सभा सदस्य रहबर अन्सारी भने हिन्दू स्वयंसेवक सङ्घका विद्यालय र अन्य पहलहरू कुटिल चाल भएको बताउँछन्। उनी भन्छन्, “उनीहरू समाज सेवा र धर्मको आडमा समाजमा प्रवेश गर्छन् तर विभाजन फैलाउँछन्।”
हिन्दू राष्ट्रवादीहरूले युवाहरूलाई अपराध गर्न “परिचालन गर्ने र ब्रेन वास गरेको उनी बताउँछन्।” उनी थप्छन्, “वास्तविकतामा तिनीहरूको गतिविधिले वास्तविक सामाजिक सेवाको गर्दैन।”
तर तिमल्सिना भने हिन्दू स्वयंसेवक सङ्घका गतिविधिहरू प्रतिकूलताका बिच भइरहेको बताउँछन्। उनी भन्छन्, “हिन्दूहरूमाथि आक्रमण भइरहेको छ र उनीहरूलाई धर्म परिवर्तन गराउने प्रयास भइरहेको छ।”
धर्म परिवर्तन गर्न वा अर्को धर्मलाई अवमूल्यन गर्न नेपालको संविधानले निषेध गरेको छ। हिन्दू स्वयंसेवक सङ्घले नियमित रूपमा यही कानुनको हवाला दिँदै आएको छ। यही कानुनअनुसार यो सङ्गठनले प्रहरीमा उजुरीहरू दर्ता गरेको छ र मानिसहरूलाई मुद्धा चलाउनुका साथै जेल समेत पठाएको तिमल्सिना बताउँछन्।
यो सबै कुरा हिन्दू स्वयंसेवक सङ्घको नेपाल र भारतलाई एकताबद्ध गर्ने लक्ष्यसँग जोडिएको छ।
तिमल्सिना भन्छन्, “भौगोलिक सीमानाले दुई देशहरूलाई अलग गरे पनि सांस्कृतिक रूपमा, हामी उस्तै छौँ र त्यस्तै रहनु पर्छ।”


हिन्दूवादीको अभिभावक
आरएसएस समर्थित हिन्दू सङ्गठनहरू बलियो हुँदै जाँदा नेपाल सरकार भारतसँगको सम्बन्ध बिग्रने कुरामा सजग छ।
राजतन्त्रका बेलामा राजाहरूले ूहिन्दू धर्मको संरक्षकू को भूमिका निर्वाह गर्ने गरेको अनुसन्धानकर्ता गौतम बताउँछन्।
तर राजतन्त्रको विघटन र शाही अधिकारको पतनपछि आरएसएसले “हिन्दू राष्ट्रको निर्माणको लागि आफ्नो प्रयासलाई तीव्र बनाएको” गौतम बताउँछन्।
विगतको उदाहरणले गर्दा पनि यो कुरा चिन्तित पार्ने खालको छ। सरकारले २०१५ मा अन्तरिम संविधान प्रतिस्थापन गर्दै नयाँ संविधान अनुमोदन गरेको थियो। धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता सुनिश्चित गर्दै अनादिकालदेखि चलिआएका धार्मिक परम्पराहरूको संरक्षण गर्ने उक्त संविधानमा उल्लेख गरिएको छ। संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको छ।
संविधान जारी भएको केही दिनपछि मुख्यतया हिन्दू धर्म मान्ने र सांस्कृतिक रूपमा भारतसँग जोडिएका नेपालको मधेसी समूहले यो संविधानको चर्को विरोध गरेका थिए र भारत सरकार र प्रहरी बलको अनौपचारिक समर्थनमा नेपालमा नाकाबन्दी लागेको थियो।
भारत सरकारले आफ्नो संलग्नता अस्वीकार गरे पनि त्यस बेला सत्तारुढ भाजपा पार्टीले मधेसीहरूलाई प्रभाव पारेको बुझिएको छ। त्यही बेला भारतीय हिन्दू समूहहरूले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र कायम राख्ने धारणामा पुनर्विचार गर्न नेपाली नेताहरूलाई दबाब दिएका थिए।
नाकाबन्दीले नेपालको अर्थतन्त्रलाई ध्वस्त हुने संघारमा पुर्याएको थियो। मधेसीहरूको राजनीतिक र आर्थिक प्रतिनिधित्व बढाउने ग्यारेन्टी गर्न संविधान संशोधन गरिएपछि उनीहरूले पाँच महिनापछि बल्ल नाकाबन्दी हटाएका थिए।
आरएसएस र भारत सरकारले नेपालको मामिलामा कडा अडान लिँदा उक्त कुरा नमानेका खण्डमा भारतले यसरी नै प्रतिशोध देखाउन सक्ने कुरामा नेपाल सरकार चिन्तित रहेको राजनीतिक विश्लेषक कृष्ण हाछेथु बताउँछन्।


धर्म कि दङ्गा?
झन्डै २ लाख ७० हजार मानिसको बसोबास रहेको वीरगञ्ज नेपालकै पाँचौँ ठुलो सहर हो र यो भारत र नेपालबिच यात्रा गर्नका लागि एउटा मुख्य नाका हो। २०१५ को नाकाबन्दी यहीँ गरिएको थियो भने अप्रिलको दङ्गा पनि यही फैलिएको थियो।
अहिले हप्तैपिच्छे जस्तो यहाँ हिन्दूहरूले र्याली निकाल्ने गरेको स्थानीयहरू बताउँछन्।
हिन्दू युवाहरूले धार्मिक गतिविधिको आडमा मुस्लिम वस्तीमा प्रवेश गरेर हिंसा भड्काउने गरेको स्थानीयवासी मोहम्मद जफरन बताउँछन्। उनका अनुसार प्रदर्शनकारीहरूले चर्को सङ्गीत घन्काउँदै “मुस्लिमहरूलाई भगाउनुहोस्, देश बचाउनुहोस् र हिन्दुस्तान अमर रहोस्” जस्ता नाराहरू लगाउने गर्छन्।
चैतमा पसल तोडफोड गरिएका अली यो बेकारको कुरा भएको बताउँछन।
उनी भन्छन्, “न्यायपालिका, प्रहरी, प्रशासन र मन्त्रीहरू पनि-सबै हिन्दूहरूका छन् र अझै पनि तिनीहरू भन्छन् कि हामी असुरक्षित महसुस गर्छौँ” उनी प्रश्न गर्छन्, “८१ प्रतिशत हिन्दूहरू हामीमध्ये केवल ५ प्रतिशतसँग के साँच्चै डराउँछन् ?”
भुल सुधार गरिएको सूचना: यो लेखको अघिल्लो संस्करणमा पहिलो फोटोको क्याप्सनमा देखाइएको समूहलाई गलत रूपमा पहिचान गरिएको थियो। उक्त त्रुटिका लागि ग्लोबल प्रेस जर्नल क्षमाप्रार्थी छ।
सुनिता न्यौपाने नेपालको काठमाडौंस्थित रिपोर्टर-इन रेसिडेन्स हुन् । ग्लोबल प्रेस जर्नलमा काम गर्नुअघि सुनिताले नयाँ पत्रिका, रातोपाटी.कम र अन्नपूर्ण पोस्टलगायतका नेपालका शीर्ष मिडिया आउटलेटमा काम गरेकी थिइन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेकी उनले आफ्नो पत्रकारितामा कानुनी दृष्टिकोण ल्याउँछिन् । उनको पत्रकारिता सामाजिक समस्या र मानव अधिकारमा केन्द्रित हुन्छ । उनले लैङ्गिक हिंसा, एलजिबिटिक्यू+ का अधिकार, जातीय विभेद र जनस्वास्थ्यसम्बन्धी चुनौती जस्ता विषयमा रिपोर्टिङ गर्छिन् ।
अनुवाद नोट
जिपिजेका अनुप जोशीले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेका हुन्।