सान फ्रान्सिस्को, मेक्सिको – जुआन फ्लोरेसको भनाइअनुसार उनी सान फ्रान्सिस्कोमा पहिलो मछुवा थिए, जुन पश्चिमी राज्य नायरितको एउटा सानो तटीय शहर हो। त्यतिखेर, १९७० को दशकमा, उनले क्यायुको भनिने सानो क्यानोजस्तो डुङ्गामा पाइडल चलाएर प्रशान्त महासागरको सयर गर्थे र पानीमा बल्छी (हुक-टिप्ड) डोरी मात्र थापेर ह्यान्डलाइन प्रविधिको सहायताले एक-एक गरी माछा समात्ने गर्थे।
ह्यान्डलाइन मछुवाहरूको एक पुस्ताले फ्लोरेसलाई पछ्याउँथ्यो, जो दुब्लो र फुर्तिलो रहेका छन्। ७७ वर्षको उमेरमा पनि उनी अझै बिहानदेखि सूर्यास्तसम्म दैनिक माछा मार्छन्। पहाडी तटसँगै रहेका छिपछिपे पानी स्थानमा माछा मार्न जाँदा उनी अझै पनि डोरी र बल्छी प्रयोग गर्दछन्, यसमा उनलाई अनुभव र स्वाभाविक ज्ञानले सहयोग गरेको हुन्छ।
तर अरू धेरै कुरा परिवर्तन भएका छन्।
सान फ्रान्सिस्को, जसको जनसङ्ख्या लगभग १४०० छ, अब रिभिएरा नायरित भनिने ठाउँको हिस्सा भएको छ र अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यमा परिणत भएको छ। र ठूला जालहरू बोकेर हिँड्ने व्यापारिक जहाजहरूले यस क्षेत्रको माछाको सङ्ख्या घटाएको र यसले ह्यान्डलाइन एङ्गलरहरूलाई पाखा लगाएको छ, जसको जीवन शैलीले मेक्सिकोको पश्चिमी तटको संस्कृति र पहिचानलाई पहिले परिभाषित गरेको थियो।
विगतमा साना स्तरका मछुवाले दैनिक आधा टन (लगभग ४५३ किलोग्राम) माछा समात्थे। आज, मछुवाहरू भन्छन्, उनीहरूले अहिले त्यत्ति तौल बराबरको स्लिभर समात्छन्।
“पहिले, हामीसँग माछा पत्ता लगाउने यन्त्रहरू थिएनन्,” फ्लोरेसका भाइ फ्लोरेन्टिनो पाडिला भन्छन्। “तर हामी आफूले जानेका केही ठाउँहरूमा जान्थ्यौं, र त्यहाँ हामीले [माछाहरू] भेट्टाउनेमा ढुक्क थियौं।”
रिभिएरा नायरितले नायरितको आधा भन्दा बढी तटवर्ती क्षेत्र ओगटेको छ र यो १८० किलोमिटर भन्दा लामो छ। यहाँ समुद्र तट र नदीहरू, दलदल र पहाडहरू, तातोपानीका मुहान अनि झरनाहरू छन्।
नायरितको पानी पहिले माछाले भरिएको हुन्थ्यो। तर यहाँका धेरै लोकप्रिय र मूल्यवान प्रजातिहरू लोप हुँदैछन्, जसमा कोड, पेजेगालो (रुस्टरफिस), विभिन्न प्रकारका स्न्यापर र टोटोबा समावेश छन्, टोटोबाको तौल १३६ किलोग्रामसम्म हुन सक्छ।
जलवायु परिवर्तनले असर गरिरहेको छ। कार्बन डाइअक्साइड धेरै बढेको छ, यसले अक्सिजनको स्तर घटाउँछ, र अक्सिजनको कमीले समुद्री जीवजन्तुहरूको सङ्ख्या घटाउँछ। यसबाट पानीको तापक्रमलाई प्रभावित हुन्छ र यसले पश्चिमी तटमा केही प्रजातिहरू लोप हुन योगदान गरेको छ।
नायरितको सरकारको २०१९ प्रतिवेदनअनुसार एक दशकभन्दा बढी समयदेखि माछा मार्ने क्षेत्र अस्थिर अवस्थामा रहिरहेको छ, यसलाई माछाको स्रोतको अत्यधिक दोहन, माछा मार्न प्रयोग हुने जहाजको अत्यधिक क्षमता, [र] माछा मार्नेहरूको सङ्ख्यामा वृद्धि र चोरी शिकारी समस्याहरूको शृङ्खला लगायतका विभिन्न समस्याले प्रभावित पारेको छ। राज्यको अर्को प्रतिवेदनले नायरितको पानीमा अवैध व्यापारिक जालको प्रयोग धेरै भएको देखाएको छ।
सान फ्रान्सिस्को मेक्सिकोको सबैभन्दा ठूलो खाडीको मूलघर बाहिया डे बन्डेरासको नगरपालिकामा अवस्थित छ। बाहिया डे बन्डेरासका बहुसंख्यक बासिन्दाहरू पर्यटन क्षेत्रका सेवाहरूमा काम गर्छन्।
सामान्य दिनमा व्यापारिक जहाजहरू सान फ्रान्सिस्कोको तटमा जोडी भएर मन्थन गर्छन्, त्यसमा एउटा डुङ्गाले मछुवाहरूलाई बोक्छ र अर्कोले चारकुने जालहरू तान्छ – जसलाई सेइन्स भनेर चिनिन्छ – जसले केही घण्टामै टनका टन माछाहरू निकाल्छ।
आफ्नो बजार जोगाउन व्यापारिक मछुवाहरूले आफ्नो मूल्य घटाउँछन्, यसले साना स्तरका एङ्गलरहरूको नाफालाई घटाउँछ, फ्लोरेसका अर्का भाइ र सान फ्रान्सिस्कोको एकमात्र माछा पसलका मालिक मार्टिन प्याडिला भन्छन्।
सान फ्रान्सिस्कोको सबैभन्दा कान्छो माछा मार्ने कप्तानमध्येका एक, २३ वर्षीय मारियो कास्टिलो भन्छन्, पहिले रिभिएरा नायरितको तटमा ह्यान्डलाइनबाट माछा मार्ने डुङ्गाहरूको धेरै भीड हुन्थ्यो। आजकल आधा दर्जन भन्दा कम देखिने गरेको उनी बताउँछन्।
सान फ्रान्सिस्कोमा जे भइरहेको छ, त्यसले पूरै मेक्सिकोमा भइरहेको कुरालाई झल्काउँछ, जसले ल्याटिन अमेरिकाको सबैभन्दा लामो समुद्रीतटलाई मात दिन्छ। सरकारी तथ्याङ्कअनुसार ५८९ प्रजातिका माछा व्यापारिक रूपमा समातिन्छन् र तीमध्ये ८७ प्रतिशत या त अतिदोहनमा परेका छन् वा पर्ने अवस्थामा छन्।
मछुवा परिवारबाट आएका ३६ वर्षीय मिगुएल लिनारेस जस्ता मानिसहरू अब जीवनयापनका लागि पानीमा मात्र निर्भर हुन छोडेका छन्। उनी शेफको काम पनि गर्छन् । “माछा मार्नुले तलब जस्तो सुरक्षित पैसा दिंदैन,” उनी भन्छन्। “हामी माछा समात्न नसकेको एक महिना भइसकेको छ।”
हालैका वर्षहरूमा रिभिएरा नायरितले पर्यटकीय स्थलको रूपमा विश्वभर नाम कमाएको छ। फोर सिजन्स र सेन्ट रेगिस जस्ता लक्जरी होटलहरू आइपुगेका छन् भने यस क्षेत्रले बियोन्से र लेडी गागादेखि म्याट डामोन र ग्वीनेथ पलट्रोउसम्मका सेलिब्रेटीको भ्रमणलाई आकर्षित गरेको छ।
धेरै भोजनालयहरूले समुद्री खानेकुरा प्रदान गर्छन्। यहाँका पर्यटक र रेस्टुरेन्ट मालिकहरूलाई मेक्सिकोमा भइरहेको व्यापारिक माछा मार्ने अवस्थाको बारेमा थोरै मात्र जानकारी रहन्छ। माछाको सङ्ख्यामा कमी आउनुमा उपभोक्ताको माग एक शान्त अपराधी हो, गुआडालाजारा युनिभर्सिटीका समुद्री जीवविज्ञान र अनुसन्धान प्राध्यापक मिर्ना ब्राभो भन्छन्।
विश्वभर माही-माही भनेर चिनिने टुना र डोराडो पर्यटकहरूमाझ लोकप्रिय छन्, ब्राभो भन्छन्, यद्यपि डोराडोलाई व्यापारिक हिसाबले समात्न मेक्सिकोमा गैरकानूनी छ।
पर्यटकहरू खुसीमा बेखबर रहन्छन्। डायना पेरेज मध्य मेक्सिकोको सहर अगुआस्कालिन्टेसमा बस्छिन्, तर सान फ्रान्सिस्को, ५०० किलोमिटर पश्चिममा छुट्टी मनाउन मन पराउँछिन्, जहाँ उनी दैनिक समुद्री खानेकुरा खान्छिन्। उनी यसबारे खासै सोच्दिनन् ।
३४ वर्षीय पेरेज भन्छन्, “सूचनाहरू त्यति धेरै उपलब्ध छैनन्, र उपभोक्ताहरूको रूपमा हामी पनि धेरै चासो राख्दैनौं।” “हाम्रो लागि महत्त्वपूर्ण कुरा भनेको स्वाद नै हो।”
केही व्यापारिक मछुवाहरूले यो प्रविधिबाट पारिस्थितिकीय प्रणालीमा हुने क्षतिलाई स्वीकार गर्छन्। ४३ वर्षीय जुआन गार्सियाले आफ्नो जीवनभर माछा मारेका छन् र उनका बुबा र हजुरबुवा दुवै ह्यान्डलाइन एङ्गलर थिए। गिलनेट भनेर चिनिने ठूलो आयताकार जाल प्रयोग गरेर उनले दिनमा ३ टनजति (२,७२१ किलोग्राम) माछा समात्छन्।
तर समुद्रको पारिस्थितिकीय प्रणालीलाई पुनर्स्थापित गर्न आफू दुई वा तीन वर्षको लागि माछा मार्ने काम रोक्न इच्छुक रहेको उनी बताउँछन्।
यदि सबैजना ह्यान्डलाइन बल्छीबाट माछा मार्ने तरिकामा फर्के भने माछा फर्कनेछ, माछा मार्ने कार्यमा संलग्न युवा कप्तान कास्टिलो भन्छन् । आर्थिक सरोकारले यसलाई असम्भव बनाउँछ, तर उनी कहिल्यै जाल प्रयोग नगर्ने भनेर कसम खान्छ । उनी भन्छन्, ‘कहिलेकाहीँ हामीले खर्च गरेको रकम पनि उठ्दैन। “तर यसको मतलब यो होइन कि हामीले समुद्रलाई हानि गर्नुपर्छ।”
माया पिएड्रा मेक्सिकोस्थित ग्लोबल प्रेस जर्नलको रिपोर्टर हुन्।
अनुवाद नोट
शानन किर्बी, GPJ, ले यो लेख स्पेनिशबाट अंग्रेजीमा अनुवाद गरेका हुन्।
Maya Piedra es una reportera de Global Press Journal en México.
NOTA SOBRE LA TRADUCCIÓN
Aída Carrazco, GPJ, adaptó este artículo de su versión en inglés.