Nepal

मरेका बाख्रा, मरेका गाईवस्तु रदोषी झार ।

नेपालका वनमा गाईवस्तु र रैथाने वनस्पति मर्दै गइरहेका छन्, तरयसको कारणलाई निर्मूल गर्न थोरै मात्र कदम चालिएको छ।

Read this story in

Publication Date

Dead Goats. Dead Cattle. And the Weed That’s to Blame.

मायामितु न्याैपाने,जिपिजे नेपाल

बिर्तामोड नगरपालिकास्थित आफ्नो बारीमा मरेको खसी देखाउँदै होम प्रसाद आचार्य। यो लगायत अन्य धेरै खसीबाख्रा विगतका वर्षयता विषाक्तताका कारण मरिसकेका छन्।यसरी खसीबाख्रा मर्नुको मुख्य दोषी मिचाहा प्रजातिको वनस्पति उल्टा काँडा झार (वैज्ञानिक नाम:मिमोसा डिप्लोट्रिचा) रहेको उनी ठान्छन्।

Publication Date

झापा, नेपाल — तीन दिनभित्रै होमप्रसाद आचार्यका ७० वटा खसीबाख्रा मरेपछि पूर्वी नेपालको झापा जिल्लाका पशुपालक कृषक त्रसित बनेका छन्। ५१वर्षीय आचार्यले खसीबाख्रा पाल्न थालेको धेरै समय भएको थिएन र यसरी खसीबाख्रा मरेपछि उनले भर्खरै थालेको यस व्यवसाय निमिट्यान्न भयो। सुरुमा त उनले मरेको खसी काटेर त्यसको मासु बेच्ने सोचे, तर चरेर आएका सबै खसीबाख्रा केही घण्टामै रहस्यमय ढङ्गले मरेपछि उनलाई त्यो मासु खान र बाँड्न डर लाग्यो। तीन वर्षअघि २०७७ सालतिरको ती तीन दिनमाआचार्यले मरेका धेरैजसो खसीबाख्रालाई आफ्नो घर नजिकैको बारीमा लगेर गाडिदिए।

तर, खसीबाख्रा यसरी मरेको पीडाले उनलाई सताइरह्यो। खसीबाख्रा मर्नुअघि अरूकृषकहरूले जस्तै आचार्यले पनि आफ्ना खसीबाख्रालाई नजिकैको सुन्दर निचाझोडा सामुदायिक वनमा चराउन लगेका थिए। उनले खसीबाख्रा के कारणले मरेका रहेछन् भन्ने थाहा पाउन मरेको एउटा खसी लिएर जिल्लास्थित पशु चिकित्सा अस्पताल र पशु सेवा केन्द्रमा गए। त्यहाँ रहेका पशुचिकित्सकले प्रारम्भिक पोस्टमार्टम गरे र खसी विष खाएकोले मरेको हो भनेर उनलाई बताए। पशुचिकित्सक डा. विनयकुमार श्रेष्ठले उक्त खसीको मृत्यु विष खाएर भएकोमा आफू पक्का रहेको तर झापामा अत्याधुनिक केमिकल प्रयोगशाला नभएकाले कुन विषाक्त पदार्थले गर्दा खसी मरेको हो भन्ने पुष्टि गर्न नसकेको ग्लोबल प्रेस जर्नललाई बताए।

खसीबाख्राले खाएको झारको नमूना पनि पशुचिकित्सकबाट जाँच गराएको आचार्य बताउँछन् । पशुचिकित्सक श्रेष्ठले उक्त झार मिमोसा डिप्लोट्राइका रहेको बताए। काँडा भएको यो झार अहिले झापाका वनभरि झाडीको रूपमा फैलिएको छ र स्थानीयले यसलाई उल्टा काँडा भन्ने गरेका छन्। आफूलाई जुन कुराको डर लागिरहेको थियो, त्यही कुरा रहेको आचार्य बताउँछन् । १८ कृषक समूहको अनौपचारिक सहकारी बिर्तामोड पशुपालक कृषक समूहका पूर्वअध्यक्ष समेत रहेका आचार्यले सुन्दर निचाझोडा सामुदायिक वनभरि यत्रतत्र उम्रिएको यो झार खाँदा गाईवस्तु मरेको भन्ने कुरा बारम्बार सुनेका थिए । यो कति धेरै विषाक्त होला भनेर उनले पहिले कल्पना गरेका थिएनन्, आफ्नै खसीबाख्राको बथानै मरेको देखेपछि मात्र यो निकै खतरनाक विषाक्त झार रहेको उनले बुझे।

डिभिजन वन कार्यालय झापाले हालसम्म जलथलको वनमा ५ हेक्टर (१२ एकड) क्षेत्रमा उल्टा काँडा झार फैलिएको पुष्टि गरेको छ। उल्टा काँडा झार (मिमोसा डिप्लोट्राइका) नेपालमा पाइने रैथाने वनस्पति होइन । यो झार उष्ण प्रदेशीय क्षेत्र, विशेषगरी मध्य अमेरिका, दक्षिण अमेरिका र क्यारिबियन क्षेत्रमा उत्पत्ति भएको रैथाने वनस्पति हो। यो झार करिब २० वर्षअघिदेखि नेपालका वनमा देखिन थालेको भनी स्थानीयहरूले बताए पनि यो प्रजाति मिमोसा डिप्लोट्राइका रहेको भनी चार वर्षअघि २०७६ सालमा मात्र पहिचान भएको थियो।

यो वनस्पति यसरी द्रुतरूपमा फैलनुले गैर-रैथाने प्रजातिका वनस्पतिहरूले विश्वभरका वन र प्राकृतिक वातावरणमा गर्नसक्ने क्षतिलाई देखाउँछ। गैर-रैथाने प्रजाति भन्नाले कुनै खास स्थानमाप्राकृतिक रूपमा उत्पन्न नभएका तर त्यहाँ प्राकृतिक रूपमा उत्पन्न भएका अन्य रैथाने वनस्पति र जीवले प्रयोग गर्ने स्थानीय स्रोतहरूमा अतिक्रमण गर्ने वनस्पति वा जनावरलाई जनाउँछ। वनस्पतिको हकमा, विज्ञहरूका अनुसार गैर-रैथाने प्रजातिहरू प्रायः मिचाहा हुन्छन्, रैथाने प्रजातिहरू भन्दा छिटो फैलन्छन्, माटोबाट एकदमै छिटो पानी र पोषक तत्वहरू सोस्छन् र त्यस भूक्षेत्रका हुर्कने रूख र ससाना बोटबिरुवाहरू नष्ट गर्दछन्। कतिपय अवस्थामा, नेपालमा उल्टा काँडा जस्तै, अनियन्त्रित तरिकाले फैलिरहेका मिचाहा प्रजातिहरूले निम्त्याउने परिणाम गम्भीर हुन्छ र तिनले मृत्यु र रोगसमेत गराउँछन्।

गाईवस्तु मार्ने झार

उल्टा काँडा झार सामान्यतया ३ मिटर (१० फिट) सम्म अग्लो हुन्छ र यसको काण्डमा घोप्टो परेका तिखा काँडाहरू हुन्छन्, प्रत्येक काँडा ३ देखि ६मिलिमिटर लामो हुन्छ। झापामा अहिले यो वनस्पति जताततै पाइन थाएको छ – यो झार खोला किनार, बगर, खुला ठाउँ, बाँझो जमिन,सडक छेउछाउ बढी देखिन्छ। झापा जिल्लाको ६,१०० हेक्टर (१५,०७३ एकड) क्षेत्रफलमा फैलिएको जलथल वन क्षेत्रमा पनि यो झार देख्न सकिन्छ।

उल्टा काँडा झार गाईवस्तु र अन्य चौपायाका लागि विषाक्त हुनसक्ने विभिन्न अध्ययनहरूलेदेखाएका छन्। यो झार खाएपछि राँगाभैँसी, भेडा र गाईवस्तु मरेका कुरा विश्वका विभिन्न ठाउँका अध्ययन प्रतिवेदनमा उल्लेख छ, तर यस झारमा हुने विषाक्तता कुन प्रकृतिको हो भन्ने अझै राम्रोसँग निर्क्यौल हुन सकेको छैन। केही अध्ययनले यो वनस्पति शाकाहारी जीवजन्तुका पूर्ण विषाक्त हुनसक्ने सङ्केत गरेका छन् भने अन्य अध्ययनहरूले यस वनस्पतिको विषाक्त असर यसको विकासको चरण र जनावरको शरीरको संरचनामा निर्भर हुने उल्लेख गरेका छन्। नेपालमा भने पूर्व-दस्तावेजहरूमा आधारित मुट्ठीभरका अध्ययनहरूबाहेककुनै पनि सरकारी निकायले उल्टा काँडाबाट खसीबाख्रा र गाईवस्तुको मृत्यु वा गाईवस्तुमा यसको प्रभावको सम्बन्धमा अध्ययन अनुसन्धान गरेको पाइँदैन।

expand image
expand slideshow
expand image
expand slideshow

मायामितु न्याैपाने,जिपिजे नेपाल

अर्जुनधारा नगरपालिकास्थित प्रेम घतानीको जग्गामा फैलिएको मिचाहा प्रजातिको उल्टा काँडा झार।

झापा जिल्लाका दुई जना स्थानीय वडाअध्यक्षले ग्लोबल प्रेस जर्नलसँग यस विषयमा कुरा गर्दै स्थानीयहरूले कम्तीमा पनि विगत पाँच वर्षदेखि आफ्ना खसीबाख्रा र गाईवस्तुको रहस्यमय ढङ्गले मरेका भनीगुनासो गर्दै आएका बताउँछन्।

बिर्तामोड नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्णप्रसाद “अविरल” खरेलले आफ्नो वडामा विगत दुई वर्षमा मात्रै ४० जनाले वनमा चर्न गएको बेला उल्टा काँडा खाँदा धेरै गाईवस्तु मरेको गुनासो गरेको बताउँछन् । यी कृषकहरूले आफ्नो खसीबाख्रा र गाईवस्तुको बीमा गरेका थिए र बीमा दाबी गर्न सहयोग गर्नुबाहेक अरू के गर्ने भन्ने थाहा नभएको खरेल बताउँछन् । “१८०० घरधुरी रहेको मेरो नगरपालिकामा उल्टा काँडाको विषका कारण गत आठ वर्षमा झण्डै एक हजार गाईवस्तु मरेका छन्,” खरेल भन्छन् ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सीताराम भट्टराई पाँच वर्षयता त्यहाँ ६ सय गाईवस्तु उल्टा काँडा खाँदा मरेको बताउँछन् । भट्टराई भन्छन्, “के गर्ने भन्ने नै थाहा छैन” ।

यो झार हरियो भएर आउने र यसले अन्य रैथाने बिरुवाहरूलाई छोप्ने गरेको खरेल बताउँछन्। उनको नगरपालिकाका कामदारहरूले यसलाई देख्ने बित्तिकै झारनाशक विषादी छर्केर नष्ट गर्ने प्रयास गरे पनि विषादीले यसलाई कुनै असर गरेको देखिएन।

बाख्राको बीमा नभएकाले ५ लाख रुपैयाँ जति क्षति व्यहोरेका आचार्य अहिले यो झारलाई जहाँकहीं देख्ने बित्तिकै उखेल्ने गरेका छन्।

स्थानीयबासीमा फैलिएको त्रासको बाबजुद पनि तीन वटा प्रमुख सरकारी निकायहरू – स्थानीय नगरपालिका कार्यालय, जिल्ला पशु सेवा कार्यालय र कृषि मन्त्रालयअन्तर्गत रहेर काम गर्ने झापास्थित कृषि ज्ञान केन्द्रका प्रवक्ताहरूले पशु मृत्युका बारेमा आफूकहाँ कुनै गुनासो नआएको बताउँछन्।

एउटा अध्ययन, तर थोरै जवाफ>

२०७८ चैतमा महिनामा, काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वनस्पतिशास्त्र विभागका अनुसन्धानकर्ता भरतबाबु श्रेष्ठको टोलीले उल्टा काँडाबारे गरिएको अध्ययन प्रकाशित गरेको थियो। यो केन्द्रीय स्तरबाट उल्टा काँडाबारे हालसम्म भएको एक मात्र अध्ययन थियो। यस विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको सहयोगमा विर्तामोड वडा नम्बर नम्बर ७ स्थित सुन्दर निचाझोडा सामुदायिक वन क्षेत्रमा यस झारको अध्ययन गरेका हुन् ।

हालसम्म यो प्रजाति झापा र मोरङ जिल्लामा मात्रै भेटिएको यस अध्ययनले देखाएको छ । अध्ययनका अनुसार यस वनस्पतिलाई फैलनबाट नियन्त्रण गर्न सकिने एक मात्र उपाय भनेको यसको फूल फुलेर बीउ नबन्दै जरैबाट उखेलेर नष्ट गर्नु हो। यो वनस्पतिले प्रति वर्गमिटर क्षेत्रमा १५ हजारदेखि २० हजारको सङ्ख्यामा बीउहरू उत्पादन गर्न सक्दछ र माटोमा यसका बीउहरू ५० वर्षसम्म बाँच्न सक्छन्। कतिपय देशहरूमा यो झार फैलिएका ठाउँमा हेटेरोप्सिल्ला स्पिनुलोसा नामका कीराहरूछाडेर यो झारलाई नियन्त्रण गरिएको कुरा विभिन्न अध्ययन प्रतिवेदनहरूमा उल्लेख गरिएको छ। तर, नेपालमा अहिलेसम्म त्यस्तो कुनै पनि कदम चालिएको छैन ।

expand image
expand slideshow

मायामितु न्याैपाने,जिपिजे नेपाल

धानखेतको छेउमा उभिइरहेका प्रेम घतानी, अर्जुनधारा नगरपालिकास्थित उनको खेतमा मिचाहा प्रजातिको उल्टा काँडा झार तीव्र गतिमा फैलिरहेको छ।

यस झारमा पाइने मिमोसिन नामक रसायन विषाक्त हुनसक्ने अध्ययनले उल्लेख गरे पनि सो अध्ययन टोलीले प्रयोगशालामा लगेर झारको रासायनिक परीक्षण नगरेको श्रेष्ठ बताउँछन् । अध्ययनले प्रस्तुत गरेको जानकारी पनि अन्य अन्तर्राष्ट्रिय अध्ययनहरूबाट सङ्कलन गरिएको जानकारी मात्र हो, उनी भन्छन्।

यस झारको प्रभावको बारेमा जानकारी र सचेतना नभएको हुँदा कृषकहरू यस झारको कुरा गर्दा अरूले जे देखेका छन् त्यसैलाई सही मान्दछन् ।

टेकबहादुर कटुवालले एक घण्टाभन्दा कम समयमा आफूसँग भएका ६ वटै खसी गुमाए। उनी २०७९ सालको दशैँ आउनुभन्दा केही दिनअघि खसीहरूलाई चराउनका लागि नजिकैको खोला किनारमा लगेको स्मरण गर्छन् । खोलाको किनारमा उनले हरियो घाँसको थुप्रो देखे र खसीहरूलाई त्यतै लगे । त्यो घाँस खाएको केही मिनेटमै खसीहरू कराउँदै भुइँमा लड्न थाले, त्यो घाँस उल्टा काँडा भएको उनले अहिले मात्र थाहा पाए। आफ्ना खसीहरू केही मिनेटभित्रै मरेको त्यो डरलाग्दो दृश्य उनले हेरिरहे। दशैँको मुखमा परेको यो विपत्तिमा राहत दिन छिमेकीहरूले १२ हजार जति पैसा उठाएर कटुवालको परिवारलाई दिए र त्यसैबाट कटुवाल परिवारले दशैँ मनाउन पाए।

कटुवाल भन्छन्, “खसी मरेको विषयमा सोधखोज गर्न विभिन्न ठाउँबाट मानिसहरु आउँदा पनि राहत लिएर आए जस्तो लागेर खुशी हुन्थेँ तर जब हामी त केही दिन सक्दैनौँ भन्थे दिक्क लाग्थ्यो।” अन्य कृषकहरू जस्तै उनको समस्या पनि उल्टा काँडाबारे वा यसलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे थाहा नहुनु हो।

अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का प्रेम घतानीले करिब एक लाख ३० हजार रुपैयाँ ऋण लिएर एक हल राँगा र एउटा लैनो भैँसी किनेका थिए। घर ल्याएको चार दिनमै ती राँगा भैँसी मरे । आफ्नो घरको वरिपरि उम्रिएका उल्टा काँडा झार चरेर आफ्ना राँगा भैँसी मरेको घतानी बताउँछन् ।

श्रेष्ठको अध्ययनले झापा र मोरङ जिल्लामा उल्टा काँडाको प्रकोप उल्लेख्य र तीव्र गतिमा बढिरहेको बताए पनि ललितपुर जिल्लास्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका बरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले सचेतना जगाउन थोरै मात्र प्रयास भएको तर यस विषयमा कुनै ठोस कदम नचालिएको बताउँछन्। यस प्रकारको झारको नियन्त्रण पशुपक्षी, कृषि र वन हेर्ने विभिन्न मन्त्रालय र विभागहरूसँग सम्बन्धित पक्ष भएकोले यो समस्यालाई सम्बोधन गर्ने जिम्मेवारी कसको हो भन्नेमा अन्योल देखिन्छ।

सरकारी निकायहरूबीच कसले गर्ने भन्ने अन्योलमा रहिरहँदा, स्थानीयहले उल्टा काँडाबारे वास्तविक ज्ञानको अभावमा जोखिम मोलेरै भए पनि गाईवस्तु चराउन वनका नयाँ क्षेत्रहरूमा लैजानुपरेको छ।

झापा जिल्लामा गाईवस्तु चर्ने घाँस भएको ठाउँ भेट्न मुस्किल बन्दै गएकाले जोखिम मोल्न बाध्य भएको बिर्तामोड नगरपालिका वडा नम्बर ७ का पशुपालक कृषक डिल्लीराम प्रसाईं बताउँछन् । यसरी घाँस भएको ठाउँ कमी हुँदै जानुको पछाडि जलथल वनमा फैलिएको माइकेनिया माइक्रान्था नामको अर्को मिचाहा प्रजाति रहेको छ जसलाई जसलाई स्थानीयहरूले “प्याङ्ग्री लहरा” भन्छन्।

मिचाहा लहराको कारण प्राकृतिक वन घट्दै गएको छ

उल्टा काँडा जस्तो प्याङ्ग्री लहरा गाईवस्तुका लागि विषालु हुँदैनर जनावरहरूले यो लहरा खाँदैनन् पनि । तर पछिल्ला केही वर्षयता जलथल वनभरि प्याङ्ग्री लहरा फैलिएर गाईबस्तु चर्ने घाँसलाई छोपेको छ । डिभिजन वन कार्यालयका अनुसार झापा जिल्लामा एक हजार हेक्टर (२ हजार ४७१ एकड) क्षेत्रफलमा प्याङ्ग्री लहरा फैलिएको छ । वन विभागको अनुमानअनुसार प्रत्येक वर्ष प्याङ्ग्री लहरा दुई वा तीन गुणाले बढिरहेको छ, जसले १५० भन्दा बढी प्रजातिका रूख र वनस्पति भएको जलथल वनको जैविक विविधतालाई खतरामा पारेको छ।

expand image
expand slideshow

मायामितु न्याैपाने,जिपिजे नेपाल

जलथल वनमा बेसार खेती गरिएको जग्गाको वरिपरि फैलिएको प्याङ्ग्री लहरा।

डिभिजन वन कार्यालय झापाका सहायक डिभिजन वन अधिकृत जीवनप्रसाद पाठकका अनुसार मिचाहा प्याङ्ग्री लहराको विस्तारको कारण जलथल वनमा साल ( वैज्ञानिक नाम: शोरिया रोबस्टा), सिसौ ( वैज्ञानिक नाम: डालबर्गिया सिसु), बोट धँगेरो (वैज्ञानिक नाम: लेजरस्ट्रोमिया पारभिफ्लोरा), कटहर (वैज्ञानिक नाम: आर्टोकार्पस हेटेरोफिलस), बडहर (वैज्ञानिक नाम: आर्टोकार्पस लकुचा) लटहर (वैज्ञानिक नाम: आर्टोकार्पस चामा) जस्ता बोटबिरुवाको उत्पादनमा कम्तीमा २० प्रतिशतले गिरावट आएको छ ।

रैथाने वनस्पति स्थानीय पारिस्थितिकी प्रणालीको स्वास्थ्य र वनमा आश्रित समुदायहरूको जीवन र जीविकोपार्जनका लागि महत्त्वपूर्ण छन्। साल, सिसौ र ट धँगेरो काठ र दाउराको लागि प्रयोग गरिन्छ। कटहर एउटा महत्वपूर्ण खाद्य वस्तु हो। लटहर दुर्लभ र लोपोन्मुख रैथाने प्रजाति हो। “वनमा माइकेनियाले आक्रमण गरेपछि पुनरुत्पादनमा कमी आउने, वनको हैसियतमा ह्रास हुने र यसले जैविक विविधताको पाटोमा समेत असर पुग्ने” पाठक बताउँछन् ।

हल्दिबारी गाउँपालिकाका कृषक चिरन पौडेल भन्छन्, वर्षौं पहिले प्याङ्गरी लहरा खोला किनार र वनका केही भागमा मात्रै देखिन्थ्यो । अब, यो जताततै छ। “यो नरिवल, आँप र केराका बोटमा समेत चढेको छ र प्याङ्ग्री लहराको पातले माथिल्लो भाग सबै छोपेर रूखहरूमा फल लाग्न छोडेको छ। यो लहरा फैलिएको क्षेत्रमा तरकारी पनि फल्दैन,’ उनले भने ।

यकिन तथ्याङ्क उपलब्ध नभए पनि प्याङ्ग्री लहराको प्रकोपले कम्तीमा ५ हेक्टर (१२ एकडभन्दा बढी) कृषिबाली प्रभावित भएको वन डिभिजन कार्यालयले जनाएको छ । र यो लहरा देशको पूर्वीभागबाट पश्चिम भागसम्म पुगेको छ ।

फरेस्टएक्सन नेपाल नामक गैरसरकारी संस्थाका कार्यक्रम संयोजक तथा वनस्पतिविद् लीलानाथ शर्मा स्थानीय समुदायले यस लहरा उखेल्ने, जलाउने, काट्ने र विषादी पनि प्रयोग गरेको बताउँछन् । तर कुनै पनि उपायले यो लहरालाई फेरि उम्रन, फैलिएर वन, रैथाने बोटबिरुवा र घाँसलाई छोप्नबाट रोक्न सकेन।

मायामितु न्याैपाने ग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।


अनुवाद नोट

जिपिजेका केन सुवेदीले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेका हुन्।