Nepal

कवाडबाट मूर्तिसम्म: फोहोर न्यूनीकरणका लागि एक नेपाली कलाकारको कार्यआह्वान

श्यामानन्द सिंहले फालिएका कागज, बोतलका बिर्को र अन्य सामग्री प्रयोग गरी मूर्तिकला बनाउँछन्। अरूलाई प्रेरित गर्न उनले आफ्नो घरमा नि:शुल्क सङ्ग्रहालय खोलेका छन्।

Read this story in
From Scrap to Sculpture: A Nepali Artist’s Call to Action for Waste Reduction

अमृता जैसी, जिपिजे नेपाल

आफ्नै घरमा रहेको कला सङ्ग्रहालयमा फालिएका प्लास्टिक र कागजबाट बनाइएको पिंजडासहितको चरा हातमा बोकेका श्यामानन्द सिंह।

नेपालगन्ज, नेपाल — विगत १३ वर्षदेखि श्यामानन्द सिंहले फालिएका कार्डबोर्ड बक्स, पुराना किताब, प्रयोग भइसकेका कापीका पाना, पत्रपत्रिका, लठ्ठी, फोम सिट, बोतल र प्लाष्टिकका बिर्कोहरू प्रयोग गरी हस्तकलाका सामग्रीहरू बनाउँदै आएका छन् । “माटोको मूर्ति सबै बनाउँछन्, कागजको मूर्ति बन्न सक्तैन त भनेर आइडिया आयो” सिंह बताउँछन् ।

नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारी सिंहको बाल्यकालदेखि नै कलाप्रति प्रेम र लगाव थियो। युवावस्था र वयस्क जीवनमा समेत उनी चित्रकलामा लागिरहे। सेवानिवृत्त भएपछि, कलाप्रतिको उनको रुचि पर्यावरणीय समस्याहरूको चिन्तासँग जोडियो। यही चिन्ताले उनलाई फोहोरको रूपमा फालिएका सामाग्रीहरू प्रयोग गरेर मूर्तिकला र हस्तकलाका लोभलाग्दो सङ्ग्रह तयार गर्ने मार्गमा डोर्‍यायो। अहिले सिंहले आफ्नो घरका तीनवटा कोठालाई आफैले बनाएका कलात्मक वस्तुहरूले भरिएको सङ्ग्रहालयमा परिणत गरेका छन् । यो सङ्ग्रहालय सर्वसाधारणका लागि खुला छ। आफ्नै घरमा भएकोले भाडा पनि तिर्नु नपर्ने भएकोले यहाँ सबैले नि:शुल्क प्रवेश गर्न र हेर्न पाउँछन्। भाडा तिर्नुपर्ने अवस्थालाई विचार गर्दै उनी भन्छन् “भाडा तिरेपछि कहाँ निःशुल्क गर्न सकिन्छ ?”

कलाकार सिंहले कलाकृतिका लागि चाहिने सबै कच्चा पदार्थ कवाड व्यापारीहरूबाट खरिद गर्छन्। कार्टुन, कार्डबोर्ड, प्लास्टिकको बोतलको बिर्को र कलाकृतिका लागि राम्रो देखिने सामग्रीहरू लिन उनी कवाडखाना गइरहन्छन्। “म आफै गएर कबाडबाट लिएर आउँछु यी दफ्ती, काटुर्नहरू । मेरै घरमा कार्टुन, दफ्तीहरू आयो भने त्यो युज गर्दिन्छु । म त्यो बेला आफूलाई कलाकार सम्झिन्न, म आफूलाई कवाडी जस्तै ठान्छु । तिनीहरूलाई के थाहा म कलाकार हुँ,” उनी हाँस्दै सुनाउँछन्। उनको कवाडी सामानप्रतिको रुचि र लगाव सबैतिर प्रसिद्ध भइसकेको छ। यहाँसम्म कि उनले २५ वर्ष काम गरेर टेलिकम अफिसले पनि खेर जाने सामग्रीहरू उनको घरमा पठाइदिन्छ। “तिनीहरूलाई थाहा छ म कलाकृति बनाउछु भनेर,” उनी भन्छन् ।

नेपालगन्ज सहरमा दैनिक ३० देखि ३५ टन फोहोर उत्पादन हने गरेको नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी बताउँछन् । उनी भन्छन्, “करिब २५ टन फोहोर ल्याण्डफिल्ड साइटमा लगिन्छ र सङ्कलित फोहोरबाट आंशिकरूपमा मात्र पुनः प्रयोग हुने गरेको छ।”

expand image
expand slideshow

अमृता जैसी, जिपिजे नेपाल

श्यामानन्द सिंह आफ्नो हस्तकला र मूर्तिकलाका लागि कच्चा मालसामग्री खरिद गर्न कबाड व्यापारीकहाँ नियमित गइरहन्छन्। फालिने कागज र प्लास्टिकलाई पुन: प्रयोग गरेर उनले देवीदेउता, प्रसिद्ध स्मारक, चरा र अन्य जनावरहरू बनाएका छन्।

उनको कलाकृतिले मानिसहरूलाई अन्धाधुन्ध फोहोर फाल्न नहुनेबारे अधिक जागरुग बनाउनेछ र फोहोरलाई छानेर पुनःप्रयोग गर्ने कुरामा गम्भीरतापूर्वक विचार गर्न प्रेरित गर्नेछ भन्ने सिंहको आशा रहेको छ । उनले आफूले झोलाभरि बोकेका प्लास्टिक बोतलका ससाना बिर्को झट्ट हेर्दा काम नलाग्ने देखिए पनि त्यसबाट राम्रो कलाकृति बनाउन सकिने बताउँछन्। “हेर्दा यो एउटा सानो ढक्कन त हो नी । तर झोलाभरि जम्मा गरेको त्यै ढक्कनहरूको एउटा आकृति बन्छ जोड्दै गयो भने,” उनी भन्छन्।
मूर्तिकलाहरू बनाउन त्यति सजिलो कुरा थिएन, तरपनि बचपनदेखि नै आफूभित्र हस्तकला र चित्रकलाको भावना रहेकोले आफ्नो त्यो कलाकारिताको भावनालाई पूर्ण बनाउन आफू त्यो बेलादेखि नै प्रतिबद्ध रहेको सिंह बताउँछन्। “नौ कक्षादेखि चित्रकलामा रुचि भयो। कागजबाट मूर्ति बनाउन खोज्दा सुरुमा एकदुई चोटिमा बन्दै बनेन। पछि एकाएक गणेशको मूर्ति बनिगो। बनेपछि बनाउँदै गएँ,” सिंह भन्छन्।

नेपालको लुम्बिनी प्रदेश, बाँके जिल्लाको नेपालगन्ज शहर निवासी सिंहले विभिन्न कला प्रदर्शनीमा सहभागिता जनाइसकेका छन् । सन् २०२२ मा, नेपालगन्ज नगरपालिकाले शहरको लोकप्रिय बागेश्वरी मन्दिर परिसरमा आयोजना गरेको प्रदर्शनीमा सिंहलाई उनको कलाकृति प्रदर्शन गर्न ठाउँ उपलब्ध गराएको थियो।

तर, उनी आफ्नो कलालाई धेरैभन्दा धेरै मानिसले हेर्न र देख्न पाऊन् र वातावरणअनुकूल रूचिहरू विकास गर्न प्रेरित होऊन् भन्ने चाहन्छन्। यसका लागि स्थानीय सरकारले उपयुक्त कला सङ्ग्रहालय बनाइदिए हुन्थ्यो भन्ने उनको चाहना छ। उनी हरेक बच्चा र ठूला सबै मानिसले आफ्नो कला हेरून् भन्ने चाहन्छन्। उनी भन्छन्, “प्रत्येक बालाबालिकाले, हरेक मानिसले हेर्न पाओस् । मसँग प्रत्येक धर्मको कला छ । प्रत्येक संस्कृतिको कला छ । यो यरियाको कला छ । यहाँ कोठामा एक सामाग्रीको पछि अर्को छोपिएका छन्।”

केही महिनाअघि सिंहले घरको संग्रालयमा सामान नअटाएपछि नजिकै एउटा कोठा भाडामा लिएर त्यहाँ आफ्ना केही कलाकृति राखे। तर, उनी बिरामी परेपछि त्यो ठाउँको व्यवस्थापन र त्यहाँको कलाकृतिको रेखदेख गर्न सकेनन्। त्यसैले उनको त्यो ठाउँ केही समय चलाएर बन्द गरिदिए।

अमृता जैसी, जिपिजे नेपाल

श्यामानन्द सिंहले आफ्नो घरका तीनवटा कोठालाई कला सङ्ग्रहालयमा परिणत गरेका छन् जहाँ मानिसहरू आएर निःशुल्क अवलोकन गर्न सक्छन्।

“अहिले सानो सानो हजारौँ कला त्यहाँ अटाएका छन्,” चित्रकला र मूर्तिकलाले भरिएको कोठातिर देखाउँदै सिंह भन्छन्। “धेरै ठाँउ पनि छैन हामीसित, हावा पानीबाट जोगाउनुपर्‍यो । अर्थ भइदिए सिसाभित्र राखिदिन्थे ।”

सिंहले नेपालका विभिन्न संस्थाहरूको आग्रहमा खेर गएका सामग्रीहरू पुन: प्रयोग गरेर सामग्रीहरू बनाउने तालिम पनि दिने गर्थे। तर रोगले थालिएपछि उनले त्यो कामलाई निरन्तरता दिन सकेनन् । यस वर्षको २/४ महिनाअघि अस्पताल गएर जचाउँदा सिंहलाई आन्द्राको क्यान्सर भएको देखियो। क्यान्सर देखिए पनि सुरुका १-२ महिना उनले कलाकृतिमा काम गरि नै रहे, तर रोग निको हुनका लागि आराम गर्नुपर्ने भएकोले अहिले कलाकृति बनाउन बन्द गरेका छन्। सिंह अहिले विगत एक दशकमा आफूले बनाएका सयौं हस्तकलालाई कसरी जोगाउने भन्ने कुरामा चिन्तित हुने गरेका छन्। सिंह भन्छन्, “कलाका सामाग्री बनाउदाँ बनाउदै बुढो भइगएछु । उमेर गएको पत्तै भएन।” उनले रामनाथ र केदारनाथको मन्दिरहरू देखाउँदै ती मन्दिरहरू बिरामी भएको बेलामै बनाएको बताउँछन्।

आफूले दैनिकरूपमा फाल्ने चिजवस्तुहरूलाई फेरि प्रयोग गर्न सकिन्छ कि भनेर हेरेमा त्यहाँ कला भेट्न सकिन्छ भन्ने कुरा मानिसले बुझुन् भन्ने सिंह चाहन्छन् । “प्रत्येक वस्तुमा, प्रत्येक फालेको चिजमा पोजेटिभ तरिकाले हेर्नुहुन्छ भने त्यसमा कला भेटिन्छ । यो कागजमा पनि एउटा मूर्ति बन्न सक्छ । फूल बन्न सक्छ । तमाम कलाकृति बन्छ । खाली दिमाग लगाउनुपर्छ,” सिंह भन्छन्।

Related Stories

अमृता जैसीग्लोबल प्रेस जर्नलकी नेपालस्थित रिपोर्टर हुन्।


अनुवाद नोट

जिपिजेका केन सुवेदीले यो लेख अङ्ग्रेजी संस्करणबाट भावानुवाद गरेका हुन्।