Nepal

गृहयुद्धमा आफूमाथि भएका यौन हिंसाका लागि न्याय मागिरहेका नेपाली महिलाहरू

गृहयुद्धका क्रममा बलात्कारमा परेकी देवी खड्का उक्त निर्मम घटनाको यसरी स्मरण गर्छिन् । अहिले दशकौँपछि उनी आफ्नो मात्र नभएर आफू जस्ता कयौँ द्वन्द्व पीडित महिलाको आवाज सुनिनुपर्ने र राहत दिनुपर्ने माग गर्दै पहलकदमी गरिरहेकी छिन् ।

Read this story in

Publication Date

Meet the Nepali Woman Leading Calls for Justice for Wartime Sexual Assaults

सुनिता न्यौपाने, जिपिजे नेपाल

काठमाडौँस्थित आफ्नो किचनमा चिया बनाउँदै गर्दा रोकिएकी देवी खड्का ।

Publication Date

काठमाडौँ, नेपाल — नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा आबद्ध हुँदा देवी खड्का फगत १७ वर्षकी मात्र थिइन् । त्यो समय माओवादीको समर्थन गर्ने उनको परिवारका लागि मात्र नभएर सबै नेपालीका लागि नै कठिन समय थियो । देश सशस्त्र द्वन्द्वको भुमरीमा फसेको थियो जसमा १७,००० मान्छेले ज्यान गुमाउन पुगे भने २,५०० भन्दा बढी बेपत्ता भएका थिए ।

खड्कालाई स्वतन्त्रताको उन्मुक्त हाँसो हाँस्ने धोको थियो । उनले वैचारिक कारणले मात्र नभएर व्यक्तिगत कारणले पनि हतियार उठाएर युद्धको अग्रपङ्‌क्तिमा जाने निर्णय लिएकी थिइन् ।

सन् १९९८ को कुरा हो । नेपालमा राजतन्त्र हटाएर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि माओवादीले गृहयुद्ध सुरु गरेको दुई वर्ष भइसकेको थियो । यो समयमा सरकार र माओवादी पक्षबिच बदला र प्रतिशोधको भावना यसरी पैदा भएको थियो कि सुराकीकै भरमा दुवै पक्षले सर्वसाधारणलाई जासुसको ट्याग लगाउँदै गिरफ्तार, अपहरण वा हत्या गर्न थालेका थिए ।

खड्का माओवादी पार्टीमा आबद्ध हुनुअघिदेखि नै पार्टीका विचारसँग सहमत थिइन् तर उनी सन् १९९८ पछि मात्र आफू माओवादी कार्यकर्ता र लडाकू भएको बताउँछिन् । तर सन् १९९७ मा स्थानीय बजारमा जाँदै गर्दा उनलाई नेपाल सशस्त्र प्रहरीले गिरफ्तार गर्यो र बेपत्ता बनायो । उनी माओवादी नेता रित बहादुर खड्काकी बहिनी भएकै कारण आफूलाई यसरी प्रहरीले पक्राउ गरेर लगेको बताउँछिन् । उनका दाजुको पछि सन् २००२ मा हत्या भएको थियो ।

उनलाई हतकडी लगाएर राखिएका बेला दिनदिनै सिस्नो लगाउने र बारम्बार बलात्कार गरिने गर्थ्यो । उनी आफूलाई हरेक दिन उही सात जनाले “एक काखबाट अर्को काखमा गर्दै” बलात्कार गरेको बताउँछिन् । खड्का भन्छिन्, “मलाई बलात्कार गर्दा गर्दै ए तैँले राजसंस्था ढाल्ने ? तँ फिस्टीले गणतन्त्र ल्याउने? भनिरहे ।” उनलाई २८ दिनसम्म प्रहरी हिरासतमा राखियो र त्यसपछि चार महिना जेल चलान गरियो ।

हाल ४२ वर्षिया खड्कालाई आफू रिहा भएपछि समाजले स्वीकार नगर्ला भन्ने डर लाग्यो । उनी घर फर्केपछि उनकी आमाले “तँ उतै मरेको भए हुन्थ्यो” भनेपछि बलात्कार आफ्नै गल्तीको कारण भएको भन्ने कुराले उनलाई पछिसम्म लखेटिरह्यो ।

खड्काको जन्म काठमाडौँ उपत्यकाबाट ९० किलोमिटरको दूरीमा पर्ने दोलखा जिल्लाको हिमाली गाउँ जुँगुमा भएको थियो । त्यतिबेला आफ्नो वरपर जताततै विभेद नै विभेद हुने गरेको उनी बताउँछिन् । धनीले गरिबलाई, सामन्तले भूमिहीनलाई र पुरुषले महिलालाई विभेद गर्ने गर्थे । उनले सानै उमेरदेखि राजनीतिमा लागेर महिला अधिकारका लागि काम गर्ने निर्णय गरेकी थिइन् तर आफैँ द्वन्द्वको शिकार बनेपछि भने उनी युद्धमा प्रत्यक्ष रूपमा होमिन पुगिन् ।

पुरुषको छाया मात्रै पर्यो भने पनि महिलाको इज्जतमा दाग लाग्छ भन्ने सामाजिक परिपार्टीमा हुर्केकी खड्कालाई आफूले आफ्नो कथित इज्जत र अस्मिता जोगाउन नसकेकोमा निकै पछुतो भयो ।

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

काठमाडौँस्थित आफ्नो घरको कार्यालयमा आफ्ना बाल पुस्तकहरू मिलाएर राख्दै देवी खड्का ।

पूर्वसांसद तथा अभियन्ता बिन्दा पाण्डे भन्छिन्, “हाम्रो समाजमा पितृसत्ताले जहिले पनि महिलाहरूको अस्मिता उनीहरूको योनीमा हुन्छ भनी व्याख्या गरेको छ । महिलामाथि भएको यौन हिंसालाई जघन्य अपराधको दृष्टिकोणबाट नहेरी अस्मिता लुटियो भन्ने मानसिकताबाट हेरिन्छ ।”

रिहा भएको वर्षौँसम्म पनि खड्का डिप्रेसनसँग जुधिरहिन् र उनलाई आत्महत्या गर्ने सोच मात्र आउँथ्यो । उनलाई “बलात्कार” शब्द उच्चारण गर्न वा कसैले यो शब्द भनेको सुन्दा पनि कहाली लाग्थ्यो । उनी भन्छिन्, “महिलाको ठुलो डर नै लाजको डर रहेछ ।“

त्यसपछि उनले सन् १९९८ मा हतियार उठाइन् । उनी माओवादीको सशस्त्र बल जनमुक्ति सेनाको कमान्डर बनिन् । सन् २००२ मा उनी दोलखा माओवादीको जिल्ला सचिव भइन् र उनले सन् २०११ देखि २०१३ सम्म तत्कालीन भौतिक योजना तथा विकास मन्त्रालय (हालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय) मा राज्यमन्त्री भएर काम गरिन् ।

उनी आफू मन्त्री हुनुअघि बलात्कारमा परेका अरू तीन जना महिलासँग मात्र परिचित रहेको बताउँछिन् । मन्त्री भएपछि अरू पीडित महिलाले पनि उनीसँग यो मुद्दा उठाउने प्रयास गरे । तर डिप्रेसनसँग जुधिरहेकी उनले सुरुमा कुनै प्रतिक्रिया दिन सकिनन् । पछि आफूले यस सम्बन्धमा आवाज उठाउन खोज्दा आफ्नो पार्टीले साथ नदिएको उनी बताउँछिन् ।

यसरी बोल्न नसक्दा उनको मन निकै भारी हुँदै गयो । उनी जति धेरै पीडितहरू भेट्थिन् उनलाई त्यति नै युद्धको क्रूरताको आभास हुँदै जान्थ्यो । सामूहिक बलात्कारको शिकार बनेका महिलाहरूले शारीरिक, मानसिक र आर्थिक चुनौतीहरूको सामना गरिरहेका थिए । केही महिलाहरूमा पाठेघर झर्ने समस्या आउने गर्थ्यो तर उनीहरूले सामाजिक बहिष्कारको डर र आर्थिक चुनौतीका कारण उपचार प्राप्त गर्न सकेका थिएनन् । केही महिलाहरूलाई त जनावर लगाएर निर्मम तरिकाले बलात्कार गरिएको थियो । द्वन्द्व पीडित महिलाहरूले सुरक्षित रूपमा आफ्नो कथा बताउन सक्ने वातावरण बनाउनका लागि उनीहरूसँग मिलेर काम गरिरहेको द स्टोरी किचन संस्थाकी संस्थापक जया लुइँटेलका अनुसार बलात्कारमा परेका महिलाहरूको योनीमा डण्डा र बन्दुक घुसाइन्थ्यो र अझ नुन खुर्सानी समेत दल्ने गरिन्थ्यो

यस्ता क्रूरताका उदाहरणहरू प्रसस्तै भेटिन्छन् । नेपालको पश्चिमी जिल्लामा जन्मेकी चौधरी थर भएकी एक महिला आफू १३ वर्षको उमेरमा सन् २००१ मा बलात्कारमा परेको बताउँछिन् । बलात्कारमा परेका महिलाप्रतिको नकारात्मक दृष्टिकोणका कारण आफ्नो थर मात्र खुलाएकी उनलाई बलात्कारीहरूले आफ्नो कपडा खोलेर “यो जासुस हो” भन्दै चिच्याएको सम्झना आउँछ । उनको टाउकोमा बेस्सरी प्रहार गरेपछि उनले होस गुमाएकी थिइन् । ब्युँझदा, उनी सर्वाङ्ग नाङ्गै थिइन् र उनको शरीर रक्ताम्य थियो । दुई पटकसम्म बलात्कारमा परेकी उनले आफू बलात्कारमा परेको कुरा कसैलाई पनि बताउन सकिनन् ।

त्यो एकदमै कठिन समय भएको उनी बताउँछिन् । सेना र प्रहरीको डरले गाउँका पुरुषहरू कि माओवादीमा भर्ती हुन्थे कि भारत पलायन हुन्थे । उनको गाउँमा महिलाहरू मात्र बाँकी थिए । सशस्त्र बलले गाउँका महिलाहरूलाई पटक पटक बलात्कार गर्ने गरेको उनी बताउँछिन् ।

नेपाल सरकार र माओवादी पक्षले सन् २००६ मा वृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सरकारले शहीद, घाइते र अपाङ्गहरू पहिचान गर्यो र उनीहरू वा उनीहरूको परिवारलाई राहत दियो । तर बलात्कार वा यौन शोषणका शिकार बनेका महिलाहरूलाई भने पहिचान नगरिएको लुँइटेल बताउँछिन् ।

यो मुद्दा सम्बोधन गर्नका निम्ति खड्काको नेतृत्वमा देशभरका महिलाहरू सङ्गठित भएर राज्यलाई द्वन्द्वमा यौन हिंसा भोगेका महिलाहरूको पहिचान गर्न माग गरिरहेका छन् । साथै, उनीहरूले सरकारले पीडित महिलाहरूको शारीरिक र मानसिक उपचारको जिम्मेवारी लिनु पर्ने र कानुनी लडाइँमा समर्थन गर्नु पर्ने लगायतका माग राखेका छन् ।

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

आफ्नो सञ्जालमा जोडिएका केही महिलाहरूको फोटो मोबाइलमा देखाउँदै देवी खड्का ।

शान्ति सम्झौतापछि द्वन्द्वको सङ्क्रमणकालीन अवस्थाबाट बाहिर ल्याउनका लागि हरेक गाउँमा शान्ति समितिहरू गठन गरिएका थिए । खड्काले जस्तै चौधरीले पनि आफूले भोगेको हिंसाका बारेमा उजुरी गरेकी थिइन् तर बलात्कार र यौन हिंसा पीडितका लागि छुट्टै कोटी नराखिएकाले उनको उजुरीलाई “घाइते” का रूपमा दर्ता गरियो ।

खड्का बोल्दा सोचमग्न भएर नरम आवाजमा बोल्ने गर्छिन् । आफ्नो बलात्कारको विषयमा कुरा गर्दा उनले बिचबिचमा टक्क रोकिएर पानी पिउने, आफूलाई सम्हाल्ने र अत्तालिएर बोल्ने गरिरहेकी थिइन् । तर महिला सङ्गठित गर्ने कुरा गर्दा उनको अनुहार र आवाज जोसिलो थियो ।

पीडितलाई न्याय दिलाउन अझै धेरै काम गर्न बाँकी छ । दश वर्षे द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको छानबिन गर्न स्थापना गरिएको सत्य निरूपण तथा मेलमिलाप आयोगले जनाएअनुसार बलात्कार र यौन हिंसामा परेका ३१४ जना महिलाहरूले उजुरी दर्ता गरेका छन् । खड्का पनि तीमध्ये एक हुन् । उनको सञ्जाल तीमध्ये १०% महिलासँग जोडिएको छ । उनी उजुरी गर्ने अधिकांश महिलाहरूलाई सरकार पक्षले र बाँकीलाई विद्रोही लडाकूहरूले शोषण गरेको बताउँछिन् ।

सरकारले सन् २०११ मा द्वन्द्व प्रभावित महिलाहरूलाई सहायता गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदको प्रस्तावबमोजिम आफूले चाल्न लागेका कदमहरूका बारेमा विस्तृत विवरण उल्लेख गरेर राष्ट्रिय कार्ययोजना तर्जुमा गरेको थियो । तर सन् २०१६ मा म्याद सकिएको उक्त कार्ययोजनाले यौन हिंसामा परेका महिलाहरूलाई सम्बोधन नगरेको गृह मन्त्रालयकी उपसचिव अजिता शर्मा बताउँछिन् । ती मुद्दाहरूलाई नै सम्बोधन गर्ने भनेर सरकारले दोस्रो कार्ययोजना पनि बनाएको उनी बताउँछिन् । यो कार्ययोजनामा बलात्कार र यौन हिंसामा परेका महिलाहरूलाई विशेष जोड दिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेल राज्यले त्यस्ता घटना घट्नबाटै रोक्नु पर्ने बताउँछन् । उनी भन्छन्, “ राज्यले स्वतःस्फूर्त रूपमा न्याय प्रदान गरेको भए सङ्गठित हुनु पर्ने अवस्था आउँदैनथ्यो । राज्यले न्याय प्रदान गर्न नसकेपछि महिलाहरू न्याय माग्नको लागि सङ्गठित भए । त्यसले राज्यलाई न्याय प्रदान गर्न घच्घचाउँछ ।” उनी थप्छन्, “द्वन्द्वमा बलात्कार र यौनजन्य हिंसा भएको महिलाहरूले प्रमाण पुर्याउन बहुत गाह्रो छ । महिलाले भनेको कुरा नै प्रमाण हो त भनिन्छ तर, यस्ता घटनामा त्यतिले मात्र पर्याप्त हुँदैन ।”

अहिलेसम्म केही बोल्न नसकेका महिलाहरूका लागि खड्का “आवाजविहीनको आवाज” बनेकी श्रीजना श्रेष्ठ बताउँछिन् । श्रेष्ठ काठमाडौंस्थित द्वन्द्व पिडीत महिला राष्ट्रिय सञ्जाल नामको फोरममा आबद्ध छिन् । द्वन्द्वका बेला उनको श्रीमानको हत्या भएको थियो ।

तर सबैले खड्कालाई आशाको किरण भने ठान्दैनन् । शान्ति माया तामाङ पाख्रिनको श्रीमानको सन् २०२२ मा हत्या गरिएको थियो । पाख्रिन आफ्नो श्रीमानले चन्दा दिन अस्वीकार गरेकाले विद्रोही सेनाले उनको हत्या गरेको आरोप लगाउँछिन् । द्वन्द्वकालका महिलाहरूलाई यसरी अहिले सङ्गठित गर्नु पछाडि खड्काको निहित स्वार्थ रहेको र उनले आफू शक्तिमा पुग्नका लागि यो मुद्दालाई भर्याङको रूपमा प्रयोग गरेको पाख्रिनको बुझाइ छ । उनी भन्छिन्, “राजनीतिक पाटोबाट आफू अगाडि बढ्ने नदेखिएपछि विभिन्न अभियान चलाएर पपुलारिटी बटुलेको हो ।”

तर खड्का भने आफू आफ्नो भूमिकाप्रति दृढ रहेको बताउँछिन् । उनी भन्छिन्, “यदि म यो लडाइँमा असफल भएँ भने न्याय खोज्ने महिलाको इतिहास मेटिने छ ।”

सुनिता न्यौपानेग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।


अनुवाद नोट

जिपिजेका अनुप जोशीले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेका हुन्।