Nepal

आप्रवासी नेपाली कामदारहरूले बाँझोपनको संकट भोगिरहेका छन् ।

काठमाडौँको एउटा सरकारी अस्पतालमा बाँझोपनको उपचारका लागि आउने मध्ये आधा खाडी देशहरुमा काम गर्ने पुरुषहरु छन् ।

Read this story in

Publication Date

Nepali Migrant Workers Face an Infertility Crisis

सुनिता न्यौपाने, जिपिजे नेपाल

भारती र उनकी श्रीमती चौलागाईं काठमाडौंको परोपकार प्रसूति तथा महिला अस्पतालको बाँझोपन एकाई बाहिर उत्सुकतापूर्वक डाक्टरलाई पर्खिरहेका छन्। कतारमा गगनचुम्बी भवनहरू रङ्गाउने काममा एक दशक काम गरेपछि भारतीमा शुक्राणुको संख्या कम भएको पत्ता लागेको थियो । खाडी मुलुकहरुमा लामो समय गर्मीको जोखिममा काम गरिरहेका नेपालीक कामदारहरुलाई यस्तो समस्या देखिएको छ ।

Publication Date

काठमाडौं, नेपाल — आफ्ना छोराछोरीहरूलाई देशकै उत्कृष्ट बोर्डिङ स्कूलमा पठाउने एउटै मात्र सपना बोकेर १८ वर्षको उमेरमा भारतीले नेपालको काभ्रेपलाञ्चोक जिल्ला छाडेका थिए।

लक्ष्यलाई पछ्याउँदै प्रति महिना ९०० रियाल (अमेरिकी डलर २४७.२५) कमाउन कतारको चम्किला गगनचुम्बी भवनहरूमा दैनिक १२ घण्टा ३० किलो (६६ पाउण्ड) तौलसम्मका रङ्ग बाल्टीहरू उनको शरिरसँगै झुण्डिएका थिए ।

समाजमा कलङ्कित हुने डरले आफ्नो थर मात्र प्रयोग गर्न अनुरोध गर्ने भारतीले कतारको कठोर गर्मीमा एक दशक बिताए ।

अहिले २९ वर्षको उमेरमा भारती र उनकी श्रीमती काठमाडौंको परोपकार प्रसूति तथा महिला अस्पतालको बाँझोपन एकाई बाहिरको हलमा आधा दर्जन अन्य जोडीहरूसँग चिन्तित भएर बसिरहेका छन् ।

कुनै समय खाडीको कठीन परिवेशमा कामको शिलशिलामा गएका उनीहरु अहिले बाँझोपन र त्यसबाट पैदा भएको त्रासको साझा समस्या लिएर एकै ठाँउमा भेट भएका छन्।

लगभग ३५ लाख नेपालीहरू विदेशमा प्रायः खाडी राष्ट्रहरूमा कडा परिश्रम गर्छन्। उनीहरूको रेमिट्यान्सले नेपालमा गरिबी २७ प्रतिशतले घटेको अनुमान गरिन्छ। साथै यसबाट अनगिन्ती परिवारहरूलाई पालनपोषणमा मद्दत पनि पुगेको छ । तर, यी आर्थिक लाभहरूको लागि उनीहरूले ठूलो क्षति भोगिरहेका छन्। चर्को गर्मीसँगै कठोर कामले थकित र प्रायः बाँझोपन भएर उनीहरु घर फर्कनु परेको छ ।

पूर्वी नेपालका १८६ जना बाँझोपन भएका पुरुषहरूमा गरिएको एक अध्ययनले ४६ प्रतिशत खाडी मुलुकबाट फर्किएका पुरुषहरु रहेको पत्ता लगाएको छ । उक्त अध्ययनमा वैदेशिक रोजगारी जोखिमपूर्ण कारकको रूपमा देखिएको छ।

आप्रवासन र बाँझोपन बीचको सम्बन्धलाई पूर्ण रूपमा बुझ्न थप अनुसन्धान आवश्यक भएतापनि चिकित्सकहरूले खाडीमा पुरुषहरूले भोग्ने अत्याधिक गर्मी, प्रायः कठोर र दुर्व्यवहारपूर्ण अवस्थाहरूलाई सम्भावित कारकको रूपमा औंल्याएका छन्।

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

काठमाडौंको परोपकार प्रसूति तथा महिला अस्पताल बाहिर बिरामीहरू आफ्नो पालो पर्खिरहेका छन्। योे सरकारी अस्पतालले बाँझोपनको सामना गरिरहेका आप्रवासी कामदारहरूलाई पनि सेवा प्रदान गर्दछ । खाडी मुलुकमा कठोर काम गर्ने अवस्थाका कारण यो समस्या बढ्दै गएको डाक्टरहरु बताउँछन् ।

परोपकार प्रसूति तथा महिला अस्पतालको बाँझोपन केन्द्रकी भ्रूण विशेषज्ञ डाक्टर बिनिता थापाले युवाहरुको निरन्तर पलायनले प्रजनन क्षमतामा ह्रास ल्याउन सक्ने भएकाले समस्या झन विकराल हुने चेतावनी दिन्छिन्। खाडीबाट फर्किएकाहरू मध्ये केहि २१ वर्षका छन् र उनीहरूको अहिले नै शुक्रकीटको गणना शून्य रहेको उनी बताउँछिन् ।

अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर ज्वाला थापा भन्छिन्, “ बाँझोपन समस्या लिएर हाम्रो अस्पतालमा आउने मानिसहरुमध्ये आधा खाडीबाट फर्किएकाहरु छन् ।”

यो संकट बढ्दै गएपछि अस्पतालले डेढ वर्षअघि वीर्य, अण्डा र भ्रूण भण्डारणको सुविधा थालेको थियो। नेपालमा यस्तो सेवा प्रदान गर्ने यो एक मात्र सरकारी अस्पताल हो र यसले यस्ता सेवाहरू सहुलियत दरमा प्रदान गर्दछ। जसले गर्दा निजी क्लिनिकहरू भन्दा उपचार बढी सर्वसुलभ रहेको छ।

इनभिट्रो फर्टिलाइजेशन (Invitro fertilization) सुरु गर्ने यो नेपालको पहिलो सरकारी अस्पताल पनि हो । निजी क्लिनिकहरूले यही सेवाको लागि १० लाखदेखि १२ लाख नेपाली रुपैयाँ (७,३०० देखि ८,७५० अमेरिकी डलर) शुल्क लिन्छन् तर यो अस्पताल त्यही सेवाका लागि २,५०,००० रुपैयाँ (१,८२० अमेरिकी डलर) जति कम लाग्ने डाक्टर बिनिता थापा बताउँछिन् ।

भिसा र करार पत्रको शर्तहरूको कारण प्रत्येक दुई वर्षमा केही महिना मात्र घरमा फर्किन पाउने आप्रवासीहरूलाई यसले मद्दत पुग्ने थापा बताउँछिन् । खाडीमा कडा किसिमको भिसा सम्बन्धि नियमहरूले गर्दा धेरैजसो कामदारहरूले आफ्नो परिवार आफुसँगै लैजान पाएका छैनन्।

भारती विगत दश वर्षमा चार चार वषको अन्तरालमा दुई महिनाका लागि नेपाल फर्किएका थिए। उनी भछन् “मैले नेपालमा आफ्नो लागि कुनै सभावना भेटाउन सकिन् । खाडीमा जानु बाहेक मसँग अर्को विकल्प थिएन् ।” उनकी ९ वर्षकी छोरी २ कक्षामा पढ्छिन् र उनलाई अब छोरा जमाउनका लागि परिवारको दबाब छ ।

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

डाक्टर बिनिता थापा काठमाडौंको परोपकार प्रसूति तथा महिला अस्पतालमा माइक्रोस्कोपमा वीर्यको नमूना जाँच गरिहेकी छन् ।

यस वर्षको सुरुमै डाक्टरहरूले भारतीलाई कम शुक्राणु गणना (ओलिगोस्पर्मिया) जसले गर्दा गर्भधारण गर्न गाह्रो बनाउने अवस्थाको निदान गरेका छन् । उनकी श्रीमती चौलागाईं मौन छिन् र दोष आफैलाई दिन्छिन् ।

उनको श्रीमती चौंलागाई भन्छिन्, “घरमा छोरा जन्माउनका लागि दिनदिनै मैले सबैको तिखो वचन सहनुपर्छ। आफन्तलाई थाहा छैन समस्या मसँग नभई मेरो श्रीमानमा छ। उनी विदेशमा थिए र चाँडै नै फेरी विदेश जानेछन्। तर, सबैको वचन मैले सुन्नुपर्छ”,उनी निराश हुन्छिन्।

अस्पतालमा पर्खिरहँदा भारती श्रीमतीकी हात समात्छन्। विगत एक वर्षदेखि दम्पतीले फेरि गर्भधारण गर्ने आशा राखेका छन् । उनी भन्छन्, “मसँग खाडी जानुको विकल्प थिएन, नेपालमा मेरो लागि कुनै अवसर थिएन।”

अस्पतालका निर्देशक तथा प्रजनन् स्वास्थ्य विशेषज्ञ डाक्टर श्रीप्रसाद अधिकारी लामो समयसम्म गर्मीको सम्पर्कमा रहँदा पुरुषको प्रजनन् क्षमतामा हानि पुग्ने बताउँछन् । उनी भन्छन्, “उच्च गर्मीमा लामो समयसम्म काम गर्दा, अण्डरवेयरले टेस्टिकल्समा ताप प्रदान गर्छ। यसले स्पर्म ड्यामेज हुन जान्छ।”

उनी भन्छन्, “हामी आईभिएफमा लागत कम लिएपनि यसको लागि मानिसहरू महिनौंसम्म अस्पताल धाइरहनुपर्छ। काठमाडौं भन्दा बाहिरमा मानिसहरूका लागि महिनौंसम्म काठमाडौंमा बस्दा यो महङ्गो पर्न जान्छ।”

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

भारती र उनकी श्रीमती चौलागाईं काठमाडौंको परोपकार प्रसूति तथा महिला अस्पतालको बाँझोपन एकाइ बाहिर तस्बिर खिचाउँदै छन् ।

शुक्राणु उत्पादनको लागि अण्डकोषहरू शीतल रहन शरीर बाहिर बस्छन्। लामो समयसम्म गर्मीको सम्पर्कमा रहँदा शुक्राणु संख्या र गुणस्तर दुवै घट्छ। अण्डकोषको तापक्रममा प्रत्येक एक डिग्री सेल्सियस वृद्धि हुँदा शुक्राणु संख्यामा १४ प्रतिशतले कम हुन्छ।

खाडी सहयोग परिषद (The Gulf Cooperation Council) का देशहरू बहराइन, कतार, साउदी अरेबिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्सले जुलाई २०२४ मा रेकर्ड तोड्ने गर्मी भएको जनाएको थियो। रियादको तापक्रम ४६ डिग्री सेल्सियस (११६ फरेनहाइट) पुगेको थियो। बढ्दो तापक्रमको बावजुद अधिकांश खाडी राष्ट्रहरूमा दिउँसो काम गर्न नपाउने कडा प्रतिबन्धको अभाव रहेको छ। साथै ह्युमन राइट्स वाच (Human Rights Watch) ले प्रतिबेदनमा उल्लेख गरे अनुसार, यी राष्ट्रहरूले गर्मीको तनाव मापन गर्ने विश्वव्यापी मापदण्ड वेट बल्ब ग्लोब (Wet Bulb Globe) तापक्रम सूचकांक प्रयोग गर्दैनन्।

तैपनि खाडी राष्ट्र नेपाली प्रवासीहरूको लागि शीर्ष गन्तव्य बनेको छ।१९७० को

“मसँग खाडी जानुको विकल्प थिएन, नेपालमा मेरो लागि कुनै अवसर थिएन।”

दशकमा मध्यपूर्वमा तेलको उछाल पछि नेपालबाट श्रमिकहरु विदेशीने क्रम बढेको थियो। निर्माण, घरेलु र सेवा क्षेत्रमा विदेशी कामदारहरू भित्रिएका थिए। सन २०२४ सम्ममा कतार र साउदी अरेबियाले मात्र २७ लाख नेपाली कामदारहरूलाई काम दिएका थिए जसले गर्दा वैदेशिक रोजगार नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण हिस्सा बनेको छ।

खाडी देशहरूमा विशेषगरी गर्मीको समयमा निर्देशित नियममा रहेर कार्य अवधि तोक्नको लागि जोड दिइरहेका बताउँछन् नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारी ।

विदेशमा आप्रवासीको कामका चुनौतीहरूलाई स्वीकार गर्दै नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले कडा द्विपक्षीय सम्झौताहरू लागू गर्नाले नेपाली कामदारहरूको विश्वव्यापी माग घट्न सक्ने चेतावनी दिएका छन्।

घिमिर भन्छन्, “अन्तराष्ट्रिय श्रम बजार धेरै ठूलो छ। हामीले द्विपक्षीय समझौतामा कडा सीमा राख्यौं भने हाम्रा श्रमिकहरू अरू देशका लागि प्राथमिकतामा पर्ने छैनन्। अन्तराष्ट्रिय बजारमा हाम्रा एजेण्डा बिक्री हुने छेनन्। यसबाट घाटा हामीलाई नै हुनेछ।”

महिनौंको असफल उपचार पछि डाक्टरहरूले भारतीलाई अन्तिम विकल्पको रूपमा दाताको शुक्रकीटबाट गर्भाधान गर्न प्रस्ताव गरे। त्यो प्रक्रियाले उनकी श्रीमतीलाई बच्चा त दिनेछ तर उनको जैविक छोराको सपना भने समाप्त गर्नेछ।

यो प्रकृयाको क्रममा भारती उनकी श्रीमती गर्भवती नभएसम्म नेपालमै बसिरहेका छन्। त्यसपछि उनीसँग काम गर्न विदेश फर्कनु बाहेक अरू कुनै विकल्प नभएको उनी बताउँछन् ।

सुनिता न्यौपानेग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।


यो लेख ग्लोबल प्रेसका साझेदारहरू लिङ्गपर्फेक्टद्वारा अनुवाद गरिएको हो।