बर्दिया, नेपाल – महिनौंदेखि भदै थारूले देखेको सपनाको एउटा संस्करण हो यो। सपनामा विश्वास गर्नेहरूका लागि, यसको अर्थ के हुन सक्छ भनेर उसले सोचिरहे। जनवरी २००४ को त्यो बिहान, ३६ वर्षीय थारू बिउँझे र आफ्नो सपनालाई जीवन्त रूपमा सम्झिएस् पश्चिम नेपालको गौरी महिला सामुदायिक वनमा बाघले हरिणलाई छिटो(छिटो खाइरहेको थियो। यो सपनाबारे सोच्दा उनलाई बेचैन बनायो र छिट्टै केही नराम्रो हुनेछ भन्ने लागिरहेको थियो।
तर, सोही दिन त्यति बेला उक्त सामुदायिक वनका अध्यक्ष रहेका भदै थारू र उनकी श्रीमती, त्यस क्षेत्रका अन्य मानिसहरूझैँ, घर छाउने खर काट्न जङ्गल पसे।
दिउँसोको समय थियो, र कुहिरो लागेको मौसम थियो। सामुदायिक वन अग्ला खरहरूले भरिएको थियो र खर निकै बाक्लो थियो जना मानिस वा जनावरहरू सजिलै लुक्न साथे। भदै थारू खरको झाडी नजिकै के पुगेका थिए एउटा बाघ उनीमाथि झम्टियो। भदै थारूले भाग्ने मौका नै पाएनन्, उनी बेहोश जस्तै भए। बाघको पन्जाले उनको आँखा निकाल्दियो। नराम्ररी चोट लागेको भए पनि, थारू भन्छन्, उनले करिब पाँच मिनेट सम्म बाघसँग कुस्ती खेले। “मैले कहिल्यै सोचेको थिइनँ म बाघसँग यसरी लड्न सक्छु भनेर,” उनी भन्छन्। तर थारूले बाघलाई हान्न थालेपछि बाघ झाडीतिर गयो। बाघको गर्जन जङ्गलमा गुन्जियो। भदै थारूलाई उनकी श्रीमती र केही स्थानीय गाउँलेले हतारहतार नजिकको अस्पताल लिएर गए, उनको आँखा बाहिर निस्केर झुण्डिएको थियो।
आज २०२४ मा आइपुग्दा त्यो घटना भएको २० वर्ष बितिसकेको छ। अहिले ५६ वर्षका भदै थारू नेपालमा बाघ संरक्षणका लागि चिरपरिचित नाम हो। उनले नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट सन् २०१७ को सम्मान र विश्व वन्यजन्तु कोष नेपालबाट सन् २००४ मा सामुदायिक वनका तर्फबाट अब्राहम संरक्षण पुरस्कार सहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिसकेका छन्। विश्व प्रकृति कोष ९वर्ल्डवाइड फन्ड फर नेचर० अन्तर्गतको स्थानीय शाखा विश्व वन्यजन्तु कोष नेपालले प्रदान गर्ने अब्राहम संरक्षण पुरस्कार नेपालको जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने सामुदायिक तहका प्रयासहरूलाई सम्मानस्वरूप दिइने पुरस्कार हो।
बाघ संरक्षणमा थारूको योगदानले उनलाई देशका लागि बहुमूल्य स्रोत बनाएको निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक अजय कार्की बताउँछन्।
तर थारूको आलोचक पनि उत्तिकै छन्। नेपालमा बाघको सङ्ख्या बढेसँगै बाघको आक्रमण पनि बढेको छ।
नयाँ दृष्टिकोण
बाघको आक्रमणपछि मात्रै थारू बाघ संरक्षणको काममा पूर्ण रूपमा लागेका हुन्। सुरुमा बाघको आक्रमणले दिएको घाउको पीडाले उनलाई निकै रिस उठेको थियो र बाघ नमारी छोड्दिन भन्ने लागेको थियो, उनी भन्छन्। तर घाउ निको हुँदै गाएपछि उनको मन बदलियो। जङ्गल जोगाउनु आफ्नो काम हो भनेर भदै थारू सधैँ सोच्ने गर्थे, तर त्यो आक्रमणपछि बाघको संरक्षण गर्नु उनको कर्तव्य बन्यो। उनी भन्छन्, मानिसहरू जथाभावी बाघको घरको रूपमा रहेको जङ्गलमा जाँदा “बाघले आक्रमण गर्नु स्वाभाविक थियो।”
उनको लगाव बाघ संरक्षण गर्ने नेपालको आकांक्षासँग मिलेको थियो।
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको विश्व बाघ सम्मेलनमा अन्य १२ देशसँगै नेपाल पनि सहभागी भएको थियो। उक्त शिखर सम्मेलनमा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार विश्वव्यापी रूपमा बाघको सङ्ख्या १ लाखबाट बाट ३,५०० भन्दा तल झरेको देखिएको थियो। सो सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा यहाँको बाघको सङ्ख्या १२१ बाट दोब्बर २५० बनाउने वाचा गरेको थियो। नेपालले त्यो लक्ष्य हासिल गर्यो, र यसबापत सन् २०२२ मा अन्तर्राष्ट्रिय वातावरणीय समूहहरूको कन्सोर्टियमबाट टी-इन्टु-टू (TX2) अवार्ड र उत्कृष्ट संरक्षण अन्तर्गतको कन्जरभेसन एक्सिलेन्स अवार्ड प्राप्त गर्यो।
टी-इन्टु-टू (TX2) अवार्ड, जसलाई सरल अर्थमा “बाघ गुणा दुई” अर्थात् बाघको सङ्ख्या दुई गुणा भन्ने बुझिन्छ। यस अवार्डले नेपालको सबैभन्दा ठूलो मध्येको एक बर्दिया राष्ट्रिय निकुञ्जको भूमिकालाई प्रकाश पर्यो। नेपालमा भएका ३ सय ५५ जंगली बाघमध्ये बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै ११७ वटा छन्। यस राष्ट्रिय निकुञ्जमा गरेको सराहनीय काममा अग्रपंक्तिमा भदै थारू थिए।
तर भदै थारूको यो प्रसिद्धि मूल्य चुकाएर आएको हो।
बाघको सङ्ख्या बढेसँगै बाघ र स्थानीय ग्रामीण समुदायबीच द्वन्द्व पनि बढेको छ। सन् २०१२-२०१३ मा, देशभरि बाघको आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो; २०२१-२०२२ मा यो सङ्ख्या बढेर २१ पुग्यो। निकुञ्ज तथा वन्यजन्तु विभागको तथ्यांकअनुसार सन् २०१८ यता पाँचवटा राष्ट्रिय वन्यजन्तु निकुञ्जमा बाघको आक्रमणबाट ५९ जनाको मृत्यु भइसकेको छ। मान्छे र बाघको द्वन्द्व बढेकोमा कुनै शंका छैन, तर धेरैजसो घटना बाघको बासस्थानतर्फ मानिसहरू जानाजान जाने भएकाले हुने गरेको हो, प्रवक्ता वेदकुमार ढकाल बताउँछन्।
जति धेरै मानिसहरू मर्छन्, यसको दोष यी ठूला बिराला जातिलाई बचाउन अग्रपंक्तिमा खटिने व्यक्तिमाथि आइपर्छ। तर भदै थारू बाघको हेरचाह गर्नु आफ्नो तृष्णा रहेको बताउँछन्। बाहिर जाँदा “जङ्गलमा बाघ देखिनँ भने आनन्द नै आउँदैन,” उनी भन्छन्।
पीडादेखि गर्वसम्म
भदै थारूको जन्म मधुवन नगरपालिकाको एउटा गाउँमा रैथाने थारू जनजातिमा भएको थियो। उनको परिवार जीविकोपार्जनको लागि कृषिमा निर्भर थियो, र अझै पनि छ। उनले प्राथमिक विद्यालयमा भर्ना भए तर कहिल्यै परीक्षा दिएनन्, र बरू खेतीमा ध्यान दिए।
हँसिलो आनीबानी, गोलो अनुहार भएका थारूको अनुहारमा सधैँ मुस्कान हुन्छ र यो सँगै उनको अनुहारमा दुई दशकअघिको घटनालाई सम्झाउने घाउ पनि छ। त्यो बेलाको बाघको आक्रमणले उनको जीवन नै बदलियो। घाउ निको पार्न उनको उपचार एक वर्षसम्म चल्यो, त्यसपछि उनी सामान्य रूपमा काम गर्न सक्षम भए, तर उनको छाती र हातमा लागेको चोटबाट पूर्ण रूपमा निको हुन तीन वर्ष लाग्यो।
थारूले त्यो दिनको घटना कथा सुस्केरा हाल्दै गर्वका साथ सुनाउँछन्। आफ्नो बैठक कोठाको खैरो भित्तामा, घर भित्र प्रवेश गर्ने ढोकामाथि, आफूले पाएका आठवटा पुरस्कारहरू राम्रोसँग फ्रेममा सजाएर राखेका छन्। अर्को भित्तामा गर्जिरहेको देखिने बाघको ठूलो पोस्टर छ।
निको भइसकेपछि भदै थारूले सन् मा आफ्नो सामुदायिक वनमा वन्यजन्तुको चोरीशिकार रोक्न पाँच सदस्यीय चोरी शिकार नियन्त्रण कार्यदल गठन गर्न सहयोग गरे। विभिन्न सामुदायिक वनका स्थानीय उपभोक्ताहरूसँग आफै भेटघाट गरी र वन निकाय एवम् प्रहरीसँग मिलेर काम गरी, भदै थारूले चोरी शिकारीहरूलाई रोक्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। गौरी महिला सामुदायिक वन हेर्ने समितिको अध्यक्ष सँगसँगै उनी ३८ सामुदायिक वनको छाता सङ्गठन खाता सामुदायिक वन समन्वय समितिको उपाध्यक्ष पनि हुन्।
वनभित्र चरिचरनका लागि मध्यवर्ती क्षेत्रको निर्माणदेखि लिएर बाघका लागि पानी खाने पोखरी निर्माण गर्ने, घाइते भएका बाघबारे तत्काल सम्बन्धित कार्यालयमा खबर गर्नेसम्मका कामहरू गरी भदै थारूले बाघ संरक्षणका सबै पक्षमा आफूलाई सहभागी गराएका छन्। “उनले स्थानीय बासिन्दालाई वन शिष्टाचार र बाघको क्षेत्रमा अचानक पुग्दा के लगाउने वा के गर्ने भन्ने बारेमा पनि जानकारी गराउने काम गरेका छन्, बर्दिया राष्ट्रिय निकुञ्जका रेन्जर सन्तबहादुर मगर भन्छन्।
त्यस्ता केही निर्देशिकाहरूमा जङ्गलमा एक्लै नजाने, समूहमा मात्र जाने; लठ्ठी बोकेर हिँड्ने; रातो लुगाको सट्टा हरियो र प्राकृतिक देखिने अन्य रंगका पहिरन लगाउने; र बाघ अगाडि आइहालेमा नभाग्ने लगायत रहेका छन्।
जङ्गलमा प्रवेश गर्दा
तर यस क्षेत्रमा बाघले अर्को मानिसलाई मार्ने बित्तिकै दोषारोपण वा प्रत्यक्ष गालीगलौज फेरि सुरु भइहाल्छ। भदै थारूले आफूलाई ज्यान मार्ने धम्की आएको भए पनि प्रहरीमा कहिल्यै उजुरी नगरेको बताउँछन्। सन् २०२३ को सेप्टेम्बरमा बाघको आक्रमणबाट एक जना स्थानीय महिलाको मृत्यु भएपछि मधुवन नगरपालिकामा विरोध प्रदर्शन भएको खाता सामुदायिक वन समन्वय समितिका सचिव कुलराज बुढा बताउँछन्। केही प्रदर्शनकारीले भदै थारूलाई मार्छौं भनेर खुला धम्की दिएका थिए।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रशासकीय अधिकारीकहरूले यस्ता घटना हुन नदिन अन्य कुरासँगै निकुञ्जको वरिपरि तारबार लगाएर आफ्नो तर्फबाट काम गरिरहेको बताउँछन्। “किसनहरूलाई वन्यजन्तु बमोजिम व्यवहार परिवर्तन गर्नु भनेर बारम्बार अनुरोध गरे पनि, “उनीहरू घाँस दाउरा लिन जङ्गल जान छोडेका छैनन्,” निकुञ्जका सहायक संरक्षण अधिकृत आशिष न्यौपाने बताउँछन्।
जङ्गलमा घाँस काट्ने क्रममा स्थानीय महिला विष्णु बुढाथोकीलाई बाघले आक्रमण गरेको थियो। “सरकारले घरमै घाँस दाउरा ल्याइदेओस् न हामी जङ्गल जाँदैनौं,” उनका श्रीमान् झकबहादुर बुढाथोकी भन्छन्।
नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कटारनियाघाट वन्यजन्तु आरक्ष बीचको वन्यजन्तु आवतजावत मुख्य मार्ग, खाता वन्यजन्तु मार्गको वारपार मानव बस्ती फैलिएको छ। वनको वरिपरि बसोबास गर्नेहरू सामान्यतया सामाजिक रूपमा सीमान्तकृत, आर्थिक रूपमा गरिब र वन स्रोतमा धेरै निर्भर छन्। आधारभूत आवश्यकताहरू पूरा गर्न पनि बारम्बार जङ्गल जानुपर्ने उनीहरूको बाध्यता छ।
स्थानीयले सन् २०२२ देखि नै यस वन्यजन्तु मार्गमा बाघबाट सुरक्षा पाऊँ भन्दै विरोध प्रदर्शन गर्दै आएको मधुवन नगरपालिकाका वडा अध्यक्ष आशाराम थारू बताउँछन्। त्यही वर्ष प्रदर्शनकारी गाउँलेमाथि प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा एक किशोरीको मृत्यु भएको थियो। १० वर्षअघिसम्म जंगली जनावरको कुनै डर थिएन, आशाराम थारू बताउँछन्।
बर्दिया राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कले सन् २००८ देखि २०१९ सम्म बर्दियामा बाघको आक्रमणबाट मृत्यु नभएको देखाउँछ, तर अन्य राष्ट्रिय निकुञ्जमा भने यस्तो मृत्यु भएको अभिलेख छ। सन् १९९९ देखि २००७ सम्म बर्दिया राष्ट्रिय निकुञ्जमा यस्ता आक्रमणमा परेर चार जनाको मृत्यु भएको थियो।
विगत १० वर्षमा, निकुञ्जको ठाउँ अतिक्रमण गरी प्रयोग गर्दा बाघ र मान्छेको जम्काभेट हुने घटनाहरूको सङ्ख्यामा वृद्धि भएको छ।
खाता वन्यजन्तु मार्गमा बाघको सङ्ख्या बढे पनि बाघको बासस्थान विस्तार हुन नसकेको गैरनाफामूलक संस्था सोसाइटी फर कन्जरभेसन बायोलोजी नेपालका अध्यक्ष प्रकाशकुमार पौडेलको भनाइ छ। “बाघको सङ्ख्या बढिरहँदा जङ्गलभित्र तिनीहरूलाई चाहिने आहारविहारको राम्रो व्यवस्थापन हुन नसक्दा पनि खानाको खोजी गर्दै बाघहरू गाउँ पुग्ने गर्दछन्।”
बाघको सङ्ख्या बढाउन सरकारले सन् २०११ देखि २०१८ सम्म देशभरिका पाँचवटै राष्ट्रिय वन्यजन्तु निकुञ्जहरूमा बाघ संरक्षणका लागि ४ करोड ६६ लाख रुपैयाँ खर्च गरेको थियो। यसमा अधिकांश रकम वन्यजन्तुका लागि खाना र सुरक्षित बासस्थानको व्यवस्था गर्न खर्च गरिएको निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता ढकाल बताउँछन्। तर नेपाल बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यमा पुगेपछि त्यस्तो लगानी रोकिएको छ।
मानिस वन्यजन्तुको आक्रमणमा नमारिएसम्म वन्यजन्तु बचाउने प्रयासप्रति आफ्नो कुनै आपत्ति नरहेको स्थानीयहरू बताउँछन्। ‘हामी बाघको विरोधी होइनौं, तर हामी सुरक्षित भएर बाँच्न पाउनुपर्छ’, मधुवन नगरपालिकामा विरोध प्रदर्शनको अगुवाइ गरेका कालुराम थारू भन्छन्।
बाघको आक्रमणबाट स्थानीयबासी मर्न थालेपछि मात्रै धेरैले भदै थारूलाई चिनेका हुन्, स्थानीयवासी रामकृष्ण थारू भन्छन्।
“व्यक्तिगत मुनाफाका लागि भदैले बाघ संरक्षण गरिरहेका छन्,” झकबहादुर बुढाथोकी भन्छन्।
आफूप्रति यस्ता आरोपहरू आउँदा भदै थारू हाँस्छन्। अरूजस्तै आफूलाई पनि बाघको डर लाग्ने कुरा उनी स्वीकार्छन्। तर बाघलाई पनि मानिसजस्तै स्वतन्त्र बाँच्न दिनुपर्छ भन्ने उनको मान्यता छ। मानिसहरूले जतिसुकै धम्की दिए पनि वन्यजन्तु संरक्षण गर्ने आफ्नो कर्तव्यबाट पछि नहट्ने उनी बताउँछन्।