Uganda

पहिलो बिसौनी, युगान्डा। अर्को, विश्व? टुरिजम एपले पूर्वी अफ्रिकामा आफ्नो स्थान बनाउँदैछ।

संस्थापक ब्रायन नमान्या आवास, टुर्स तथा अन्य अनुभवहरूको एक अनलाइन बजार टुबायोको भविष्यबारे छलफल गर्छन्।

Read this story in
How a Tourism App in Uganda is Making Its Mark in East Africa – and Beyond

बीट्रीस लामवाका, जिपिजे युगान्डा

टुबायोले कम्पाला र नैरोबीमा मासिक बजारको आयोजना गर्दछ जसले २०० भन्दा बढी व्यापार व्यवसायहरूलाई आकर्षित गर्नुका साथै रोजगारीका अवसरहरू सिर्जना गर्दछ, टुरिजम प्लेटफर्मका संस्थापक ब्रायन नमान्या भन्छन्।

कम्पाला, युगान्डा — एक कन्फेरेन्समा भाग लिन सन् २०१९ मा केन्याको नैरोबीमा यात्रा गर्दा ब्रायन नमान्या सो शहर घुम्न उत्साहित थिए। तर पहिलोपटक आएकाले कताबाट शुरु गर्ने कुनै भेउ पाएनन्। ट्राभल एजेन्टमार्फत टुर गराउने एउटा विकल्प त थियो तर निक्कै महँगो पर्थ्यो।

“मैले केही पनि गरिनँ। होटेलमा बस्ने काम मात्र भयो।”

यसैले उनलाई सोच्न बाध्य पार्‍यो। शहरबारे राम्रो ज्ञान भएको कुनै स्थानीयसँग हिंड्ने टुर बुक गर्न पाइने कुनै प्लेटफर्म भइदिएको भए? नमान्या भन्छन्, त्यति नै बेला उनलाई टुबायोको बिचार फुरेको थियो, एक अनलाइन यात्रा बजार जसमा यात्रीहरुले पूर्वी अफ्रिकाभित्रका आवास तथा अनुभवहरूको लागि बुक गर्न सक्छन्। हालसम्म यस प्लेटफर्मका लगभग ७७,००० प्रयोगकर्ता छन्।

मात्र एक इन्टरनेट जडानमार्फत उनी युगान्डाका ४ करोड ७० लाख बासिन्दामध्ये २ करोड ७० लाखसँग पहुँच पाउन सक्थे। त्यसैले नै उनले प्लेटफर्मको नाम टुबायो राखेका हुन् जसको अर्थ स्थानीय युगान्डन भाषा रुन्यानकोलमा “हामी सबैतिर छौं” भन्ने हुन्छ।

“सफ्टवेर निर्माणको काम मात्र गर्नु थियो। मजस्ता युवाका लागि यो एउटा सजिलो इन्ट्री पोइन्ट थियो किनभने यसलाई धेरै पुँजीको आवश्यकता पर्दैनथ्यो,” नमान्या बताउँछन्। इन्टरनेटले उनलाई विश्व बजारमा पनि पहुँच दिनसक्थ्यो।

यस सपनालाई साकार पार्न नमान्यालाई आवश्यक परेको प्रविधिको विकास गर्ने एक टिमको खाँचो थियो। त्यतिबेला उनले यसो गर्न सकेनन्, जसको कारण उनले सामाजिक सञ्जालमा आफ्नो प्लेटफर्म बनाउने निर्णय गरे। सन् २०१९ को नैरोबीको यात्रालगत्तै युगान्डाको सौन्दर्य प्रदर्शन र यात्रा अनुभव बिक्री गर्न नमान्याले इन्स्टाग्राममा टुबायो बनाए।

तर शुरुका केही महिनामा उनका अनुभव किन्ने वा आवास बुक गर्नेहरुको संख्या “निराशलाग्दो” थियो। उनी आफ्नो कामलाई प्रवर्द्धन गरिदिन आग्रह गर्दै आफ्ना इन्स्टाग्रामका फलोअर्सतिर मोडिए। मौखिक प्रचारबाट पनि मार्केटिङ गरे, अनि बल्ल स्थिति सुध्रिन थाल्यो।

त्यसपछि, मास्टरकार्डले उनको योगदानको कदर गर्दै उनलाई १५,००० डलर अनुदान प्रदान गर्‍यो जसको कारण उनी डेभेलपरहरु राख्न सक्षम भए। उनले सन् २०२० मा एप लन्च गरे।

expand image
expand slideshow

बीट्रीस लामवाका, जिपिजे युगान्डा

ब्रायन नमान्या कम्पालाको बुगोलोबीस्थित टुबायोको मासिक बजारमा विक्रेताहरूसँग कुराकानी गर्दै।

टुबायोमा जसले पनि उत्पादनहरु प्रदर्शन गर्न वा सिटी टुर, वन्यजन्तु एक्स्कर्सन वा फिटनेस क्लासजस्ता अनुभवहरु प्रदान गर्न सक्छ। मात्र उनीहरुले प्याकेज बनाएर प्लेटफर्ममा अपलोड गर्नुपर्छ, नमान्या भन्छन्।

प्रयोगकर्ताहरूले स्थानीय मुद्रा वा एम-पेसा जस्ता स्मार्टफोन मनी एपहरूमार्फत भुक्तानी गर्न सक्छन्। यस्ता विकल्पहरू अन्तर्राष्ट्रिय यात्रा प्लेटफर्महरूमा उपलब्ध नभएको उनी बताउँछन्। यसले स्थानीय यात्रुहरूलाई आकर्षित गर्दछ।

“यी उनीहरूका लागि परिचित कुराहरु हुन् जसले हामीलाई लेनदेन गर्न कडाईका साथ डलर र कार्डहरूसँग काम गर्ने विश्व खेलाडीहरूभन्दा माथिल्लो दर्जामा राख्छ,” नमान्या भन्छन्।

टुबायोका अपरेसन प्रमुख मुगिशा बोरिस नहाब्वे भन्छन्, कुनै अनुभव वा आवासको लागि कति शुल्क लिने भन्ने कुरा होस्टकै स्वेच्छा हो। यस अनलाइन प्लेटफर्मले चाहिं १२ प्रतिशत कमिसन लिन्छ जुन नमान्याका भनाइमा अन्य विश्वब्यापी एपसरह नै हो।

तर कम्पालाका टुबायो आवास होस्ट कोलिन्स एम्बुलाक्यालोका अनुसार, यस प्लेटफर्मले होस्टहरुलाई १२ प्रतिशतभन्दा बढी शुल्क लिन्छ। एरबिएन्डबि र बुकिङ डट कमजस्ता यात्रा एपहरूको क्रमश: ३ प्रतिशत र १५ प्रतिशतको तुलनामा उनले प्रत्येक बुकिङको लागि २० प्रतिशत कमिसन तिर्ने गरेको बताए। चर्को कमिसन नै यस प्लेटफर्मको एक मात्र नकारात्मक पक्ष हो, उनी भन्छन्।

एम्बुलाक्यालो यस प्लेटफर्ममा प्रतिबद्ध रहेका छन् किनभने यो स्थानीय हुनुका साथै यसले उनलाई राम्रो व्यापार पनि प्रदान गरेको छ। सन् २०२२ मा प्लेटफर्ममा जोडिएका एम्बुलाक्यालोले साता शुभ रहँदा दुई देखि तीनवटा बुकिङ पाउने गरेको बताउँछन्।

सोलोमन सेमुकेटे युगान्डाको राष्ट्रिय आर्चरी टिमका खेलाडी हुन् जो टुबायोमा अनुभवहरू पनि होस्ट गर्छन्। एक साथीको प्रोत्साहनमा सन् २०२० सकिनै लाग्दा आर्चरीको अनुभव होस्ट गर्न थालेको उनी बताउँछन्। सेमुकेटेले एक दिनमा सात देखि १० जना ग्राहकहरू पाउँछन् जुन प्रायः युगान्डन हुन्छन्। “दिनमा १५ जना सम्म पुगेका थिए,” उनी भन्छन्।

उनी दुई घण्टाको सत्रको लागि प्रति व्यक्ति ५१,००० शिलिंग (१३.४३ अमेरिकी डलर) शुल्क लिन्छन्। त्यसपछि टुबायोलाई प्रति व्यक्ति १२,८०० शिलिंग (३.३७ अमेरिकी डलर) कमिसन तिर्छन्, जुन २५ प्रतिशत कमिसन हुनुका साथै यसका संस्थापकले भनेको भन्दा बढी हो।

expand image
expand slideshow

बीट्रीस लामवाका, जिपिजे युगान्डा

अनलाइन यात्राको बजार टुबायोद्वारा कम्पालाको बुगोलोबीमा मासिक बजारको आयोजना गरिन्छ।

“उनीहरुको कामको हिसाबले यो ठिकै हो,” उनी भन्छन्।

यस प्लेटफर्मलाई चेम्बर अफ यङ्ग इंटरप्रेन्योर्स युगान्डाले बेस्ट स्टार्टअप फर २०२२ घोषित गरेको थियो र पल्स इन्फ्लुएन्सर अवार्ड्सले २०२३ टेक इन्फ्लुएन्सर अफ द इयर घोषित गरेको थियो।

सन् २०२३ को नोभेम्बरसम्म टुबायोसँग आठ स्थायी कर्मचारीहरु रहेको नहाब्वे बताउँछन्।

रोजगारीको अवसर सिर्जना गर्दै, टुबायोले कम्पाला र नैरोबीमा महिनाको एक दिन मार्केट डेको आयोजना गर्ने गर्दछ जहाँ २०० भन्दा बढी व्यवसायीहरुले हस्तकलाका सामानको पसल थाप्दछन्।

यी उपलब्धिका बाबजुद पनि, कम्पनीका चुनौतीहरु भने छन्। उदाहरणको लागि, नहाब्वे भन्छन्, उनीहरुको स्तरको सुनिश्चितताको लागि सो प्लेटफर्ममा प्रदान गरिने हरेक आवास र अनुभवको अनुगमन गर्न उनीहरु असमर्थ छन्। यो ज्यादै महँगो पर्न जान्छ, उनी भन्छन्। “मानिसले गर्छु भनेको कुरा नै गरिरहेका छन् भनेर हामीले बिश्वास गर्नुपर्छ।”

नमान्या भविष्यमा टुबायोलाई युगान्डन बजारभन्दा पर फैलाउन चाहन्छन्।

“हामीले स्थानीय बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेका छौं भन्ने निश्चित गर्न चाहन्छौं। त्यसपछि क्षेत्रमा जान्छौं, सोही तरिका अपनाउँछौं। अनि महादेशमा जान्छौं। त्यसको लगत्तै विश्वब्यापी तहमा खेलिरहेका हुनेछौं,” उनी भन्छन्।

उनलाई अफ्रिकी समुदाय र सरकारहरूले पर्यटनमा थप लगानी गर्न सक्छन् भन्ने आशा छ। अवसरहरू छन्, उनी भन्छन्।

“नाइल पूरै उजाड छ। यो अफ्रिकाको सबभन्दा लामो नदी हो। यसको राम्रोसँग सदुपयोग गर्न सकिन्छ। पर्यटकहरुले दृश्य मात्र देख्दछन्। हामीले होटलहरु खोल्न, यात्रीहरु रमाउने खालका गतिविधिहरु सिर्जना गर्न सक्छौं,” नमान्या भन्छन्। “गर्न सकिने कुरा धेरै छन्।”