Nepal

लम्पी स्किन रोगका कारण नेपालमा ५० हजारभन्दा बढी गाईभैँसीको मृत्यु

तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू यहाँ छन् ।

Read this story in

Publication Date

A New Virus is Sweeping Across Nepal’s Farms, Decimating Cattle and Threatening Livelihoods

सुनिता न्यौपाने, जिपिजे नेपाल

गोप बहादुर ठकुरी बागमती प्रदेशमा रहेको आफ्नो फार्मका गाईहरू स्याहार गर्दै छन् ।

Publication Date

काठमाडौं, नेपाल — चन्द्रागिरी नगरपालिकामा पशुपालन गरिरहेका कृषक गोप बहादुर ठकुरीको गएको जुन महिनायता लम्पी स्किन रोग लागेर चारवटा गाई मरिसकेका छन् । उनका २२ गाईहरू मध्ये १० वटा केही दिनभित्रै सङ्क्रमित भएका थिए । आफूलाई खासै थाहा नभएको रोगबाट आफ्ना पशु चौपाया सङ्क्रमित भएपछि तिनको स्याहार गर्न उनलाई निकै हम्मेहम्मे पर्‍यो ।

जुन महिनाको सुरुवाततिर ठकुरीको एउटा गाईलाई १०७ डिग्री फरेनहाइटको ज्वरो आयो । सामान्यतया एउटा स्वस्थ गाईको शरीरको तापक्रम १०१ डिग्री फरेनहाइट आसपासमा हुन्छ । उक्त गाईको शरीरमा अर्को दिन ठुलठुला गिर्खा देखा परे । केही घण्टामा ती गिर्खा फुट्न र पिपले भरिएका ठुलठुला घाउहरू बन्न थाले । ठकुरीले के हुँदै छ भन्ने कुराको भेउ पाउनुभन्दा पहिले नै गाई उभिन नसक्ने भयो र दानापानी खान छाड्यो । केही दिन अघि सम्ममा स्वस्थ रहेको र भर्खरै बाच्छो जन्माएको गाई केही दिनपछि मर्‍यो । अरू गाईलाई पनि त्यस्तै लक्षणहरू देखा पर्न थाले । सात देखि आठ दिनपछि ठकुरीको फार्ममा भाइरस लागेर तीन वटा थप गाईहरू मरे ।

ठकुरीले लम्पी स्किन भाइरसका बारेमा टेलिभिजनका समाचारहरूमा सुनेको भए तापनि उनलाई यो भाइरसबाट सङ्क्रमित गाईहरूको उपचार कसरी गर्ने भन्ने थाहा थिएन । “यो रोग कहाँबाट आयो पत्तै पाइनँ,” ठकुरी भन्छन् । त्यसैले उनले युट्युबको सहारा लिएर भाइरसबाट सङ्क्रमित पशुको स्याहार कसरी गर्ने भन्ने बारेका भिडियोहरू हेर्न थाले ।

expand image
expand slideshow
expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

लम्पी स्किन रोग लागेर नेपालमा ५० हजारभन्दा धेरै गाईभैँसीहरू मरेका छन् ।

ठकुरी अहिले सङ्क्रमित भएका र नभएका दुवैथरि गाईलाई दिनदिनै फिटकीरी पानीले नुहाइदिन्छन् । उनले झिँगा तथा लामखुट्टे भगाउन फिनाइल पानीको घोल गोठमा नियमित रूपमा छर्किन्छन् । किरा भगाउन गोठमा आगो बालेर धुवाँ पार्छन् ।

गाईको छालामा देखा पर्ने फोकाहरू कसरी निचोर्ने भन्ने कुरा ठकुरीले युट्युबबाट सिकेका छन् । फोका निचोरेपछि उनले पोविडोन आयोडिनले गाईको शरीरका घाउ सफा गर्छन् । ज्वरो आएका गाईहरूलाई ठकुरीले दुखाइ कम गर्न सहयोग गर्ने पारासिटामोल र प्रशस्त पानी खुवाउँछन् । बिरामी गाईहरूलाई उनी नरम घाँस, सक्खर मिसाएको पानी र भिटामिन खुवाउँछन् ।

नेपालमा सन् २०२० मा पहिलो पटक फेला परेको लम्पी स्किन रोग भाइरसले अहिले भयावह रूप लिएको छ । लाखौँ गाईभैँसी यो भाइरसबाट सङ्क्रमित भएका छन् । यो रोग लागेर ५० हजारभन्दा बढी गाईभैँसीहरू मरिसकेका छन् ।

लम्पी स्किन रोग के हो ?

लम्पी स्किन डिजिज भाइरस पक्सभाइरिडि परिवार अन्तर्गतको क्याप्रिपक्स प्रजाति भित्र पर्दछ । यो पशु चौपायाको रगत चुस्ने लामखुट्टे, किर्ना, भुसुना तथा अन्य खालका किराहरूको टोकाइबाट सर्ने गर्दछ । भाइरसबाट सङ्क्रमित पशुहरूले प्रत्यक्ष सम्पर्कमा आएका अन्य स्वस्थ पशुहरूलाई यो रोग सार्न सक्छन् ।

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

गोप बहादुर ठकुरी बागमती प्रदेशमा रहेको आफ्नो फार्ममा गाईको दूध दुहुँदै छन् ।

पशु मृत्युदर ३.८ प्रतिशत रहेको यो रोगबाट २७ अर्ब नेपाली रुपैयाँ (करिब २० करोड ३० लाख अमेरिकी डलर) भन्दा बढीको आर्थिक क्षति भएको नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डाक्टर मनोज कुमार शाही बताउँछन् । “यो रोग समयमै उपचार वा नियन्त्रण गर्न नसकेमा करिब २५ लाख २६ हजार पशुमा सङ्क्रमण फैलिने र १ लाख गाईभैँसी मर्ने र करिब १ खर्ब २६ अर्ब रुपैयाँको (९४ करोड ७६ लाख अमेरिकी डलर) आर्थिक क्षति हुने देखिन्छ,” शाही भन्छन् ।

ठकुरीको फार्ममा यो रोग छिर्नुभन्दा पहिले उनी दैनिक २०० लिटर दूध बेच्ने गर्दथे । हाल उनले दैनिक बेच्ने दूधको परिमाण १०० लिटर घटेको छ ।

नेपालको वर्तमान अवस्था

सबैभन्दा पहिले यो रोग सन् १९२९ मा जाम्बियामा महामारीको रूपमा फैलिएको हो । ९० वर्षपछि यो रोग बङ्गलादेश, चीन र भारतमा पुग्यो । नेपालमा पहिलो पटक लम्पी स्किन रोग सन् २०२० को जुन महिनामा मोरङ जिल्लाका गाईहरूमा पुष्टि भएको हो । त्यसपछिका दुई वर्षमा यो रोग बिस्तारै फैलियो । त्यसबाट भएको क्षति पनि खासै उच्च थिएन ।

यो वर्ष लम्पी स्किन रोग भाइरसको सङ्क्रमण उच्च दरमा बढ्न सुरु हुनुभन्दा पहिले सरकारले भाइरसको पहिचान गरेर यो रोग लागेका गाईभैँसीको उपचारका लागि प्रयोग गर्न सकिने उपचार विधि पनि जारी गरिसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको पशु सेवा विभागका सूचना अधिकारी डाक्टर चन्द्र ढकाल बताउँछन् ।

यो रोगको प्रकोप पछिल्लो समयमा द्रुत गतिमा बढेपछि भयावह रुपमा गाईभैँसीहरू मरेका छन् । मार्च तथा अप्रिल महिनामा कोसी प्रदेशका केही जिल्लाबाट सुरु भएको रोगको प्रकोप क्रमशः अन्य प्रदेशमा फैलियो । हाल यो रोग नेपालका सातै प्रदेश र ७७ वटै जिल्लामा पुगेको छ । कोसी, कर्णाली र सुदूरपश्चिम सबैभन्दा नराम्रोसँग प्रभावित प्रदेशहरू हुन् । पशुहरूलाई खोप लगाउने काम मे महिनाबाट सुरु भयो । प्रधानमन्त्रीले पीडित किसानहरूलाई क्षतिपूर्ति दिनका लागि आवश्यक कदम चाल्न सम्बन्धित निकायहरूलाई जुलाई महिनामा निर्देशन दिए ।

नेपालमा लम्पी स्किन रोगको सङ्क्रमण दर अहिले घटेको ढकाल दाबी गर्दछन् । तर स्वायत्त निकायको रूपमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय पशु विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर स्वयम प्रकाश श्रेष्ठ भने यो रोगको सङ्क्रमण अझै बढिरहेको बताउँछन् ।

यो स्तरमा फैलिएको लम्पी स्किन रोगको उपचार गर्ने पर्याप्त पशु चिकित्सकहरू नेपालमा नरहेको श्रेष्ठ बताउँछन् । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एक पशु चिकित्सक बराबर ५०० पशु पर्ने भए पनि नेपालमा प्रति पशु चिकित्सक बराबर १२ हजार पशुहरू उपचार गर्नुपर्ने अवस्था रहेको श्रेष्ठ बताउँछन् ।

पशु चिकित्सकहरूको पेसागत संस्था नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष रामकृष्ण खतिवडा पशु सेवा विभागले आफ्नो कमजोरी लुकाउन सङ्क्रमित र मरेका गाईभैँसीको सङ्ख्या वास्तविकभन्दा कम देखाएको बताउँछन् । तर पशु सेवा विभागका सूचना अधिकारी ढकाल त्यस्तो आरोप अस्वीकार गर्छन् ।

लम्पी स्किन रोग कसरी सर्छ ?

धेरै मात्रामा प्रत्यक्ष सम्पर्क हुने पशुहरूको बथानमा यो रोग छिट्टै फैलन सक्दछ ।

“किसानहरूले विभिन्न जातका पशु एकै ठाउँमा पाल्छन् । सामूहिक चरनहरू पनि छन्, जहाँ सङ्क्रमित र स्वस्थ पशुहरू चर्ने गर्दछन्,” ढकाल भन्छन्, “मानिस पनि भेक्टर हुन सक्छन् । रोग फैलिएको ठाउँमा गएर फर्कँदा किरा तथा झिँगा लुगा वा जुत्तामा टाँसिएर आउन सक्छन् । र स्वस्थ पशुको छेउमा जाँदा त्यसरी आएका किराहरूले त्यसलाई सङ्क्रमित गराउँछ ।”

एउटै भाँडोबाट दानापानी खुवाउँदा वा उही स्रोतबाट पानी पिउँदा पनि गाईभैँसीमा यो रोग सर्न सक्दछ ।

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

लम्पी स्किन रोगबाट संक्रमित हुने गाईमा शरीर भरी गिर्खाहरू आउने र फुटेर घाउहरू हुने गर्दछ ।

यो भाइरसको ‘इन्कुबेसन’ अवधि सात देखि १२ दिनको हुन्छ र त्यसपछि यसबाट सङ्क्रमित पशुमा रोगका लक्षणहरू देखा पर्न थाल्छ । सङ्क्रमणबाट पूर्ण रूपमा निको हुन १० देखि १५ दिन लाग्न सक्दछ । सङ्क्रमणका असरहरू केही केसहरूमा भने ६ महिनासम्म लम्बिने यस सम्बन्धी विभिन्न अध्ययनहरूले देखाएका छन् ।

लम्पी स्किन रोगका लक्षणहरू

सुरुमा १०४ डिग्री फरेनहाइटभन्दा उच्च ज्वरो आउँछ र डिहाइड्रेसन हुन्छ । छालामा एक देखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खाहरू देखा पर्दछन् । त्यसपछि सङ्क्रमित पशु कमजोर भएर झोक्राएर बस्छ र खाना खाँदैन ।

छिटो निको भएको खण्डमा गिर्खाहरू केही समयपछि आफै हराएर जान्छन् । कहिलेकाहीँ गिर्खाहरू फुटेर पशुको शरीरभरि गहिरो घाउ हुने हुन्छ । किरा तथा झिँगाहरू बस्दा ती घाउहरू झन् जटिल हुन्छन् ।

आँखा र नाकबाट अत्यधिक तरल पदार्थ बग्ने, र्‍याल काढ्ने र लिम्फ नोड सुन्निने यो रोगका अन्य लक्षणहरू भएको ढकाल बताउँछन् ।

“भाइरसले गर्दा गर्भिणी गाईभैँसीको गर्भपतन हुने वा गर्भ नबस्ने बाँझोपना हुन सक्दछ । यसले गर्दा ३० देखि ४० प्रतिशत दूध पनि घट्न सक्दछ,” शाही भन्छन् ।

expand image
expand slideshow
expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

लम्पी स्किन रोगका कारण ठकुरी परिवारको (अग्र भागमा देखिएकी इन्द्र कुमारी ठकुरी र यो तस्बिरमा नदेखिएका उनका श्रीमान् गोप बहादुर ठकुरी ) चार गाई मरिसकेका छन् ।

उपचार तथा रोकथाम गर्ने तरिका

लम्पी स्किन रोगको रोकथामको लागि खोप बाहेक अन्य विकल्प नरहेको खतिवडा बताउँछन् । “सङ्क्रमित पशुलाई खोप लगाउनुहुँदैन । निको भएका पशुलाई एक वर्ष पछाडि खोप लगाउनुपर्छ,” खतिवडा भन्छन् ।

तर बिरामी पशुमा एन्टिबायोटिक प्रयोग गरिएको भएमा त्यस्ता पशुमा एन्टिबायोटिक दिएको १४ दिनसम्म त्यसको दूध वा मासु सेवन गर्न नहुने उनी बताउँछन् ।

यो रोग नियन्त्रण पशुको जनसङ्ख्याको ८० प्रतिशतमा खोप लगाएपछि ‘हर्ड इम्युनिटी’ (सामूहिक रोग प्रतिरोधी क्षमता) निर्माण मार्फत हुन्छ । “यो रोग फैलनबाट रोक्ने तरिका त्यही मात्रै हो,” शाही भन्छन् ।

सङ्क्रमण अवधि सामान्यतया १० देखि १२ दिनमा पुरा हुन्छ । यदि उक्त समयमा पनि सङ्क्रमित पशुलाई सन्चो भएन भने त्यो बाच्ने सम्भावना कम रहने ढकाल बताउँछन् । उनी सङ्क्रमित गाईभैँसीलाई अरुबाट अलग्गै राख्न, प्रशस्त पराल तथा घाँस खुवाउन, सक्खर पानी जस्तो झोलिलो पदार्थ खुवाउन सुझाव दिन्छन् ।

एकदम कमजोर भएर आफै खान नसक्ने बिरामी पशुलाई पशु चिकित्सकबाट सलाइन दिन सकिने उनी बताउँछन् । पशु चिकित्सकले दुखाइ र ज्वरो कम गर्नका लागि सुई मार्फत सिटामोल तथा पेनकिलर दिन सक्ने उनी बताउँछन् ।

किसानहरूमा रहेका अन्धविश्वासहरूले बिरामी पशुको अवस्थालाई झन् खराब बनाउन सक्ने ढकाल बताउँछन् । “ज्वरो आउँदा पनि गोरुलाई जोत्ने काममा लगाउँदा धेरै पशु मरिरहेका छन् । ज्वरो आउँदा पानी पिउन दिनु हुँदैन भन्ने गलत धारणा पनि छ, जसले गर्दा पशुको मृत्यु हुन्छ ,” ढकाल भन्छन् ।

हेल्पलाइन नम्बर

नेपाल भेटेरिनरी एशोसिएसनले टोलफ्री नम्बर सञ्चालन गर्दछ । टोलफ्री नम्बरः ११५९

खोप कसरी लगाउने

गाईभैँसीलाई खोप लगाउनको लागि किसानले आफ्नो नजिकै रहेको खोप केन्द्रका बारेमा जानकारी प्राप्त गर्न आफू बस्ने पालिकाको वडा कार्यालयमा सम्पर्क गर्नुपर्दछ । खोप योग्य प्राविधिकबाट मात्रै लगाउनुपर्दछ । किसानले खोप किन्नु पर्ने हुन्छ । एक पटक लगाएको खोपको २२० देखि २४० रुपैयाँ लाग्दछ ।

सुनिता न्यौपानेग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।


अनुवाद नोट

जिपिजेका सागर घिमिरेले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेका हुन्।