वीरगन्ज, नेपाल — साथीहरूको सुझावलाई आत्मसाथ गर्दै सञ्जु महतोले नेपालबाट भारतको सीमा पार गरिन् । त्यहाँको एउटा फार्मेसीमा गएर केही मिनेटमै हर्मोन थेरापीको औषधि लिएर बाहिर निस्किइन् ।
औषधिको बारेमा उनलाई कसैले प्रश्न सोधेनन् । कसैले पनि डोजको बारेमा सल्लाह दिएनन् ।
यो महतोको लागि उनको गृहनगर विरगञ्जभन्दा सजिलो र स्वागतयोग्य थियो । किनकि, वीरगञ्जका फार्मेसीहरुले शरिर परिवर्तन गर्न चाहने पारलैङ्गिकका लागि हर्मोन थेरापी औषधी बिक्री गर्दैनन्।
जब महतोले हर्मोन औषधि लिन सुरु गरिन् । हरेक दिन उनको शरीर उनलाई चाहिएको आकारतर्फ बढ्दै गयो । उनका स्तन बढे । हातका नसाहरू मुलायम भए । उनको आत्मविश्वास पनि बढ्दै गयो ।
त्यसपछि वाकवाकी, उल्टी, थकान जस्ता जटिलताहरू देखापरे । उनको लगभग लगभग २५ किलो (५५ पाउन्ड) वजन बढ्यो । धेरै कुराहरू बिर्सन थालिन् । उनलाई मृगौलामा पत्थरी भयो र शल्यक्रिया गर्नुपर्ने अवस्था आयो । चिकित्सकले हर्मोन थेरापीको असरले गर्दा नसा पातलो भएकोले शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राव हुने सम्भावना भएको बताए ।
२००७ मा नेपालको सर्वोच्च अदालतले लैङ्गिक आत्म पहिचानका लागि तेस्रो आधिकारिक विकल्प सम्भव हुने निर्णय गर्यो । यो विशेषगरि पारलैङ्गिकलाई ध्यान दिएर गरिएको परिवर्तन थियो । तर वास्तविकतामा लिङ्ग परिवर्तन गर्ने प्रकिया संघर्षपुर्ण छ। लिङ्ग पुष्टि गर्ने शल्यक्रियाहरू गैरकानुनी छन् । हर्मोन थेरापीको औषधि र तिनीहरूलाई सिफारिस गर्न सक्षम चिकित्सकहरूको कमी छ ।
सोही कारण पारलैङ्गिक व्यक्ति विशेष गरी ट्रान्सजेन्डर महिलाहरू चिकित्सकको परामर्श बिना हर्मोन थेरापीमा भर पर्छन् । त्यस्ता हर्मोन भारतको सीमापार फार्मेसीहरूबाट खरिद गरिन्छ । (पारलैङ्गिक पुरुषहरूको लागि भारतमा पनि मास्कुलिनाइजेशन हर्मोनको पहुँच गाह्रो छ ।)
यी उपचारहरूले लैङ्गिक अन्तरणमा सहयोग गर्छन् तर, जीवन नै जोखिममा पर्ने जटिलताहरूसहित गम्भीर स्वास्थ्य समस्याहरु पनि निम्त्याउँछन् ।
साथीहरूको नेटवर्क, जोखिमपूर्ण सल्लाह
ग्लोबल प्रेस जर्नलले वीगन्जमा छ जना पारलैङ्गिक महिलाको अन्तर्वार्ता लिएको थियो । उनीहरु सबैले सजिलै खुला सीमा पार गरेर चिकित्सकसँग परामर्श नगरी रक्सौलमा हर्मोन औषधि किनेका थिए। उनीहरु प्रायः पहिले नै हर्मोन थेरापी गरिरहेका साथीहरुको साथीहरूको सल्लाहमा निर्भर थिए ।
ती साथीहरूले उनीहरूलाई के किन्ने, कहाँ किन्ने र कस्ता नकारात्मक प्रभावहरू हुन सक्ने भनेर बताएका थिए।
काठमाडौंका जनस्वास्थ्य अधिकारी मधुसूदन काफ्लेले यसरी हर्मोन खानु समस्या भएको बताउँछन् । उनका अनुसार, अनियन्त्रित हर्मोन प्रयोगले मुटु रोग, रगत जम्ने र क्यान्सर समेतको गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ । त्यस्तै, केही मानिसले गलत औषधि लिन्छन् वा विभिन्न प्रकारका औषधिहरू मिसाउँछन् ।
“पारलैङ्गिक मानिसहरू पहिले नै भेदभाव र कलङ्कबाट मानसिक रूपमा संघर्ष गरिरहेका छन्” उनी भन्छन्, “अनियमित हर्मोन प्रयोगले अझ धेरै जटिलताहरू थप्छ।”
वीरगन्जको पारलैङ्गिक महिला सेलिना चौधरीले भारतबाट आएका पारलैङ्गिक साथीहरुको सल्लाहमा हर्मोन ब्लकर Diane-35 लिन थालिन । चौधरीले रक्सौलमा आफै किनेर दिनहुँ खाएको उक्त औषधि सही मात्रामा खाइरहेको ठानेकी थिइन् ।
सुरुवातमा सबै ठीक थियो । केही समयपछि बिस्तारै आफ्नो मानसिक स्वास्थ्य बिग्रिदै गएको चौधरी बताउँछिन् । पछि उनलाई मधुमेह र थाइरोइडको समस्या भयो । तर उनले यी जटिलता हर्मोन प्रयोगको कारण भएको भन्ने बुझ्न सकिनन् । एक दिन उनको खुट्टा सहन नसकिने गरेर दुख्यो र नीलो हुन थाल्यो । उनले भारतमा गएर जाँच गराउँदा चिकित्सकहरूले रगत जमेको फेला पारे । र, Diane-35 अन्धाधुन्ध प्रयोगको कारण यस्तो भएको बताए
अहिले ४० वर्ष पुगेकी चौधरीले हर्मोनको नकारात्मक प्रभावले मधुमेह, न्यून रक्तचाप जस्ता रोगको उपचार गर्न जीवनभर औषधिमा भर पर्न बाध्य भएको बताउँछिन् ।
Diane-35 को कम डोज डण्डिफोरको उपचार गर्न प्रयोग गरिन्छ । यसले शरीरमा छिटो परिवर्तन ल्याउन सक्छ । तर अत्यधिक मात्रामा प्रयोग गर्दा यसले जोखिम निम्त्याउने काठमाडौंका एन्डोक्राइनोलोजिस्ट डा सुनिल पोखरेल बताउँछन् ।
“मानिसहरु रातारात परिवर्तन हुन चाहेर यस्तो गर्छन्” डा. पोखरेल भन्छन्।
विश्वको फार्मेसी
भारत आफूलाई “विश्वको फार्मेसी” भनेर वर्णन गर्दछ । बेलायतको एक चौथाई औषधि र संयुक्त राज्य अमेरिकामा ४० प्रतिशत जेनेरिक औषधि सहित विश्वको लगभग २० प्रतिशत औषधिहरु आपूर्ति गर्छ ।
नेपाल औषधि आपूर्तिको लागि भारतमा निर्भर छ । दुवै देशमा औषधि बिक्रीमा कडा नियमहरू भएतापनि कार्यान्वयन फितलो छ। भारतीय कानूनअनुसार फार्मेसीहरूमा एक फर्मासिस्ट उपलब्ध हुन आवश्यक छ । तर प्रायः त्यस्तो हुँदैन । भारतमा कम लागतका जेनेरिक औषधिको उपलब्धता व्यापक छ । सोही कारण नेपालका सीमा बजारका भारतीय फार्मेशीहरु सस्तो औषधिका विकल्पहरूले भरिएका छन् । त्यस्तै, त्यहाँ प्रेस्क्रिप्सन बिना औषधि किन्न सजिलो छ।
रक्सौलका फार्मेसी सञ्चालक प्रसाद तिवारी विगत सात वर्षमा हर्मोनको मागमा वृद्धि भएको बताउँछन् । उनका अनुसार, औषधि विक्रेताले चिकित्सकको सिफारिस र नकारात्मक असरको जानकारी बिना औषधि वितरण गर्छन् । उनीहरु त्यहाँका मुख्यतया ठूला व्यापारी हुन् । “Diane-35 माग बढी छ” तिवारी भन्छन्।
नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल पारलैङ्गिक व्यक्तिका लागि नेपालमा हर्मोन उपचार उपलब्ध भए पनि सरकारले त्यसको नकारात्मक असरबारे अनुगमन नगरेको बताउँछन् ।
नेपाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकी सरकारले हर्मोनको प्रयोगलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको बताउँछन् । उनी भन्छन् “धेरै नकरात्मक असर भएकाले यसको प्रयोगलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छौं” ।
उनले सरकारको नियमन योजनाको विवरण भने प्रदान गरेनन् ।
‘सजिलो पहुँच आवश्यक छ’
सोना गुप्ताका लागि परिवर्तनको चाहना जोखिम भन्दा बढी महत्वपुर्ण छ । उनी छाला र कपाल नरम होस् भन्ने चाहन्थिन्, साथीहरुले हर्मोन औषधी प्रयोग गरेमा चाहेजस्तै हुने बताएका थिए । तर हर्मोन प्रयोगले स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ भन्ने साथीहरुको चेतावनीलाई भने उनले बेवास्ता गरिन् ।
रक्सौलमा हर्मोन औषधि किनेको केही महिना भित्रै उनको स्वर महिलाको जस्तो भयो । शरीरको रौं कम भयो र छाला चम्किलो भयो ।
तर महतो जस्तै उनलाई पनि वाक्वाकी, थकान, भोक बढ्ने, रक्तचाप कम हुने र कहिलेकाहीँ बेहोस हुने समस्या भयो । उनी विभिन्न समारोहमा नाच्ने काम गर्छिन् । अहिले कार्यक्रममा आफ्नो प्रस्तुति दिनुअघि रिँगटा लाग्ने र थकानको कारणले औषधि लिदिँनन् । उनले उचित डोजका लागि काठमाडौंका चिकित्सकसँग सल्लाह लिने विचार गरेकी छन् । तर, चिकित्सक र अस्पतालका अन्य बिरामीहरुबाट विभेद हुन्छ कि भनेर चिन्तित छन् ।
औषधिका लागि भारत जानु र आफैँ औषधि प्रयोग गर्नु उनका लागि सबैभन्दा सुरक्षित विकल्प हो।
महतो Sunaulo Gulaf, Ovral G र Nilocon White लगायतका औषधिहरू मिसाएर चार वर्ष खाएको बताउँछिन् । उनले एक समय इन्जेक्सन पनि लगाएकी थिइन् तर कुन प्रकारको इन्जेक्सन भन्ने अहिले याद छैन्। यो सबै हर्मोन थेरापी उनले चिकित्सकको सल्लाहविना गरेकी थिइन् । त्यसपछि उनले Estradiol ट्याब्लेट पाँच वर्षसम्म लिइन् ।
परिवर्तनको सुरुवातमा हर्मोन लिनु उनका लागि सबैथोक थियो । तर परिणामस्वरूप उनले धेरै स्वास्थ्य जटिलताहरूको सामना पनि गरिन् ।
यो अन्तर्वार्ताको समयमा उनले ती हर्मोनहरु लिन पूर्ण रुपमा बन्द गरिसकेकी थिइन् । तर अझै पनि ती हर्मोनहरु महत्त्वपूर्ण भएको उनी बताउँछिन् । “सजिलो पहुँच आवश्यक छ । तर केही जवाफदेहिताको आवश्यकता छ”, उनी भन्छिन् “यदि हर्मोनले जटिल रोग निम्त्यायो भने त्यसको जिम्मेवारी कसले लिने?”