Zimbabwe

रिसर्चरदेखि राइड-सेयर ड्राइभरसम्म: किन यी जिम्बाबियनले आफ्नो बाटो मोडे

डिडिमस मुरु एकताका सरकारी रिसर्चरको रुपमा काम गर्थे । सन् २०२० मा भने उनले राइड-सेयरिङ एप्सको ड्राइभर भएर फुलटाइम काम गर्न थाले । के कमाइ सही ठहरियो त?

Read this story in
From Researcher to Ride-Share Driver: Why This Zimbabwe Man Made the Switch

गामुचिराई मासियिवा, जिपिजे मेक्सिको

डिडिमस मुरु उनको राइड-सेयरिङ कामको लचिनोपनाले गर्दा विद्यावारिधिको लागि अध्ययन गर्न समय पाएको र यसले उनलाई “अर्को राइडको लागि पर्खिने समयमा पढ्दै आराम पनि गर्न” दिएको कुरा बताउँछन् ।

हरारे, जिम्बाबे — सन् २०२० को फेब्रुअरी महिनासम्म डिडिमस मुरुले जिम्बाबेको मिनिस्ट्री अफ हेल्थ एन्ड चाइल्डक्यरमा रिसर्चरको रुपमा काम गरे । उनी यस जागिरमा नौ वर्ष आबद्ध थिए । यो राम्रो सरकारी जागिर थियो जसमा स्वास्थ्य बीमाजस्ता सुबिधा र ३०० अमेरिकी डलर बराबरको मासिक तलब पाइन्थ्यो । अनुसन्धानको क्षेत्र पनि थियो जसमा उनले वर्षौं अध्ययन गरी आफ्नो भविष्य बनाउने निर्णय गरेका थिए ।

यसैबेला उनका साथीहरुले उनीहरुले नै काम गरिरहेको ट्याक्सी-सेयरिङ एप ह्विन्डीको बारेमा उनलाई जानकारी दिए । सन् २०१५ मा, हरारे बजारमा प्रवेश गर्ने यो नै पहिलो ट्याक्सी-सेयरिङ एप थियो जुन स्थानीय उद्यमी प्याट्रिक मन्याङगड्जेले शुरु गरेका थिए ।

मुरुले ड्राइभरको रुपमा साइन अप त गरे तर आफ्नो आयमा भरथेग गर्न मात्र ।

मिनिस्ट्रीमा आफ्नो काम शुरु गर्नुअघि उनी ग्राहकका केही रिक्वेस्टहरु लिन्थे । कहिलेकाहीं धेरै व्यस्त नभएको बेलामा भने उनी दिउँसो पनि रिक्वेस्ट लिन्थे ।

“कामपछि बेलुका ५ बजेदेखि राति ९ बजेसम्म राइड गर्थें । सप्ताहन्तमा त बिहानैदेखि मध्यरातसम्म नै गर्न पुग्थें,” मृदुभाषी र स्पष्ट बोल्ने मुरु भन्छन् ।

तर उनको जागिरको आफ्नै माग थियो र यसरी दोहोरो काम गर्नु धेरै चुनौतीपूर्ण थियो । दिन सकिनै लाग्दा उनी सधैं थकाइले चुर हुन्थे, तर यो आम्दानीले गर्दा उनको मासिक तलब भने दोब्बर नै भयो । त्यसैले धेरै कमाउने सम्भावनाको प्रलोभनमा, सन् २०२० को फेब्रुअरीमा मुरुले ट्याक्सी चालक बन्न आफ्नो सरकारी जागिर छाडे । आम्दानी राम्रो थियो, तर खतरनाक जोखिमहरू र साथीभाई तथा परिवारलाई समय दिन नसक्नु र यस कामका अन्य पाटोहरुले झन्डै चार वर्षपछि उनको यो व्यवसाय छोड्ने निर्णयमा योगदान दिए ।

छोड्ने निर्णय गर्नुअघि, मुरुले दुईवटा प्लेटफर्ममा काम गरिरहेका थिए: अन्तर्राष्ट्रिय राइड-सेयरिङ सेवा इनड्राइभ जसले सन् २०२३ को मार्चमा जिम्बाबेमा सञ्चालन शुरु गरेको थियो र ह्विन्डी । हरारेका अन्य राइड-सेयरिङ एपहरूमा भाया, ट्याक्सीएफ, जी-ट्याक्सी, टोडा र आईट्रान्सी पर्दछन् । मुरु भन्छन्, हरारेका ड्राइभरहरूले एकभन्दा बढी एप प्रयोग गर्नु सामान्य हो किनभने ग्राहकका प्राथमिकता फरक-फरक हुन्छन् । “तपाईंले एउटा एप प्रयोग गर्नुभयो भने, अरु एप्लिकेसनका अन्य सम्भावित ग्राहकहरू गुमाउनुपर्ने हुनसक्छ ।”

expand image
expand slideshow

गामुचिराई मासियिवा, जिपिजे मेक्सिको

मुरुले राइड-सेयरिङ चालक भएर काम गर्न थालेपछि आफ्नो जीवन उल्लेखनीय रुपमा सुधारिएको बताएपनि उनी आफ्नो परिवार र साथीभाईलाई बेवास्ता गरेकोमा भने चिन्तित थिए ।

प्रत्येक प्लेटफर्म फरक तरिकाले सञ्चालित हुन्छ । ह्विन्डीले समय र दूरीको आधारमा मूल्यको हिसाब गरेर मिटर राखिएको ट्याक्सीले जस्तै काम गर्दछ । इनड्राइभ एक बोलकबोल प्रणाली हो जहाँ सम्भावित यात्रुहरूले राइडको लागि आफूले तिर्न चाहेको रकम प्रस्ताव गर्छन्, अनि चालकसँग कुरा गर्छन् । मुरुलाई बोलकबोल प्रणाली बढी प्रभावकारी लाग्छ किनकि, विशेष गरी रातको समयमा जब थोरै चालकहरू मात्र उपलब्ध हुन्छन्, यसले ड्राइभरलाई मूल्य नियन्त्रणको शक्ति दिन्छ ।

ह्विन्डीले जिम्बाबेमा २०० भन्दा बढी परिवारहरूको जीविकोपार्जन गराउँछ, प्लेटफर्मकी प्रशासक सामन्था मासिम्बा भन्छिन् । “हामीलाई मासिकरुपमा झन्डै १०,००० रिक्वेस्ट प्राप्त हुन्छन् र हामीसँग २०,००० भन्दा बढी सक्रिय ग्राहकहरु छन् ।”

दक्षिण अफ्रिका र नाइजेरियाजस्ता देशहरूको तुलनामा, जिम्बाबेमा राइड-सेयरिङ ढिलो गतिले अघि बढिरहेको छ, मासिम्बा भन्छिन् । कम खर्चिने शक्तिको कारण देश पछाडि परेको मान्यता राख्ने उनी यसको श्रेय भने देशको आर्थिक अवस्था र अस्थिर इन्टरनेट जडानलाई दिन्छिन् ।

मुरुलाई आफ्नो सरकारी जागिरको याद आएपनि पछुतो भने थिएन । “फड्को मार्नु सही थियो,” उनी भन्छन् । कामले लचकता र राम्रो आम्दानी प्रदान गरेको कुरा उनी थप्छन्: मासिक औसत १००० अमेरिकी डलर “जुन मैले पहिले कमाउनेभन्दा झण्डै तीनगुना हो ।”

उनको सबैभन्दा कम मासिक आम्दानी ५०० अमेरिकी डलर थियो जुन हरारेको औसत घरपरिवारको आम्दानीको दोब्बरभन्दा बढी हो । राष्ट्रिय खाद्य तथा पोषण सुरक्षाका मुद्दाहरू समन्वय गर्ने सरकारी नेतृत्वको एक टोली जिम्बाबे भल्नरेबिलिटी एसेस्मेन्ट कमिटीको हालको एक रिपोर्टअनुसार हरारेको औसत घरपरिवारको आम्दानी १८८,८६५ जिम्बाबियन डलर (२३१ अमेरिकी डलर) छ ।

मुरुले प्रत्येक राइडको लागि कमिसन तिर्थे — इनड्राइभमा १०% र ह्विन्डीमा १६% । कमिसन घटाउनेबारे ड्राइभरहरुले ह्विन्डीसँग वार्ता गर्न प्रयास गरेको तर यो कुरा अझै नभएको मुरु बताउँछन् ।

यता मासिम्बा भने ह्विन्डीले चालकहरुलाई १६% कमिसन लिने कुरा अस्वीकार गर्छिन् । उनले कम्पनीको चालकहरूसँग फरक व्यवस्था हुने गरेको बताइन् । यद्यपि, उनले गोप्यताको कारण देखाउँदै विवरणहरू भने खुलाइनन् ।

expand image
expand slideshow

गामुचिराई मासियिवा, जिपिजे मेक्सिको

मुरुको सबैभन्दा कम मासिक आम्दानी ५०० अमेरिकी डलर थियो जुन हरारेको एक घरपरिवारको औसत मासिक आम्दानीभन्दा अझ बढी नै छ ।

राइड-सेयरिङको क्षेत्रमा एकताको कमीले मुरुलाई पिरोलेको थियो । “कतै केही भइहाल्यो भने, ड्राइभरका लागि उठिदिने कोही पनि हुँदैन । शून्य सुरक्षा छ,” उनी भन्छन् ।

जिम्बाबेमा ट्याक्सी-सेयरिङ एप्सलाई नियन्त्रण गर्ने कुनै विशेष कानुन नभएपनि, यातायात व्यवसायमा श्रम ऐन अन्तर्गत रोजगारदाता र कर्मचारीहरूबिच सामूहिक बार्गेनिङ सम्झौता छ जसमा ट्याक्सी चालकहरुका लागि विशेष प्रावधानहरू समावेश गरिएका छन् । सम्झौतामा ज्याला, काम गरेको समय र भुक्तानीसहित व्यवसायका सेवा शर्तहरू उल्लेख हुन्छन् ।

काम गर्न थालेपछि आफ्नो जीवनमा व्यापक सुधार आएको मुरु बताउँछन् । उनी आफ्नो परिवारलाई सजिलै पाल्नसक्ने र केही आरामदायी कुराहरु पनि दिलाउनसक्ने भए । “मेरी छोरीसँग सधैं ट्याब्लेट होस् भन्ने चाहना र त्यो किनिदिन गरेको संघर्ष सम्झिन्छु,” उनी भन्छन् । पछि उनी त्यो किन्न सक्षम भए ।

सो कामको लचिलोपनाले उनलाई सन् २०२२ मा शुरु गरेको एप्लाइड सोसल साइन्सेसमा विद्यावारिधिको लागि अध्ययन गर्न पनि समय दियो । यसले नै उनलाई “अर्को राइडको लागि पर्खिने समयमा पढ्दै आराम पनि गर्न” समय मिल्यो, करिब १५ राइड सम्पन्न गरेका मुरु भन्छन् ।

तर काम र पढाइको सन्तुलन मिलाउन भने सजिलो थिएन । उनले “ब्रेक लिएर दिनमा २४ घण्टा काम गरेको,” मुरु बताउँछन् । साथै, ग्राहकले प्राय: “अजिब समयमा” बोलाउने कुरा पनि थप्छन् ।

बिस्तार-बिस्तार उनलाई हाल ३ वर्षकी आफ्नी छोरीलाई बेवास्ता गरिरहेको र उनी “आवश्यक बलियो बन्धन विना नै हुर्किरहेकी” जस्तो अनुभव हुन थाल्यो ।

अपराध दर उच्च भएको क्षेत्रमा राइड-सेयरिङ चालक भएर काम गर्दा कहिलेकाहीं मुरुको काम जोखिमयुक्त हुन्थ्यो । सन् २०२३ को अगस्तमा कामपछि घर फर्किने क्रममा उनी लुटिएका थिए । उनले एउटा मानिसलाई कारले ठक्कर दिएको भन्ने लागेर मद्दत गर्ने बिचारले गाडी रोकेका थिए । तर त्यो एक जाल थियो । तीनजना मानिसहरु उनीतिर हानिए, उनको पैसा र फोन लुटे । उनलाई कारबाहिर निकालेर बेस्सरी हुँइक्याए । कार पनि चोरे ।

आफ्नो फोन र कार फिर्ता पाएपनि त्यस घटनाले भने मुरुलाई थरथर बनायो ।

तर केही अविस्मरणीय क्षणहरु पनि थिए । जस्तै, सन् २०२२ मा आयतनको हिसाबले संसारको सबैभन्दा ठूलो मानव-निर्मित ताल करिबामा छुट्टी मनाउन जाने ग्राहकहरुबाट उनले रिक्वेस्ट पाएका थिए ।

“काम गर्दै छुट्टी मनाउन पनि पाएको थिएँ,” उनी भन्छन् ।

आफ्नो कमाइबाट मुरु खुशी त थिए तर अर्कोखालको काममा फड्को मार्न आतुर पनि थिए । जनवरीको शुरुवातमा उनी आफ्नी छोरीसित बेलायतमा बसाइँ सरे, जहाँ पाँच वर्ष विवाहित उनकी श्रीमती सन् २०२३ को अक्टोबरमा कामको लागि गएकी थिइन् र जहाँ उनी आफ्नो करियर थप बढाउने र राम्रो काम पाउने आशा राख्छन् ।