Nepal

नेपालको व्यस्त सडकमा ट्याक्सी चलाएर परिवर्तन ल्याउँदै महिला चालक काठमाडौंमा ट्याक्सी चलाएरै समृद्ध जीवन बिताइरहेकी महिला चालक

नेपालको व्यस्त काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका साधन चलाउने महिलाको सङ्ख्या एकदमै न्यून छ । तर विद्या कुमारी लामाले भने ट्याक्सी चलाउनुलाई नै आफ्नो पेशा बनाएकी छिन् र अहिले उनी अरूलाई पनि यो पेशामा लाग्न सिकाइरहेकी छिन् ।

Read this story in
She’s Driving Change as a Taxi Driver on Nepal’s Busiest Streets

याम कुमारी कंडेल, जिपिजे नेपाल

काठमाडौंमा आफ्नो ट्याक्सी अगाडि उभिएर फोटो खिचाउँदै विद्या कुमारी लामा ।

काठमाडौं, नेपाल —काठमाडौं उपत्यकाको व्यस्त सडकमा महिला ट्याक्सी चालक बिरलै भेट्न सकिन्छ । ३३ वर्षीय विद्या कुमारी लामा यिनै नगन्य महिला ट्याक्सी चालकमध्ये एक हुन् ।

नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यावसायी तथा चालक सेवा समाजका केन्द्रिय अध्यक्ष राज कुमार श्रेष्ठका अनुसार ३० लाख जनसङ्ख्या रहेको महानगरपालिका क्षेत्रमा जम्मा १२,३५० ट्याक्सीले इजाजतपत्र प्राप्त गरेका छन् । तीमध्ये नौ जना मात्र महिला चालक छन् । तर राइडिङ एपबाट ट्याक्सी सेवा दिनका लागि सरकारबाट ट्याक्सीको लाइसेन्स लिन र मिटरमा काम गर्न नपर्ने भएकाले राइडिङ एपबाट मात्र काम गर्ने महिला ट्याक्सी चालकको सङ्ख्या भने केही बढी छ ।

विद्या कुमारी लामा पनि राइडिङ एपबाट मात्र ट्याक्सी चलाउँछिन् । किराना पसल छाडेर पठाओ जस्ता एपबाट यात्रुहरूलाई सेवा दिन थालेकी लामाको दैनिक आम्दानी ५ सय रुपैयाँबाट बढेर झन्डै ४००० रुपैयाँ पुगेको छ । उनले यही काम गर्न भनेर २८ वर्षको उमेरमा गाडी चलाउन सिकेकी थिइन् ।

उनी भन्छिन्, “ड्राइभिङ लाइसेन्स पाउँदा खुसीको सीमा नै थिएन ।” सन् २०१८ मा लाइसेन्स प्राप्त गरेकी उनले आफ्नो काकाको ट्याक्सी लगेर ट्याक्सी चलाउन सिकेकी थिइन् । उनलाई प्रोत्साहन मिलोस् भनेर उनको काकाले उनले कमाएको पैसा आफैँ राख्न भन्थे । सन् २०२१ सम्म उनले पैसा जोगाएर किस्तामा कार किन्न सक्ने भइन् ।

expand image
expand slideshow

याम कुमारी कंडेल, जिपिजे नेपाल

काठमाडौंको सडकमा ट्याक्सी चलाउँदै विद्या कुमारी लामा ।

लामाले नेपाली बजारमा सबैभन्दा बढी लोकप्रिय रहेको बङ्गलादेशी राइड सेयरिङ एप पठाओ प्रयोग गरेर ट्याक्सी चलाउन थालिन् र त्यसपछि उनले कहिल्यै पनि पछाडि फर्केर हेर्न परेको छैन । उनले अझ राम्रो ठाउँमा गएर पहिलेको भन्दा फराकिलो फ्ल्याट भाडामा लिइन् । उनलाई आफ्नी नौ वर्षीय छोरीको स्कुल खर्च जुटाउन पनि सजिलो भयो । उनी भन्छिन्, “मैले चाहेको जस्तो जीवन बाँचिरहेकी छु ।”

ट्याक्सी चलाउन थालेपछि पैसा मात्र नभएर मान सम्मान पनि कमाएको उनी बताउँछिन् । “छोरी मान्छे भएर ट्याक्सी चलाएको देख्दा पुरुषहरूले प्रशंसा गरेका पनि छन्,” उनी भन्छिन् । “मसँग प्यासेन्जरहरू सेल्फी लिन मन पराउछन् ।” यात्रुहरूले उनलाई पठाओमा सुरक्षित ड्राइभरका रूपमा रिभ्यू दिने गरेका छन् । लामाकी छिमेकी र उनको नियमित प्यासेन्जरसमेत रहेकी कञ्चन श्रेष्ठ भन्छिन्, “पुरुषवादी समाजमा महिलाले ट्याक्सी चलाउदा गर्व लाग्छ ।”

उनी एपबाट काम गर्दा जति सुरक्षित महसुस गर्छिन्, अफलाइन काम गर्दा उनलाई त्यति सुरक्षित महसुस हुँदैन । उनी भन्छिन्, “छोरी भएर मान्छे तानेर प्यासेन्जर ल्याउन गाह्रो छ ।” यो एप प्रयोग गर्दा चालकहरूले यात्रुको नाम र थर जस्ता जानकारी हेर्न सक्ने भएकाले उनीहरूलाई केही हदसम्म सुरक्षित महसुस त हुन्छ तर यो एपले उनीहरूलाई यात्रुबाट कुनै विशेष सुरक्षा भने प्रदान गर्दैन । पठाओकी मार्केटिङ प्रबन्धक सुरक्षा हमालका अनुसार कम्पनीले महिला चालककै लागि भनेर विशेष सुरक्षा प्रोटोकल लागू गरेको छैन ।

लामाले परिवारका अन्य सदस्यलाई पनि आफूले जानेको सिप सिकाउने गरेकी छिन् । अहिलेसम्म उनले छ जना आफन्तहरूलाई गाडी चलाउन सिकाइसकेकी छिन् । उनीसँगै गाडी चलाउन सिकेका उनका ज्वाई सन्देश ताम्राकार भन्छन्, “विद्यालाई देखेर धेरैले ट्याक्सी सिकेका छन् ।” वैदेशिक रोजगारीका लागि दुबई जान ठिक्क परेका ताम्राकार अब लामाले जस्तै नेपालमै ट्याक्सी चलाउने पेशालाई निरन्तरता दिन चाहन्छन् ।

expand image
expand slideshow

याम कुमारी कंडेल, जिपिजे नेपाल

ललितपुरस्थित आफ्नो घरमा बस्दै गरेकी सुस्मिता लामा र उनकी आमा विद्या कुमारी लामा ।

राइड सेयरिङका क्षेत्रमा लामाको योगदानको कदर गर्दै पठाओले सन् २०२२ मा उनलाई द इन्फ्लुएन्सियल क्याप्टेन अवार्ड नै प्रदान गरेको थियो । पठाओले सहकर्मीहरूलाई प्रेरित गर्ने चालकको कदर गर्दै यो अवार्ड दिने गरेको छ । लामा भन्छिन्, “मेलै यतिका सम्मान पाउँला भनेर सपनामा पनि सोचकी थिइन ।”

तर यो पेशामा चुनौतीहरू पनि उत्तिकै छन् । उनले लामो समयसम्म काम गर्नु पर्छ । कहिलेकाहीँ त उनी बिहान ५ बजेदेखि राति ८ बजेसम्म काम गर्छिन् र घरको अत्यावश्यक काम गर्न वा छोरी दियालाई स्कुल लाने ल्याउने गर्न मात्र विश्राम लिने गर्छिन् । चालकहरूले काठमाडौंको धूलो-धुवाँ र प्रदूषणको बढी नै सास्ती खेप्नु पर्छ । हिलो तथा खाल्डाखुल्डी भएको सडकमा गाडी पटक पटक बिग्रिरहने भएकाले ममर्तका लागि पनि धाइराख्नुपर्ने हुन्छ ।

तर योभन्दा पनि सहरमा राइड सेयरिङ ड्राइभरहरूको सङ्ख्यामा आइरहेको तीव्र वृद्धिले गर्दा उनलाई बढी चिन्ता लागेको छ । चर्को प्रतिस्पर्धाले गर्दा उनको कमाई झन् झन् घट्दै गइरहेको छ । सुरुमा दिनको ८ हजार रुपैयाँसम्म हुने गरेको उनको कमाइ खुम्चिएर अहिले ठिक आधा भएको छ ।

तर पनि उनी आफ्नो ट्याक्सी चलाउने कामलाई दृढताका साथ निरन्तरता दिइरहन चाहन्छिन् । अहिले यत्तिको ठिकै रहेको उनी बताउँछिन् ।