Nepal

नेपाली जातप्रथाका निषेधित प्रेम कथाहरु

जातप्रथाको अझै दबदबा रहेको यो समाजमा, जोडीहरुले सँगै जीवनयापन गर्न परिवार र अदालतसँग संघर्ष गर्नुपर्छ ।

Read this story in

Publication Date

The Forbidden Love Stories of Nepal’s Caste System

सुनिता न्यौपाने, जिपिजे नेपाल

बबिता इसर बुबा-आमाले उनको जन्मदर्ता प्रमाणपत्र किर्ते गरी आफ्ना श्रीमान् र श्रीमानका परिवारविरुद्ध झुटो मुद्दा दायर गरेको आरोप लगाउँछिन् ।

Publication Date

काठमाडौं, नेपाल — नेपालको संविधानले जो कोहीसँग पनि विवाह गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर दलित समुदायका २२ वर्षीय मनोज कुमार रामले उच्च भनिने जातकी किशोरीसँग विवाह गर्दा भने सो कुरा लागू भएन । श्रीमतीका परिवारले उनलाई अपहरणको आरोप लगाए र उनी जेल परे ।

रामसँगको प्रेमको बाबजुद, कुनै भारतीयसँग विवाह गरिदिने बुबाको इच्छा रहेको रामकी श्रीमती बबिता इसर बताउँछिन् । त्यसैले उनीहरु भागेका थिए । त्यतिबेला २१ वर्ष उमेरकी इसरलाई केवल १२ वर्षकी रहेको दाबी गर्दै इसरका बुबाले अपहरणको उजुरी दिए ।

“खानपानको कारणले उनी ठूलो देखिएको” बबिता इसरका बुबा रोहित इसर बताउँछन् । “उसले राम्रो र नराम्रो छुट्याउने उमेर भएको छैन ।”

यो जोडी भाग्दा बबिता इसरको उमेर २१ वर्ष नै रहेको अदालतले पछि ठहर गरेको थियो ।

त्यसबेला बबिता इसर र राम दोश्रोपटक भागेका थिए । पहिलोपटक उनीहरु एक हप्तासम्म भागे । परिवारबाट निरन्तर आइरहेको फोनको कारण उनीहरु फर्किएका थिए । फर्किएपछि परिवारले आफूलाई घरभित्र थुनेर राखेको इसर बताउँछिन् ।

“त्यसपछि एक महिनासम्म मैले सूर्यको प्रकाश देखिनँ,” उनी भन्छिन् ।

बबिता इसरसँग दुईपटक भागेकोले राम दुईपटक अपहरणको आरोपमा जेल परेका छन् ।

हिन्दू धर्ममा दलित जातिल़ाई सबैभन्दा तल्लो वर्ग मानिन्छ । साथै, यो सामाजिक संरचना नेपालभर नै अपनाइन्छ । परम्परागतरुपमा नै दलितहरुलाई अशुद्ध मानिंदै आएको हुनाले उनीहरुसँग अन्तर्जातीय विवाह गर्दा जात अशुद्ध भएको ठानिन्छ । कुनै दलितसँग विवाह गर्दा व्यक्तिको सामाजिक प्रतिष्ठा घटेको मानिन्छ ।

“छोरीले निम्न भनिने जातको व्यक्तिसँग विवाह गरेमा परिवारको इज्जत गुमेको मानिन्छ,” काठमाडौंको त्रिभुवन विश्वविद्यालय समाजशास्त्री दिपेश घिमिरे भन्छन् ।

उच्च भनिने जातका समुदायका महिलासँग विवाह गर्दा दलित पुरुषमाथि विभेदका साथै उनीहरुका विरुद्ध कानुनी सजाय व्याप्त रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा बताउँछन् । वर्षमा ४० भन्दा बढी अन्तर्जातीय जोडीले उच्च जात भनिने समुदायबाट हुने हिंसा र प्रतिकूल अवस्थामा संरक्षणको लागि आयोगलाई गुहार्ने गर्दछन् ।

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

बबिता इसर र उनका श्रीमान् मनोज कुमार राम नेपालको मधेश प्रदेशको सप्तरी जिल्लास्थित आफ्नो घरमा पोट्रेट फोटो खिचाउँदै ।

जेलमा परेका व्यक्तिहरुको संख्याको बारेमा कुनै आधिकारिक तथ्याङ्क भने छैन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत् रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौंका सहायक प्राध्यापक तिलक विश्वकर्माले सन् २०२३ मा एक अनुसन्धान गरेका थिए जसमा ७० दलित पुरुषको सर्वक्षण गरिएको थियो । उच्च भनिने जातका समुदायका महिलासँग अन्तर्जातीय विवाह गर्नाले एक तिहाइ पुरुषले श्रीमतीको परिवारबाट कानूनी उल्झन झेल्नुपरेको सो सर्वक्षणले देखाएको थियो ।

नेपालमा जातीय विभेद गर्नेलाई तीन वर्षसम्म कैद र ३०,००० रुपियाँ (लगभग २२३ अमेरिकी डलर) जरिवाना वा दुबै सजाय हुन सक्छ । त्यस्तै, विवाह गर्नेको उमेर २० वर्षभन्दा कम भएमा सो विवाहले मान्यता पाउँदैन । साथै, १८ वर्षभन्दा कम उमेरको व्यक्तिसँग सहमतिको यौन सम्बन्धलाई पनि जर्बजस्ती करणी मानिन्छ । विवाह हुन लागेका नाबालिगहरुका विरुद्ध कुनै उजुर परेमा, दुबै संलग्न पक्षहरुलाई तीन वर्षसम्म कैद र ३०,००० रुपियाँ (लगभग २२४ डलर) जरिवाना हुन सक्छ । भाग्ने नाबालिग जोडीलाई बालसुधार गृहमा राख्न सकिन्छ भने उनीहरुका परिवार जेल जानुपर्ने हुन सक्छ ।

तर नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार, अझै पनि नेपालका ४० प्रतिशत महिला १८ वर्ष पुग्नुअगाडि नै विवाह गर्ने गर्छन् । उक्त जानकारी सन् २०१९ मा संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) द्वारा प्रकाशित एक रिपोर्टमा उल्लेख गरिएको छ । बाल विवाहसँग सम्बन्धित उजुरीको संख्या धेरै कम छन् । संयुक्त राष्ट्र जनसंख्या कोष र युनिसेफले गरेको संयुक्त कार्यक्रमको एक समीक्षाअनुसार सन् २०२० मा बाल विवाहका ६४ मुद्दाहरु प्रहरीकहाँ दर्ता भएको र ४४३ मुद्दाहरु हेल्पलाइनको माध्यमबाट जानकारी दिइएको थियो । उजुरी नपरेका बाल विवाहहरु समाजमा सामान्यतया स्वीकारिएका मानिन्छन् ।

तर दलित पुरुषको हकमा भने, उमेर पुगेका महिला वा किशोरीलाई विवाह गर्दा पनि उनीहरुले कानुनी जटिलताको सामना गर्नुपर्ने हुन्छ । उच्च मानिने जातकी श्रीमतीसँग भारत जान पुरुषहरु प्राय: नाकातिर भाग्ने गर्छन् । समातिएको खण्डमा, पुरुषलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा लगाइने गरेको तिलक विश्वकर्मा बताउँछन् ।

महिला तथा किशोरीहरुले पनि यसको परिणाम भोग्ने गरेका छन् । बबिता इसरझैं, उनीहरुलाई पनि परिवारले प्राय: थुनेर राख्ने गरेको काठमाडौंस्थित अधिवक्ता सैलेन्द्र अम्बेडकर बताउँछन् ।

दलित समुदायका प्रतिनिधि सभा सदस्य जीवन परियारले अन्य १५ दलित सभासदसँग मिलेर सन् २०२३ को जुलाईमा एउटा विज्ञप्ति निकाले । यसमा उनले उच्च भनिने जातकी महिलासँग विवाह गर्ने दलितलाई झुटा मुद्दा लगाउनु र जेल पठाउनु कानून र सरकारको उपहास भएको उल्लेख गरेका थिए ।

तर सो विज्ञप्तिका बाबजुद, दलित पुरुषप्रति हुने विभेदको अन्त्य हुने कुनै संकेत देखिएको छैन ।

कबिता क्षेत्रीका अनुसार, शारीरिक श्रमको काम गर्नुपर्दा मात्र दलित समुदायका मानिसलाई घरभित्र पस्न दिने वातावरणमा उनी हुर्किएकी थिइन् । दलितले छोएको सामानलाई क्षेत्रीकी आमा दूषित मान्थिन् र सुनपानी छर्केर चोखो पार्थिन्, क्षेत्री भन्छिन् । त्यसैले, १७ वर्षको उमेरमा १९ वर्षका दलित किशोर बिपिन सुनारसँग माया बसेपछि अगाडिको बाटो कठिन रहेको उनलाई थाहा थियो । उनीहरु भागेपछि क्षेत्रीकी काकीले सुनारविरुद्ध ललाइफकाइ विवाह गर्छु भनी जर्बजस्ती करणी गरेको मुद्दा दायर गरेको उनी बताउँछिन् । ग्लोबल प्रेस जर्नलले क्षेत्रीकी काकीलाई सम्पर्क गरेको थियो तर फोन सम्पर्क विच्छेद भयो । क्षेत्रीका परिवारका अन्य सदस्यहरुसँग पनि सम्पर्क हुन सकेन ।

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

बिपिन सुनारसँगको विवाहको फोटो देखाउँदै कबिता क्षेत्री ।

expand image
expand slideshow

सुनिता न्यौपाने, जिपिजे नेपाल

कबिता क्षेत्री र बिपिन सुनारकी ३ वर्षकी छोरी छिन् । मुद्दा लड्दै गर्दा सबै सम्पति सकिएकोले हाल उनीहरुलाई जीवन धान्न मुस्किल छ ।

सन् २०२१ को नोभेम्बरमा अदालतले सुनारलाई जर्बजस्ती करणी गरेको ठहर गरी १२ वर्षको जेल सजाय सुनायो ।  त्यसबेला १९ वर्ष उमेरकी क्षेत्री र सुनारकी छोरी ६ महिनाकी थिइन् । क्षेत्रीले अधिवक्ता सुरेन्द्र थापा मगरको सहयोगमा मुद्दा पुनरावेदन गरिन् । बलात्कारको अभियोग खारेज भयो । त्यसपछि सुनारलाई डेढ वर्षको जेल सजाय भयो । सो समय जेलमा बिताइसकेका हुनाले उनी सन् २०२३ को अप्रिल महिनामा रिहा भए ।

“उनी सुनारसँग स्वेच्छाले बसेकी थिइन्,” मगर भन्छन् । “छोरी जन्मिएपछि पनि सँगै बस्थिन् । सुनार बच्चाको रेखदेखमा सक्रिय भएर लागिपरेका थिए ।” त्यसैले सुनारलाई अपराधको आरोप लगाउनु “नैतिकरुपमा सही नहुने” उनी बताउँछन् ।

रामको मुद्दामा भने उनका सम्पूर्ण परिवारविरुद्ध नै आरोप लगाइएको थियो । राम र इसर भागेपछि प्रहरीले रामका बुबालाई पछ्याएर उनीमाथि ७५,००० रुपियाँ (५६५ डलर) धरौटी ठहर गरिदियो । जोडजाड गरेर धरौटी तिरेपछि उनी जेल जानबाट भने जोगिए ।

तर रामका दाइहरु रुपेश र रन्जय सन् २०२३ को मार्च र जून महिनामा क्रमश: पक्राउ परी जेल पठाइए । रुपेश नेपालमा प्रहरी जवान थिए ।

उता लुम्बिनी प्रदेशको कपिलबस्तु जिल्लामा भने इसर र रामले विवाह गर्ने निर्णय गरे । त्यतिबेला २१ वर्ष उमेर पुगेका उनीहरुले कानूनीरुपमै विवाह गरेपछि प्रहरीले पिछा गर्दैन भन्ने अनुमान गरेका थिए । त्यसैले, विवाह गरेको केही दिनपछि उनीहरु गृह जिल्ला फर्किए । तर त्यहाँ पुग्नेबित्तिकै राम पक्राउ परे ।

“पुलिसले मलाई लैजाँदै गर्दा म रुन थालें,” राम भन्छन् । “उनीहरुले म लामो समयको लागि भित्र जाँदैछु भनेका थिए । अब परिवार र श्रीमतीलाई कहिल्यै भेट्न नपाउने डरले रोएँ ।”

केही हप्तापछि, सन् २०२३ को जून महिनामा अधिवक्ता सैलेन्द्र अम्बेडकरले रिट निवेदन हाले र तीनैजना दाजुभाइ जेलबाट छुटे । इसर र रामले अदालतमा विवाह दर्ता गरिसकेको हुनाले अपहरणबारे लगाएको आरोप मान्य नभएको अदालतले ठहर गर्‍यो ।

रामसँग भागेमा बुबाले मुद्दा हालेरै छाड्ने चेतावनी दिनुभएको इसर बताउँछिन् । तर माया बसेको मान्छेसँग भाग्नु नै समस्या भने थिएन, उनी भन्छिन् । उच्च भनिने जातको मान्छेसँग भागेको भए बुबाले माफ गरिदिने इसर बताउँछिन् ।

सुनिता न्यौपानेग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।


अनुवाद नोट

जिपिजेकी दीपा सिलवालले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेकी हुन्।