Mexico

यो एपले स्थानिय व्यवसाय र डेलिभरीकर्ताहरूको सम्मानित कामप्रति आशा जगाउँदछ — र दक्षिणी मेक्सिकोमा नयाँ काम गर्ने शैलीको थालनी गर्दैछ

जोसे मारिया हर्नान्डेज स्यान्टियागोले "कमजोर नेतृत्व" भएको कम्पनी छोडेपछि आफ्नै व्यवसाय सुरु गरी यसलाई फरक तरिकाले चलाउने निर्णय गरे।

Read this story in
This Game-Changing App is Creating Dignified Jobs for Delivery Drivers in Southern Mexico

मरिसा रेभिल्ला, जिपिजे मेक्सिको

सर्भिडिटो (अर्थात् सानो डेलिभरी) नामक डेलिभरी सेवाका संस्थापक जोसे मारिया हर्नान्डेज सान्टियागो फोटोका लागि पोज दिँदै।

सान क्रिस्टोबल डे लास कासास, मेक्सिको – २६ वर्षीय जोसे मारिया हर्नान्डेज स्यान्टियागोलाई परम्परागत तरिकाको काम गराइ कहिल्यै मन परेन।

सन् २०२० “कमजोर नेतृत्व” रहेको भन्ने कुरामा हाकिमसँग मतभेद भएपछि उनले एउटा निर्माण कम्पनीमा आफूले गरिरहेको ट्रक चालकको जागिर गुमाए। अनि त्यसपछि, उनले आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरे: मानिसहरूलाई डेलिभरी सेवा दिने। यो सेवा व्यवसाय उनले मेक्सिकोको चियापास राज्यको सान क्रिस्टोबल डे लास कासासका सुरु गरे।

हर्नान्डेज स्यान्टियागोले आफूसँग भएको मोटरसाइकल र एउटा टेलिफोन लिएर २ लाख १६ हजार निवासी भएको शहरभित्र खानेकुरा डेलिभरी सेवा सुरु गरे। महामारीको समयमा यस डेलिभरी कम्पनी सर्भिडिटोको व्यवसायमा नाटकीय वृद्धि भयो। यो सेवाले छिट्टै त्यस क्षेत्रका बासिन्दा र खानाका परिकार बनाउने होटेल/व्यवसायहरू बीच लोकप्रियता हासिल गर्दै गयो।

केवल सात महिनामा नै यस व्यवसायले प्रतिदिन २० भन्दा बढी डेलिभरीहरू गर्न थाल्यो। व्यवसाय बढेसँगै जोसे मारिया हर्नान्डेज स्यान्टियागोले आफ्नो २४ वर्षीय भाइ जेसस ग्वाडालुप हर्नान्डेज स्यान्टियागोलाई यस व्यवसायमा ल्याए।

expand image
expand slideshow

मरिसा रेभिल्ला, जिपिजे मेक्सिको

सर्भिडिटोको डेलिभरी झोलामा जिप लगाउँदै जेसस ग्वाडालुप हर्नान्डेज सान्टियागो। यस डेलिभरी एपलाई चियापास राज्यको सान क्रिस्टोबल डे लास कासास नामक शहरमा सन् २०२० मा सुरु गरिएको हो।

“हामीबीच समन्वय छ। हामी एकअर्कालाई राम्रोसँग बुझ्छौं। यही कुराले नै हामीलाई मद्दत गरेको छ, “जोसे मारिया हर्नान्डेज स्यान्टियागो भन्छन्।

यी दाजुभाइले २५ वर्षीय फाउस्टो भाल्दिभिएजोसँग हातेमालो गरे। फाउस्टोले पहिलेदेखि नै यी दाजुभाइले प्रस्ताव गरिरहेको सेवाजस्तै एप विकास गर्दै थिए। तीनैजना मिलेर सर्भिडिटोको परिकल्पना गरे जसले यस कम्पनीलाई परम्परागत डेलिभरी व्यवसायहरूबाट अलग पहिचान दिने तिनीहरूको आशा थियो।

एसियाली खानाका परिकारहरू उपलब्ध गराउँदै आएको किम कोसिना पानासियाटिका रेस्टुरेन्टका मालिक किम फुएन्सन्टा २०२१ देखि सर्भिडिटोको ग्राहक रहँदै आएकी छिन्। अन्य डेलिभरी सेवाहरूले समयमै र राम्रो सेवा दिन नसकेपछि आफूले यो कम्पनीबारे सुनेर जोडिन पुगेको उनी बताउँछिन्। “उनीहरू निकै जिम्मेवार छन्, अनि छिटो छन्। उनीहरूको सेवा सस्तो छ। तिनीहरू होसियार छन्, र तिनीहरूले अत्यन्तै विरलै दुर्घटना गर्छन्,” उनी भन्छिन्।

आजकल, सर्भिडिटो डेलिभरी टीमले ३० वटा स्थानीय रेस्टुरेन्टहरूका लागि प्रतिहप्ता ७०० खाना डेलिभरी गर्दछ। व्यस्त दिनहरूमा, हर्नान्डेज स्यान्टियागो दाजुभाइ आफै मोटरसाइकलमा निस्कन्छन् र आफ्ना सहकर्मीहरूलाई विभिन्न ठाउँमा खाना डेलिभरी गर्न सहयोग गर्छन्।

expand image
expand slideshow

मरिसा रेभिल्ला, जिपिजे मेक्सिको

सर्भिडिटोको अर्डर लिने र चलान गर्ने कार्यलाई सम्हालिरहेका जीसस ग्वाडालुप हर्नान्डेज स्यान्टियागोले सर्भिडिटोको डेलिभरी काममा सहयोग गर्दै।

“साथीहरूको काम भ्याइनभ्याइ र माग अत्यधिक हुँदा हामी पनि डेलिभरी गर्न निस्कन्छौँ। हामी जिम्मेवारीहरू बाँडफाँट गर्छौं,” जेसस ग्वाडालुप हर्नान्डेज स्यान्टियागो भन्छन्।

डेलिभरी गर्ने साथीहरू सर्भिडिटोका मूल खम्बा हुन् र एपबाट हुने आम्दानीको धेरैजसो हिस्सा तिनीहरूले पाउँछन्, जोसे मारिया हर्नान्डेज स्यान्टियागो भन्छन्।

यस डेलिभरी व्यवसायसँग काम गर्ने दुई तरिकाहरू छन्। एउटामा, सर्भिडिटोले डेलिभरी गर्ने साथीहरूलाई डेलिभरी झोला, हेलमेट र मोटरसाइकल दिन्छ। तिनीहरूले आठ घण्टा काम गर्नुपर्छ र मेक्सिको देशको न्यूनतम तलबमान अर्थात् लगभग ६ हजार २०० मेक्सिकन पेसो (३६५ अमेरिका डलर) सजिलै कमाउँछन्। दोस्रो विकल्प, आफ्नै मोटरसाइकल भएका स्वतन्त्र डेलिभरी गर्नेहरूका लागि हो। तिनीहरूले आफूलाई सहज हुने समय छान्छन् र प्रत्येक डेलिभरीबापत निश्चित प्रतिशत रकम प्राप्त गर्छन्। एक महिनामा तिनीहरूले लगभग १० हजार पेसो (करिब ५९० अमेरिकी डलर) कमाउँछन्, यससँगै तिनीहरूले टिप्स पनि पाएका हुन्छन्। यो कमाइ चियापास राज्यको मानिसहरूको औसत आयभन्दा बढी हो। यहाँको अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार यस राज्यका जनसङ्ख्याको औसत आय प्रतिमहिना ४ हजार ६१० पेसो (करिब २७२ अमेरिकी डलर) रहेको छ।

२८ वर्षीय एन्टोनियो डोमिन्गुएज गार्सियाले आफ्नै मोटरसाइकल लिएर तीन वर्षदेखि सर्भिडिटोमा काम गरेका छन्। “मैले कम्पनी बढेको देखेको छु, मानिसहरू आउने जाने भइरहन्छ। यहाँ काम गर्न धेरै रमाइलो छ। यस प्रकारको क्षमता कतै हराइरहेको थियो,” उनी भन्छन्।

जोसे मारिया हर्नान्डेज स्यान्टियागोको भनाइअनुसार कम्पनीको वृद्धिले नेतृत्व हुनुको अर्थ के हो भन्नेबारे उनको दृष्टिकोणलाई आकार दिन सहयोग गरेको छ, अनि खराब हाकिम नभइयोस् भन्ने सुनिश्चित गर्न रणनीतिहरू विकास गर्न प्रेरित गरेको छ।

“मलाई केही कुराले [खराब नेतृत्व बन्नबाट जोगिन] मद्दत गरेको छ भने त्यो हो हामीबीच [टोलीसँग] रहेको सद्भाव र सम्बन्ध,” उनी भन्छन्। “हामीले कहिल्यै अरूप्रति हाकिमे व्यवहार गरेका छैनौँ। बरु, हामी एकअर्कालाई साथी, सहकर्मीजस्तो व्यवहार गर्छौं, र यसले धेरै मद्दत गरेको छ।”

आज, यस कम्पनीले ३० भन्दा बढी रेस्टुरेन्टहरूका लागि डेलिभरी गर्दछ। यसले अहिले १२ जनालाई रोजगारी दिइरहेको छ र यो स्थानीय व्यवसायको रुपमा स्थापित भइसकेको छ। यसले आफ्नो सेवाको दायरा बढाउने योजना बनाइरहेको छ।

सन् २०२४ को पहिलो तीन महिनामा, ग्राहकहरूले सुरक्षित ट्याक्सी सेवा, कोठा/ठाउँ सर्ने सेवा, किराना सामग्रीहरूको किनमेल र पानीको डेलिभरीजस्ता सेवाहरू अनुरोध गर्न सक्नेछन्। हाम्रो एपबाट प्लम्बर, सिकर्मी र अन्य स्थानीय कामदारहरूको सेवा अनुरोध गर्न पनि सम्भव हुनेछ।

“हाम्रो चाहना भनेको यस प्रकारका प्लेटफर्ममा नराखिएका सबै स्थानीय सेवाहरू समावेश गर्नु हो” जोसे मारिया हर्नान्डेज स्यान्टियागो भन्छन्, “ताकि ती सेवाहरू धेरै मानिसहरूसम्म पुग्न सकोस्।”