Argentina

भेदभावयुक्त श्रम अभ्यास देखेर दिक्क भएकी एक अर्जेन्टिनी डेलिभरी कामदार यो अवस्थामा सुधार ल्याउनका लागि सङ्गठित हुन थाल्छिन्

बेलेन डी'एम्ब्रोसियोले गिग इकोनोमीको अवस्था सुधारका लागि पैरवी गर्न २५०० सहकर्मी कामदारहरूलाई आबद्ध गराएकी छिन्। तिनीहरूको युनियनलाई सरकारले कहिले मान्यता देला?

Read this story in
Sick of Unfair Labor Practices, a Delivery Worker in Argentina Organizes for Reform

लुसिला पेल्लेटिरी, जिपिजे अर्जेन्टिना

एप डेलिभरी वर्कर्स युनियनका सहायक सचिव बेलेन डी'एम्ब्रोसियोले ब्यूनस आयर्स विश्वविद्यालयमा भएको एक बैठकमा युनियनका साथी सदस्यहरूसँग तस्वीरको लागि पोज दिँदै।

ब्यूनस आयर्स, अर्जेन्टिना – ब्यूनस आयर्स विश्वविद्यालयको सामाजिक विज्ञान भवनको प्राङ्गणमा डेलिभरी एपका लोगो देखिने झोलाहरू राखिएका साइकलहरू मिनेटभरमै कयौँ सङ्ख्यामा बढ्दछन्।

माथिल्लो तलाको एक कक्षाकोठामा यस देशका डेलिभरी कामदारहरूको पहिलो युनियन, एप डेलिभरी वर्कर्स युनियनको सहायक सचिव बेलेन डी’एम्ब्रोसियोले श्रमिकहरूको हकहित र अधिकारका लागि आफूले तीन वर्षदेखि गरिरहेको लडाइँको बारेमा विद्यार्थी र सहकर्मीहरूसँग कुराकानी गर्ने तयारी गर्दैछिन्।

उनको भनाइअनुसार प्रतिमहिना २ लाख ५० हजार अर्जेन्टिनी पेसो कमाउनका लागि अर्जेन्टिनामा डेलिभरी गर्ने व्यक्तिहरूले प्रतिदिन १० देखि १२ घण्टाको दरले हप्ताको ६ दिन नै काम गर्नुपर्छ। यो लगभग ३०६ अमेरिकी डलर बराबर हो जुन अर्जेन्टिना सरकारले तीन जनाको परिवारको आधारभूत आवश्यकताका पूरा गर्न चाहिने भनी निर्धारण गरेको ३ लाख ९४ हजार ७१३ अर्जेन्टिनी पेसो (४८३ डलर) भन्दा कम हो।

अर्जेन्टिनाको कानूनअनुसार कामको दिन आठ घण्टाको हुनुपर्छ। यद्यपि, एपमा आधारित डेलिभरी कामदारहरू कानूनी शून्यतामा परेका छन् किनभने एप कम्पनीहरूले उनीहरूलाई कर्मचारीको रूपमा नमानेर “स्वतन्त्र करारीय कामदार” मान्छ। यो वर्गीकरणले कम्पनीहरूलाई बीमा, बिदा र डेलिभरी माग एकदमै धेरै हुने हप्ताको छुट्टी दिनमा काम गरेबापत बोनस भुक्तानी जस्ता सुविधाहरू दिनबाट छुट दिन्छ। यही पृष्ठभूमिलाई लिएर डी’एम्ब्रोसियो र उनका सहकर्मी साथीहरू सरकारबाट एप डेलिभरी युनियनलाई आधिकारिक रूपमा युनियनको मान्यता दिलाउन लडिरहेका छन्, जसले उनीहरूलाई कामको राम्रो वातावरणका लागि सौदाबाजी गर्न र एप कम्पनीहरूलाई रोजगारदाताको रूपमा राख्न सहयोग गर्नेछ।

लुसिला पेल्लेटिरी, जिपिजे अर्जेन्टिना

एप डेलिभरी वर्कर्स युनियनले डेलिभरी कामदारहरूका लागि श्रमको वातावरणमा सुधार ल्याउन पहिचानको लडाइँ लडिरहेका छन्।

“यी कम्पनीहरू ठूला राक्षसहरू हुन्। तिनीहरूबाट मलाई कुनै सहयोग छैन। मैले सम्पर्क गर्न कुनै मानव संसाधन कार्यालय छैन; मैले स्वास्थ्य उपचारसम्बन्धी कुनै लाभहरू पाएको छैन। मैले नपाएको ती सबै कुरालाई हेर्दा, एउटा कामदारको रूपमा मैले के परिवर्तन गर्न सक्नेछु? मैले एउटा युनियन सुरु गर्न सक्नेछु, ” डी’एम्ब्रोसियो भन्छिन्।

३१ वर्षीया डी’एम्ब्रोसियो त्यो क्षणलाई याद गर्छिन्, जुनबेला उनको मनमा युनियन बनाउने विचार आएको थियो। अक्टोबर २०२० को सुरुआती दिनमा, उनी र ठूलो सङ्ख्यामा उनका सहकर्मीहरू डेलिभरी एप कम्पनी बलुनले वाचा गरेको कार्यसम्पादन बोनसको माग गर्न बलुनको कार्यालय अगाडि भेला भए। कम्पनीका कसैले पनि उनीहरूसँग भेट गरेनन्, त्यसपछि सो समूह श्रम नियमावली हेर्ने राष्ट्रिय निकाय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयतर्फ लाग्यो। त्यहाँ उनीहरूलाई युनियनको रूपमा उनीहरूको प्रतिनिधित्व नभएकोले उनीहरूको मागदाबीलाई मन्त्रालयले सम्बोधन गर्न नसक्ने भनेर बताइयो। जुन २०२१ मा, उक्त समूह युनियन खडा गर्न चाहिने सदस्यता प्रमाणपत्र र आवश्यक अन्य सबै कागजातहरू बोकेर फेरि मन्त्रालय गयो।

एक्लाएक्लैबाट ऐक्यबद्धतातर्फ

डी’एम्ब्रोसियोले सन् २०२० मा साइकल मार्फत डेलिभरीको काम गर्न थालेकी हुन्। डेलिभरी कामदारको रूपमा बाहिरको काम गर्न अनुमति पाएका थूरै मानिसमध्ये उनी एक थिइन्। यद्यपि, उनले गर्ने काम अत्यावश्यक कामभित्र पर्ने मानिए तापनि, यसमा धेरै जोखिमहरू थिए। “हामीले हाम्रा सहकर्मीहरू सडकमा मरेको देखेका छौँ” उनी सम्झन्छिन्।

यो अवस्थाबाट पार पाउन गिग इकोनोमीका कामदारहरूलाई सहयोग हेतु एउटा युनियन गठन भयो। उनीहरूले पन्चर भएका टायरहरू मर्मत गरे, विभिन्न एप्लिकेसनहरूले कसरी काम गर्छन् भन्ने सल्लाहसुझाव आदानप्रदान गरे र डेलिभरीका अनुरोधहरूको प्रतीक्षामा बस्दै गर्दा कामको कठिनाइहरूको बारेमा छलफल गरे।

“कम्पनी र राज्यले हामीलाई उपेक्षा गरेको घडीमा हामीले हाम्रो युनियन गठन गर्‍यौं। महामारीको बीचमा ऐक्यबद्धता जनाउँदै कामदारहरूको सामूहिक युनियनको रूपमा हामी उदायौं,” डी’एम्ब्रोसियो भन्छिन्।

युनियनको अनुमानअनुसार देशभर ५० देखि ६० हजारसम्म डेलिभरी गर्ने व्यक्तिहरू छन्, तर यो त्योभन्दा धेरै हुन सक्छ। समता तथा वृद्धिका लागि सार्वजनिक नीति कार्यान्वयन केन्द्र नामक सरकारी कामकाजहरूको मूल्याङ्कन गर्ने एउटा स्वतन्त्र संस्थाले गरेको एक अध्ययनअनुसार अर्जेन्टिनामा सन् २०१८ मा १ लाख ६० हजार (कुन जनशक्तिको १ प्रतिशत) एप-आधारित कामदारहरू रहेको देखिन्छ।

यद्यपि, यी प्लेटफर्महरूले प्रोत्साहन गरेको प्रतिस्पर्धामा यो क्षेत्र खण्डीकृत भइरहेको छ। यसलाई सम्बोधन गर्ने प्रयासमा, डी’एम्ब्रोसियोले एप डेलिभरी वर्कर्स युनियन मार्फत साप्ताहिक ऐक्यबद्धता गतिविधिहरू चलाउँछिन्, जहाँ सहकर्मीहरूले आफ्नो साइकल मर्मतमा मद्दत प्राप्त गर्न सक्छन्, चियापानको आनन्द लिन सक्छन् र सङ्गठनको बारेमा कुरा गर्न सक्छन्।

expand image
expand slideshow

लुसिला पेल्लेटिरी, जिपिजे अर्जेन्टिना

बेलेन डी'एम्ब्रोसियो निश्चिन्त छिन् कि डेलिभरी कामदारहरूले आत्मसम्मान पाउनको लागि युनियन बनाउनुको विकल्प छैन।

एक जना डेलिभरी गर्ने व्यक्ति एवं युनियन सदस्य इग्नासियो आफ्नो साइकल चोरी भएपछि युनियनकै सहयोगले आफ्नो कामलाई काम निरन्तरता दिन सम्भव भएको बताउँछन्।

“यो राम्रो कुरा हो, एप डेलिभरी युनियन त्यहाँ छ। आफ्नो खुट्टामा उभिन सक्षम नभएसम्म तिनीहरूले मलाई डेलिभरी गर्न साइकल सापट दिए। नत्र धेरै गाह्रो हुन्छ; एउटा साइकल भनेको एक महिनाको काम बराबरको पैसा हो,” इग्नासियो भन्छन्। एपमा आधारित काम गुमाउन सक्ने डरले उनले आफ्नो पहिलो नाम मात्र प्रयोग गर्न अनुरोध गरेका थिए।

‘मलाई विश्वास छ राम्रो कुराहरू आउँदैछन्’

हाल, राष्ट्रव्यापी रूपमा एप डेलिभरी वर्कर्स युनियनका २५०० सदस्यहरू छन् र युनियन हुनका लागि सबै कानुनी आवश्यकताहरूको पालना गरिरहेको छ, तर यसले अझै पहिचान पाएको छैन। युनियनले अझै पनि मागेका केही कुराहरू पूरा गर्न बाँकी नै रहेकाले यो अझै पनि दर्ता प्रक्रियाको क्रममा नै रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भनाइ छ, तर डी’एम्ब्रोसियो “राजनीतिक इच्छाशक्तिको कमी” हुनु यस ढिलाइको कारण रहेको बताउँछिन्। डिसेम्बर २०२३ मा राष्ट्रपति बनेका उदारवादी अर्थशास्त्री जेभियर माइलीको सरकार अन्तर्गत यो काम पूरा हुन अझ गाह्रो हुने उनलाई लागेको छ।

अझै पनि, डी’एम्ब्रोसियो प्रेरित र निश्चिन्त छिन्। उनले अप्रिल २०२३ मा क्यालीफोर्नियाको लस एन्जलसमा भएको गिग इकोनोमी क्षेत्रका कामदारहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न मद्दत गरिन्। त्यहाँ, उनले निरन्तर पैरवी कार्यमा लागिरहेका केही “आदर्श व्यक्तिहरू” भेटिन्, यी व्यक्तिहरूमा सन् २०२२ मा डेलिभरी एप डेलिभेरू विरुद्ध अदालतमा मुद्दा जित्ने इटालियन अभियन्ता रिकार्डो मान्कुसो र पहिलो अमेजन युनियन गठन गर्न मद्दत गर्ने ट्रिस्टन डचिन थिए।

“हामी अत्यन्तै उत्साहप्रद समयमा जिइरहेका छौं। यो एकदम गाह्रो छ, तर मलाई विश्वास छ राम्रा कुराहरू आउँदैछन्,” डी’ एम्ब्रोसियो भन्छिन्। युनियनका सदस्यहरूका लागि मर्यादित एवं सम्मानजनक जीवनको प्रत्याभूति गर्ने एक मात्र तरिका सङ्गठित हुनु हो भन्नेमा उनी विश्वस्त छिन्।

आजकल, डी’एम्ब्रोसियो सामाजिक विज्ञानमा आफ्नो डिग्री पूरा गरिरहेकी छिन् र एउटा स्कुलमा पार्टटाइम भाषा कक्षाहरू पढाइरहेकी छिन्। तर साइकल छोड्ने वा युनियनको लडाइँ छोड्ने उनको कुनै योजना छैन। उनको लागि आदर्श काम गर्ने दिन भनेको एक डेलिभरीबाट अर्को डेलिभरीमा जाँदा अर्को व्यक्तिलाई युनियनमा आबद्ध हुन मनाउनु हो।

“युनियन गठन गर्नका लागि हामी सम्बन्धित कामको अनुभवसँग जोडिएको हुनुपर्छ, र मलाई त्यो मन पर्छ” उनी भन्छिन्। “म यस क्षेत्रलाई सङ्गठित गर्न चाहन्छु, साथै यसको एक हिस्सा बन्न चाहन्छु।”