Democratic Republic of Congo

डीआरसी अस्पतालले नयाँ आमाहरूलाई डेलिभरी खर्च नतिरुन्जेल अस्पतालमा नै राख्छ

गोमा सहरका अस्पतालहरूले प्राकृतिक रूपमा हुने जन्मको खर्चहरू व्यवस्थापन गर्न सक्छन्। तर सिजेरियनबाट डेलिभरी गराएका आमाहरू वा जसका नवजात शिशुहरूलाई सघन उपचार गर्नुपर्छ, ती आमाहरूले लागेको उच्च खर्च नतिरेसम्म अस्पतालबाट जान पाउँदैनन्। एक जना डाक्टरले बताएअनुसार उत्तर किभु प्रान्तीय अस्पताल बिरामीहरूले तिर्ने पैसामा चलेको छ र नत्र भने टाट पल्टिनेछ। उनी भन्छन्, आफ्नो अस्पताल र युरोपियन युनियन बीचको सहकार्य परियोजनाले यी धेरै समस्याहरू समाधान गर्नुपर्छ।

Read this story in

Publication Date

DRC Hospital Holds New Mothers Until They Pay Delivery Costs

मरियम अबुबकर एस्पेरेन्स, जीपीजे डीआरसी

मरियम मुशोबेक्वा (बायाँबाट), जोली काबिशुबामो र राहेल मुफुन्गिजी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको गोमामा रहेको उत्तरी किभु प्रान्तीय अस्पतालमा राखिएका महिलाहरू हुन्। उनीहरूले आफ्ना बच्चा डेलिभरी गराउँदाको खर्च तिर्न नसकेकोले अस्पतालले उनीहरूलाई छोड्न मानेको छैन।

Publication Date

गोमा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो – अस्पतालमा यी आमाहरूलाई गेटभित्र राखिएको छ र उनीहरूको काखमा शिशु छन् । तिनीहरू यहाँ महिनौंदेखि छन्। चाउरिएको निधार लिएर उनीहरू हातमा प्याकेज बोकेका बाटामा हिँड्नेहरूलाई हेर्छन्, कुनै असल परोपकारी/सामरीले उनीहरूलाई केही खानेकुरा ल्याएर दिनेछन् भन्ने आशा राख्छन्।

बच्चा जन्मिएबेला देखि नै यी आमा र शिशुहरू अस्पतालमा नै छन्, उनीहरूले डेलिभरी खर्च तिर्न नसकेकोले उनीहरू जान पाएका छैनन्। पैसा नतिरेसम्म अस्पतालले उनीहरुलाई जान दिँदैन।

“मसँग पैसा छैन,” चार सन्तानकी ३५ वर्षीया आमा राहेल मुफुन्गिजी भन्छिन्। उनी भन्छिन्, उनी र उनको बच्चा एस्थरलाई उत्तर किभु प्रान्तीय अस्पतालमा “बन्धक बनाइएको” छ। उनी सात महिनादेखि त्यहाँ छिन्। १५० अमेरिकी डलर खर्च तिरेपछि मात्र उनी जान पाउँछिन् भनी अस्पताल भन्छ।

उनकै अवस्थामा रहेका अन्य आमाहरू जस्तै मुफुन्गिजी भन्छिन्, त्यहाँबाट निस्केर जान चाहिने पैसा सङ्कलन होला जस्तो लाग्दैन। श्रीमान्सँग एक पैसा पनि छैन र बेरोजगार छन्, उनी भन्छिन्।

उनी भन्छिन्, “उनले कमाएको सबै पैसा घरमा रहेका हाम्रा अन्य बच्चाहरूको खानामा खर्च हुन्छ।”

डीआरसीको उत्तरी किभु प्रान्तको राजधानी गोमामा डेलिभरीपछि महिलाहरू अस्पतालमा रोकिने चलन सामान्य भएको छ। सिजेरियन सेक्सन गराएर बच्चा जन्माएका वा आफ्नो शिशु सघन उपचार कक्षमा भर्ना गरिएका आमाहरू सबैभन्दा जोखिममा हुन्छन्, किनभने तिनीहरूको खर्च सबैभन्दा धेरै उठ्छ ।

अस्पतालमा बन्धक बन्ने डरले केही गर्भवती महिलाहरूले संक्रमण वा जन्मसँग सम्बन्धित अन्य जटिलता उत्पन्न हुने जोखिम भए पनि सुडेनीहरूबाट डेलिभरी गराउन चाहन्छन्।

उत्तर किभु प्रान्तीय अस्पतालको प्रसूति तथा स्त्री रोग विभागका फिजिसियन डा. जोसे कायुम्बा भन्छन्, यो अस्पतालले कुनै सरकारी सहयोग पाएको छैन, त्यसैले महँगो उपचार लिएका महिलालाई पैसा नतिरी जान दिइयो भने अस्पताल टाट पल्टिनेछ।

“स्टाफको तलब, मेडिकल सामग्री खरिद र सञ्चालन खर्चहरू धान्न उपचार खर्चबाट आउने पैसामा नै अस्पताल निर्भर छ,” उनी भन्छन्। “यसले अस्पताललाई जोखिमपूर्ण आर्थिक स्थितिमा राखेको छ, किनभने यसको संचालन खर्च बिरामीबाट नै उठ्ने अपेक्षा हुन्छ, तर धेरैजसो बिरामीहरू गरिब परिवारबाट आएका हुन्छन्।”

कयुम्बा भन्छन्, बच्चा जन्माएपछि १० मध्ये एक जना महिला बन्धकमा पर्छन्। उत्तर किभु प्रान्तीय अस्पतालमा सामान्य डेलिभरीको औसत खर्च ३० देखि ४० अमेरिकी डलर पर्न आउँछ। प्राकृतिक रूपमा जन्म दिने गरिब महिलालाई पैसा तिर्न सकेनन् भने पनि घर जान दिइन्छ किनभने यो खर्च अस्पतालले सहजै बेहोर्न सक्छ, उनी भन्छन्। तर सिजेरियन सेक्सनबाट डेलिभरी गराइएका वा डेलिभरीपछि देखिएका जटिलताहरूको उपचार गर्नेहरूको खर्च प्रायजसो १५० डलरभन्दा बढी आउने गर्छ।

अस्पतालले युरोपेली संघसँग मिलेर सहयोग परियोजना संचालन गर्न खोजिरहेको छ र सबै कुरा राम्रो हुँदै गएमा यस वर्षदेखि नै यो परियोजना सञ्चालन हुनेछ। “यदि यो परियोजना कार्यान्वयन भयो भने हामीले यस्ता धेरै समस्याहरूको समाधान खोज्न सक्नेछौँ र विपन्न बिरामीहरू, विशेष गरी डेलिभरी जटिलताहरू भएका गरिब महिलाहरूलाई सहयोग गर्न सक्नेछौँ,” कयुम्बा भन्छन्।

यसैबीच, मेडिकल खर्च तिर्न नसक्ने भएपछि मार्सेलिन बुजिरिरीले अस्पतालमा बन्धक भएको तीन महिना बितिसकेको छ। उनले सिजेरियन सेक्शन गरेर बच्चालाई जन्म दिइन्। घर फर्केपछि चिरेको ठाउँ आफैं निको भएन र उपचारका लागि अस्पताल गइन्।

उनले चारवटा शल्यक्रिया गर्नुपरेको थियो । उपचार खर्च ४०० डलर आयो, र यो भनेको ५९ प्रतिशत जनसङ्ख्या प्रति दिन १.२५ डलरभन्दा कम आयमामा बाँच्ने देशको हकमा निकै ठूलो रकम हो।

उनी भन्छिन्, ‘मेरो श्रीमानले आफ्नो सबै बचत ममा खर्च गरेका छन् । उनी अगाडि भन्छिन्, दिनभर श्रीमान पैसा जोहो गर्ने बाटो खोज्दै हिंड्छन्। राति उनी घरबाट अस्पताल आउँछन् र आफ्ना अन्य दुई बच्चाहरूलाई छिमेकीको भरमा छोड्छन्।

“अस्पतालको जनरल वार्डलाई मेरो परिवार राख्ने ठाउँ बनाउनुबाहेक मसँग अर्को विकल्प थिएन। हामी अस्पतालमा बस्छौं र अस्पताल नै हाम्रो पारिवारिक कोठा भएको छ, “उनी भन्छिन्।

२२ वर्षीय विद्यार्थी ग्लोरियस काम्बीले जुम्ल्याहा बच्चा जन्माइन् । धेरै जुम्ल्याहा बच्चाहरू जस्तै उनका बच्चाहरू पनि समय नपुगी जन्मिएका थिए र नवजात शिशु इन्क्यूबेटरमा राखेर सघन उपचार गर्नुपर्यो। दुई हप्ता पछि एउटा बच्चाको मृत्यु भयो र काम्बीलाई ६०० डलरको बिल थमाइयो। बाँचेको शिशुको उपचारको अर्को महिना पछि उनको बिल जम्मा २०२४ डलर पुग्यो।

बुबाले ७०० डलर दिनुभएको छ – यो उहाँसँग भएको सबै थियो, उनी भन्छिन्।

उनी भन्छिन्, “मलाई यस्तो अवस्थामा छु जहाँबाट म आफैलाई निकाल्न सक्दिनँ, भगवानको चमत्कार नै हुनुपर्छ।”

उत्तर किभु प्रान्तीय अस्पतालले इयूको लगानी परियोजनामा ​​काम गरे पनि गोमाको बाहिरी क्षेत्र काटिन्डो दोस्रोमा बस्ने २३ वर्षीया बर्नाडेट शिव्या कविराले आर्थिक रूपमा सुरक्षित रहने निर्णय गरिन् र अस्पतालमा बच्चा जन्माउनुको सट्टा छिमेकी सुडेनीको सहयोग लिइन्। पैसा नभएर अस्पतालमा बन्धक हुने जोखिम मोल्न उनी चाहन्नथिन्।

उनी भन्छिन्, सुडेनीको खर्च १० वटा नयाँ रेजर ब्लेड, एक दर्जन डायपर र फर्मेन्ट गरेर केराबाट बनाइएको अल्कोहल वेभरेज कासिक्सीको एउटा क्यानको लागि तयारी भए पुग्छ।

“हामीले पछि सुडेनीलाई ७ डलर मूल्य बराबरको लुंगी उपहार दिन सक्छौं, र बच्चा जन्माउन पनि समस्या हुँदैन,” कविरा भन्छिन्। “यस तरिकाले डेलिभरीमा जम्मा १० डलरजति खर्च हुनेछ।”


मरियम अबुबाकर एस्पेरेन्स (जीपीजे रिपोर्टर)ले केही अन्तर्वार्ता स्वाहिलीबाट फ्रान्सेली भाषामा अनुवाद गरिन्। न्दायाहो सिल्भिस्ट्रे (जीपीजे) ले फ्रान्सेली भाषाबाट अंग्रेजीमा अनुवाद गरिन्।

Related Stories