Nepal

पूर्वी नेपालमा दुर्लभ हात्तीको मारमा किसान

उग्र र विध्वंसकारी हात्तीको आतङ्क र तीनले पुर्‍याएको क्षतिबाट आजित भएका मेचीनगरका धेरै किसानहरू आफूले रोप्दै आएको बाली परिवर्तन गर्दै छन् भने कतिपय पशुपालनमा लाग्न थालेका छन्। तर संरक्षणविद्हरू यस्तो परिवर्तनले मात्रै समस्याको समाधान नगर्ने बताउँछन्।

Read this story in

Publication Date

In Eastern Nepal, Endangered Elephants Are Endangering Farms

मायामितु न्याैपाने,जिपिजे नेपाल

हात्ती हेर्ने टावरमा बसेका मोतिलाल भूजेल।

Publication Date

झापा, नेपाल — भारतसँग सीमा जोडिएको नेपालको पूर्वी झापाका स्थानीयहरू हात्तीलाई भगवान् गणेशको अवतार मानेर केरा चढाउँथे र तीनको पूजा गर्ने गर्दथे। तर यो उनीहरूको गाउँमा हात्तीको बथानले उपद्रो मच्चाउनु भन्दा पहिलेको कुरा थियो। हात्तीको कारणले आधा शताब्दी यता भएका मृत्यु, चोटपटक र बालीनालीको व्यापक क्षतिले अहिले स्थिति बदलिएको छ।

“मेरो आधा जिन्दगी हात्ती रुँगेर बित्यो,” मेचीनगर नगरपालिका स्थित बाहुनडाँगीका ५६ वर्षीय किसान मोतिलाल भूजेल भन्छन्। डिभिजन वन कार्यालयका अनुसार पछिल्लो एक दशकमा ५८ जना मानिसहरू मारिएका छन् भने ७९ जना घाइते भएका छन्। त्यसै गरी यो अवधिमा १६ वटा हात्तीको मृत्यु भएको छ। हात्ती दुर्लभ वन्यजन्तुको रूपमा सूचीकृत छ। पछिल्ला वर्षहरूमा मानिस र हात्तीबिचको द्वन्द्व तीव्र रूपमा बढ्न थालेपछि स्थानीयहरूले तीनलाई खेद्न पुल्ठो बाल्ने, स्टिलको भाँडा ठटाउने, डोरीमा ग्रिज लगाएर त्यसमा खुर्सानीको धुलो दलेर हात्ती आउने बाटोमा राख्ने जस्ता थुप्रै प्रयासहरू गरेको बताउँछन्। हात्तीको उपद्रोबाट पार पाउन अहिले उनीहरूले उत्पादन गर्ने बाली बदल्न थालेका छन् । उदाहरणका लागि अहिले उनीहरू धान छोडेर चिया, सुपारी र कागती खेती गर्छन्।

मानव र हात्तीको द्वन्द्व सन् १९७० को दशकबाट सुरु भए तापनि पछिल्ला वर्षहरूमा त्यो तीव्र रूपमा बढेको मेचीनगरका बासिन्दा बताउँछन्। पाँच वर्ष पहिले अन्नबाली भित्र्याउने समय असार र मंसिरको बीचमा दुई-तीन वटा हात्तीहरू छिरेर धान तथा मकै खेत अतिक्रमण गर्ने गर्दथे। यो वर्ष भने फाल्गुण सम्म ६० भन्दा धेरै हात्तीहरू बस्ती भित्र छिरेका छन्। जङ्गल क्षेत्रभन्दा बाहिर हात्तीको आक्रमणबाट मृत्यु भएमा मृतकको परिवारलाई १० लाख रुपैयाँ (७ हजार ६२५ अमेरिकी डलर) क्षतिपूर्ति दिने नेपालको स्थानीय कानुनले व्यवस्था गरेको छ। घर भत्काएको वा सम्पत्ति क्षति बापत १० हजार देखि ३० हजार रुपैयाँसम्म (७६ देखि २२९ डलर सम्म) क्षतिपूर्ति पाउने व्यवस्था पनि उक्त ऐनले गरेको छ। डिभिजन बन कार्यालयका अनुसार सरकारले हात्तीको आक्रमणबाट भएको मानवीय क्षति बापत दुई करोड ३४ लाख रुपैयाँ (एक लाख ७५ हजार ३९२ डलर) क्षतिपूर्ति उपलब्ध गराएको छ भने सख्त घाइतेलाई ४२ लाख ८६ हजार (३२ हजार ७९० डलर) राहत बाँडेको छ। पछिल्लो एक दशकमा झापाका तीन हजार ७३७ जना स्थानीयले घर गोठ, अन्नबाली भण्डारण र खेतीबारीमा हात्तीले पुर्‍याएको क्षति बापत कुल १८ लाख ५० हजार रुपैयाँ (१४ हजार १०७ डलर) राहत प्राप्त गरेका छन्।

धेरै खेतीयोग्य जमिन भएका थुप्रै किसानहरू जङ्गली हात्तीलाई मन नपर्ने ठानिएका बाली रोप्न तर्फ लागेका छन्। यसै कारण प्रत्येक वर्ष मेचीनगरमा चियाको खेती धेरै भइरहेको ५२ वर्षीय विनोद रञ्‍जितकार बताउँछन्। हात्तीले बारम्बार दुख दिएपछि तीन दशक पहिले आफू चिया खेती तर्फ लागेको उनी बताउँछन्। उनका अनुसार बाहुनडाँगीमा मात्रै चार वटा चिया मिल छन्। हात्तीहरू चिया बारीमा छिरेर केही बोटहरू भाँचे पनि पूरै बगान नै नष्ट नपार्ने ५० वर्षीय शम्भु कार्की बताउँछन्। “रातभरि रुँगेर खेतमा धान जोगाउने गर्दथे। तर त्यसरी जोगाएको धान काटेर ल्याउन ठिक्क पारेको समेत भित्र्याउन नपाउने हुन्थ्यो,” उनी भन्छन्। चिया खेतीका लागि धेरै लगानी चाहिने र त्यसबाट आम्दानी हुन कम्तीमा दुई वर्ष लाग्ने भए तापनि किसानहरूलाई अन्य बालीमा जस्तो हात्तीले गर्ने अति बिघ्न खतीको डर नहुने उनी बताउँछन्।

expand image
expand slideshow
expand image
expand slideshow

मायामितु न्याैपाने,जिपिजे नेपाल

हात्तीलाई आफ्नो खेतबारीमा छिर्नबाट रोक्नका लागि बाहुनडाँगीका किसानहरू आफूले उत्पादन गर्दै आइरहेको बालीहरू परिवर्तन गर्दै छन्। उदाहरणका लागि धान उत्पादन छोडेर किसानहरूले चिया खेती गर्न थालेका छन्।

भूजेलले धान उत्पादन गर्ने आफ्नो खेतमा एक दशक अघि देखि चिया खेती गर्न थाले। हात्तीहरू छेक्न लगाएको तारबारमा उनको कसरी हात्तीसँग आमनेसामने भयो भन्ने आफ्नो स्मरण जाडो यामको एक बिहान घाम ताप्दै सुनाउँछन्। “म भुईँमा लडेँ, मेरो हातको मोबाइल खस्यो। म यसरी काम्न थालेँ कि मैले सहयोगको लागि कसैलाई बोलाउनका लागि मोबाइल टिप्न सकिन,” उनी भन्छन्। हात्ती गएपछि सुरक्षित रहन उनी बिस्तारै हात्ती रुँग्न बनाइएको टुङमा चढे। “मेरो हातहरू एकदमै कामिरहेका थिए। छोरालाई मोबाइलमा नम्बर डायल गर्न पनि सकिन,” उनी भन्छन्, “मलाई निकै दिनसम्म तनाव भइरह्यो।” पहिले धान फलाउने खेतमा चिया लगाउन थालेपछि उनलाई अब पहिले जस्तो रातीको बेला हात्ती हेर्न जानुपर्दैन।

करिब साढे दुई बिगाहा आफ्नो जमिनमा कागती खेती थालेका डम्बर रञ्जितकार कागती जातको बिरुवामा हात्ती नपस्ने बताउँछन्। धान वा मकैमा जस्तो धेरै श्रम नलाग्ने, प्रत्येक वर्ष रोप्नु नपर्ने र बजारमा उत्पादनको राम्रो मूल्य पाइने कारणहरूले गर्दा कागती खेती सुरु गर्ने आफ्नो निर्णयबाट उनी खुसी छन्। केही किसानहरू भने पशुपालन तर्फ मोडिएका छन्। सन्तोष सुवेदी त्यसको उदाहरण हुन्। सन् २०१५ मा दुईवटा गाईबाट पशुपालन थालेका उनले अहिले त्यसलाई बढाएर ६० वटा गाई पालनको व्यवसाय बनाएका छन्। “मैले हात्ती खेदाउन नै आफ्नो धेरै समय बिताएको छु,” धान खेती गर्दाको आफ्ना पुराना दिनहरू सम्झिँदै उनी भन्छन्, “हात्ती रुँग्न गएको मेरो सुरक्षाको पिरले घरका मान्छे पनि रातभर सुत्न सक्दैनथे।” गाईको गोठ उज्यालो हुने र काम गर्ने मान्छे वरपर हुने भएकोले हात्ती त्यहाँ छिर्दैनन्। “हात्तीहरूले गाईलाई ल्याएको दाना खाने, गोठ भत्काउने, घाँस खाने त गर्छन्। तर धानको क्षति हुँदाको तुलनामा यो क्षतिको अंश एकदमै थोरै हो। हात्तीको हैरानीबाट पूर्ण मुक्त हुन नसके पनि गाई पाल्न थालेपछि राति राति मेची खोला जानु परेको छैन,” उनी भन्छन्।

जङ्गली हात्तीहरू नेपाल र भारतका आसाम र पश्चिम बङ्गाल प्रान्तहरू बिच ओहोरदोहोर गर्ने बताइन्छ। सामान्यतया ती हात्तीहरू दुई देशबिचको सिमानामा रहेको मेची नदी तरेर ओहोरदोहोर गर्ने बताइन्छ। बाहुनडाँगी क्षेत्र पर्ने मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कार्की नदी तरेर आउन लागेका हात्तीलाई धपाउन नदी किनारमा पटाका पड्काउन जानेहरूको सङ्ख्या पनि कम भएको बताउँछन्। त्यहाँको धेरै जनसङ्ख्या अहिले नगदे बालीको खेती वा पशुपालन तर्फ लागेको उनी बताउँछन्। कार्कीका अनुसार उनको वडामा ९८ वटा त्यस्ता व्यावसायिक फर्महरू छन् ।

यद्यपि यसबाट निर्वाहमुखी खेती गर्ने साना किसानहरू भने जोखिममा छन्। “के गर्नु?” स्थानीय कृषक पदम राई भन्छन्, “चामल किनेर खान सकिँदैन। त्यसैले रातभर हात्ती धपाउन बस्नुपर्छ।” तीन वर्ष पहिले हात्तीहरूले खाद्यान्न सञ्चित गर्न स्थानीय रूपमा बनाइने ढिकुटीमा राखेको धानसमेत नष्ट गरेपछि उनी आफ्नो जीवन गुजाराको लागि अरूको खेतमा काम गर्न थाले ।

expand image
expand slideshow

मायामितु न्याैपाने,जिपिजे नेपाल

बाहुनडाँगीलाई हात्तीको उपद्रोबाट जोगाउनका लागि सन् २०१५ मा जोडिएको सोलार अफसेट फेन्सिङ तारले अहिले काम गर्न छाडेको छ।

सन् २०१५ मा नेपाली अधिकारीहरूले विश्व बैङ्कको सहयोगमा जङ्गली हात्तीलाई बस्तीमा प्रवेश गर्नबाट रोक्नका लागि सौर्य ऊर्जाबाट सञ्चालन हुने फेन्सिङ (तारबार) जडान गरे। एक करोड २० लाख रुपैयाँ ( ९१ हजार पाँच सय डलर) खर्चमा जडान गरिएको १५ किलोमिटर लामो उक्त गैर घातक फेन्सिंगले अहिले काम गर्न छाडेको डिभिजन वन कार्यालयका प्रमुख जीवनकुमार पाठक बताउँछन्। “हामीसँग पैसा छ तर ओभरसियरसँग यसको मर्मत गर्ने प्राविधिक ज्ञान छैन,” उनी भन्छन्, “नयाँ भएकाले गर्दा प्राविधिक कुरा थाहा नभएर समस्या भएको छ।”

वातावरणविद्हरू सही प्राविधिक विज्ञता नै उपलब्ध हुँदा पनि यस्तो उपायले समाधान दिने कुरामा शङ्का व्यक्त गर्छन्। “हात्ती बस्ती पसेको होइन,” स्थानीय संरक्षणकर्मी नवीन गोपाल बैद्य भन्छन्, “बस्ती चाहिँ हात्ती हिँड्ने बाटोमा बसेको हो।” नेपालको सबैभन्दा ठुलो र घना जङ्गल रहेको चारकोसे झाडी परापूर्व काल देखि हात्ती हिँड्ने बाटोको रूपमा चिनिन्छ । जनसङ्ख्या वृद्धिसँगै वन विनाश हुँदै गएको छ। “बाटो छेकेर समस्या समाधान हुँदैन। न त मानिस हटाउन नै सम्भव छ।”

डिभिजन वन कार्यालयका प्रमुख पाठक मानिसहरूले हात्ती आकर्षित नहुने खालका बालीनाली रोप्नु पर्नेमा जोड दिन्छन्। “उनीहरूले उब्जाउने नयाँ बालीको लागि बजार खोज्न राज्यले सघाउनुपर्छ,” उनी भन्छन्। यस्तो रणनीतिले हात्तीबाट जोगिन सघाउँछ भन्ने कुरामा सबैको एकमत भने छैन। “यदि हात्तीलाई मन नपर्ने बाली लगाउनु समाधान हुन्थ्यो भने तिनीहरूले पश्चिम बङ्गालको चिया बगानहरू पार गर्दै यहाँसम्म आइपुग्दैन थिए,” वन कार्यालयलाई पहिले केही समय सहयोग गरेका मानव र हात्ती द्वन्द्वका जानकार शंकर लुइटेल भन्छन्, “यदि हामीले चिया रोप्न भन्यौँ भने पनि सबै किसानहरूका लागि त्यो सम्भव छैन।”

“हात्ती बस्ती पसेको होइन ।बस्ती चाहिँ हात्ती हिँड्ने बाटोमा बसेको हो।”स्थानीय संरक्षणकर्मी

द्वन्द्वको न्यूनीकरणका लागि सरकार एउटा भिन्नै प्रयास थाल्ने योजनामा छ। हात्तीहरू खाने कुराको खोजीमा मानव बस्तीमा पसेर उपद्रो मच्चाउन रोक्न लागि तिनीहरू हिँड्ने बाटोमा तीनलाई मन पर्ने बाँस, केरा, कोदो र आँपजस्ता बालीहरू रोप्ने डिभिजन वन कार्यालयको योजना छ।

“अन्ततोगत्वा हात्ती र मानव मिलेर बस्नुपर्छ,” लुइटेल भन्छन्, “कसरी मिल्ने मलाई पनि थाहा छैन। यस्ता कुराको समाधान किसानसँग हुँदैन, राज्यले हामीलाई त्यसको बाटो देखाउन सक्नुपर्छ। “हात्ती र मानवबिचको त्यो मिलन कस्तो रहन सक्छ भन्ने कुराको अनुमान भने आफूले गर्न सक्ने उनी बताउँछन्। “हुन सक्छ अहिले हात्तीलाई मन नपर्ने खानेकुरा रोप्नेहरूले अबको ५० वर्षपछि हात्तीलाई आफ्नो घर अगाडि खानेकुरा राखिदिन थाल्नेछन्,” उनी भन्छन्, “हात्तीले सो खानेकुरा खाएर आफ्नो बाटोमा अगाडि बढ्नेछन्।”

मायामितु न्याैपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।


अनुवाद नोट

जिपिजेका सागर घिमिरेले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेका हुन्।